उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको शाखाका रुपमा कटारी उद्योग वाणिज्य संघ गठन भएको छ । शनिबार सम्पन्न कटारी उद्योग वाणिज्य संघमा समाजसेवी तथा व्यवसायी पवनकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दिलिप चौधरी चयन भएका छन् भने उपाध्यक्षहरुमा उद्योगतर्फ अशोक श्रेष्ठ, वाणिज्यतर्फ रविन्द्र प्रसाद जयसवाल र एसोसिएटतर्फ सूर्य लामा चयन भएका छन् । महासचिवमा बिमल मगर चयन भएका छन् भने सचिवमा देवान थापा र कोषाध्यक्षमा सञ्जिवकुमार कर्ण कायस्थ चयन भएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणि कार्कीले बताए ।
कटारी शाखाको सदस्यहरुमा हिरा कुमारी भट्टराई, विकल बराल, श्रवण सुनार, सुरज मगर, सुवास दनुवार, लाल बहादुर नार्टेन (रविन), राम भरोस दास, प्रकाश पोखरेल र राजकुमार कार्की चयन भएका छन् ।
पछिल्लो समय जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले शाखा विस्तारलाई तीव्रता दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत भइसकेका उदयपुरका चर्चित व्यवसायी गजेन्द्रकुमार भगतका अनुसार जिल्लाको ६ वटा पालिकामा शाखा विस्तार भएको छ । संघले यसअघि ताप्ली, लिम्चुङबुङ, रौतामाई, उदयपुरगढी गाउँपालिका र त्रियुगामा आफ्ना शाखा सञ्जाल विस्तार गरिसकेको छ भने चौदण्डीगढी र बेलका उद्योगम बाणिज्य संघमा संयोजक चयन भएपनि कमिटी विस्तार गर्न बाँकी रहेको छ ।
जिल्ला उद्योग वाणिज्य संघले आगामी माघ २६ गतेदेखि फागुन ६ गतेसम्म उदयपुर एक्स्पो २०८० गर्न लागेको छ । ‘कृषि, वन, पर्यथन, कला संस्कृति, उद्योग र व्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार’’ नारा सहित उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) गर्न लागिएको हो ।
‘उदयपुरको व्यापार व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएको छ । यो एक्स्पोले आर्थिक कारोबार, व्यापार व्यवसायलाई माथि उठाउँछ भन्ने अपेक्षा लिएका छौं,’ अध्यक्ष कार्कीले कार्यसमितिलाई बधाई दिने क्रममा बताउनु भयो । उदयपुरका आठै पालिकामा रहेको उत्कृष्ट पर्यटकिय क्षेत्रलाई पहिचान गरि, व्यपार व्यवसाय प्रबद्र्धन गर्न र आर्थिक मन्दीलाई चलायमान बनाउन महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।
देशी वस्तुको आयात घटाउने र नेपाली बस्तुको निर्यात बढाउने उद्देश्यले मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियनको व्यवस्थापन गरि नेपालको उत्पादन र उदयपुरको उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । उदयपुरलाई पर्यटन, कृषि उद्यमलाई व्यापारको कोशेढुङ्गा र शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष कार्कीले जनाएको छ ।