उदयपुर । नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटले त्रियुगा नगरपालिका अन्तर्गतका सडक बत्तिको लाईन काट्न सुरु गरेको छ । त्रियुगा नगरपालिकाले समयमै विद्युत महशुलको बक्यौता नबुझाउँदा नेपाल विद्युत प्राधिकरणले उदयपुरको सदरमुकाम गाईघाट बजारको लाईन काट्न सुरु गरेको हो । प्राधिकरणका सहायक प्रशासकीय अधिकृत पुष्पक पौडेलले झण्डै डेढ बर्षको महसुल नगरपालिकाले नबुझाएको बताए ।
नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले गत असोज २१ गत सूचना नै जारी गरेर ४५ दिन भित्र विद्युत महशुल बुझाउन ताकेता गरेको थियो । विद्युत महशुल बुझाउन ताकेता गरेपनि त्रियुगा नगरपालिकाले बाँकी बक्यौता नबुझाएपछि शुक्रबारबाट बजार लगायत आसपासको सडक बत्तीको लाइन काट्न शुरु गरेको छ । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म जरिवाना तथा थप दस्तुर बाहेक १ करोड ८७ लाख ९७ हजार १६ रुपैया महशुल बुझाउन बाँकी रहेको छ ।

अहिले बाँकी बक्यौता र जरिवाना गरि अनुमानित ३ करोड पुगेको विद्युत प्राधिकरण शाखाले जनाएको छ ।  त्रियुगा नगरपालिकाको १६ ओटै वडाहरुमा सडक बत्ति जडान गरिएको छ । जसमा १३९ ओटा सडक बत्तिको मिटर बक्स राखिएको प्राधिकरणको भनाई छ । नगरपालिकालाई सचेत गराउँदै शुक्रबार देखी प्राधिकरणले प्रारम्भिक लाईन काट्न सुरु गरेको हो ।

बक्यौता नतिरे सम्म यो अभियान जारी राख्ने प्राधिकरणको भनाई छ । नगरपालिकाले बत्तिको पैसा स्वरुप स्थानीयहरुसँग भने असुली रहेको छ । तर नगरपालिकाले भने सो रकम प्राधिकरणलाई बुझाएको छैन् । सडक बत्ति बापतको पैसा सेवाग्राहीसँग लिएपनि सडक बत्ति काँटिने अवस्था आएको भन्दै महसुल बुझाउने सेवाग्राही भने आक्रोसित बनेको छ ।

पहिलो दिन प्राधिकरणले बजार एरियाको सडक बत्तिको लाईन काटेको हो । गाईघाट बजारको मुख्य सडकहरु बिपि चोक, पिजि चोक, बैँक लाईन्, बिद्युत लाईन, पेट्रोल पम्प र पुरानो बसपार्क लाईनको सडक बत्ति आजबाट नबल्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया