उदयपुर – उदयपुरमा अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गरेको छ । अवैध रुपमा संचालनमा आएका क्रसरहरु आईतवारबाट लागू हुने गरी बन्द गर्न सूचना जारी गरेको छ ।
प्रचलित कानून बमोजिम दर्ता तथा नविकरण नगरी संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा क्रसिङ, उत्खनन, प्रशोधन कार्यमा संलग्न उद्योगहरुलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलद्वारा हस्तारित पत्रमा उल्लेख छ ।

यस अघि मदन भण्डारी राजमार्ग लगायत विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमती प्राप्त उद्योगहरु पनि बन्द गर्न निर्देशन दिइएको छ । विभिन्न आयोजना विकास तथा निर्माणको नाममा अनुमति लिएका तर सो कार्य सम्पन्न भएपछि पनि आयोजना समाप्त भए पश्चात पनि त्यस्तो कार्य गरिरहेको भए सोमबारबाट लागू हुने गरी बन्द गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यो सूचना विपरित ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा दोहन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनका अनुसार प्रचलित कानून बमोजिम वैध रुपमा संचालन भइरहेको क्रसर उद्योग भए वैधता पुष्टी हुने कागज प्रमाण सहित पुस २७ गते भित्र प्रमाण पेश गर्न अनुरोध गरेको छ ।
यसअघि पनि जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको अनुगमन गरेर अवैध ठहर गरिए पनि हालसम्म सञ्चालनमा नै रहेको छ । क्रसर व्यवसायीले अनियन्त्रित रूपमा नदी खोलामा उत्खनन गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रेपछि तत्कालिन समयमा उदयपुरमा क्रसर उद्योग अनुगमन समिति गठन गरेर अनुगमन गराएका थिए । अनुगमन समितिले प्रतिवेदन बुझाउँदा पनि उदयपुरमा कुनै कारबाही भएको थिएन ।

जिल्लाका आधा दर्जनबढी क्रसर उद्योगमध्ये अधिकांशले क्रसर उद्योग सञ्चालन मापदण्डले तोकेको मापदण्डअनुसार नभएको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले यसअघि गरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

क्रसर सञ्चालन मापदण्डमा राष्ट्रिय वन क्षेत्रबाट दुई किलोमिटर र चुरे क्षेत्रभन्दा एक किलोमिटर टाढा मात्र क्रसर उद्योग राख्न पाइने व्यवस्था छ । तर, यहाँका अधिकांश उद्योग चुरे र वन क्षेत्रमै सञ्चालन हुँदै आएको छ ।

सरकारले चुरे संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाममा बर्सेनि करोडौं रकम खर्चिरहँदा पनि यहाँ चुरे बिनासै हुने गरि क्रसर उद्योग सञ्चालन भइरहेको छ । ध्वनि प्रदुषण र धुलो नियन्त्रण मापदण्डसमेत पूरा नगरी गाउँ बस्तीनजिकै उद्योग सञ्चालनमा छ ।

खोला क्षेत्रभन्दा ५ सय मिटर टाढा क्रसर राख्नु पर्ने व्यवस्था भए पनि ९० प्रतिशत उद्योग खोलाभित्रै रहेको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको यस अघिको अनुगमन प्रतिवेदनको रिर्पोटमा उल्लेख छ । खोलामा एक्स्काभेटर प्रयोग गरेर उत्खनन गर्न प्रतिबन्ध लगाइएको भनिए पनि उद्योगीले दर्जनौं एक्स्काभेटरले नदीखोलामा उत्खनन गर्दै आएको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया