उदयपुर । त्रियुगा नगरपालिकाको शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । नगरपालिकाको नवौं नगर सभाले १ अरब २३ करोड ५३ लाख ३० हजार ४४० रुपैया बराबरको अनुमानित बजेट उपमेयर महेश्वरी राईले प्रस्तुत गरेकी थिईन् ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थि वर्ष २०७९/८० को बजेट ५ करोड ५६ खाल ३५ हजार ९९० रुपैयाले बढी बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको लागि संघिय सरकारबाट वित्तीय समानीकरण अनुदानमा २३ करोड ४८ लाख र सशर्त अनुदान तर्फ ५७ करोड २४ लाख, विशेष अनुदान ३ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड ८४ लाख रकम विनियोजन भएर पारित भएको छ ।
यस्तै प्रदेश तर्फ वित्तिय समानीकरण अनुदान १ करोड ३२ लाख ५९ हजार, सशर्त अनुदान १ करोड २ लाख ७ हजार, समपुरक अनुदान १ करोड रकम विनियोजन भएको छ ।

नगरपालिकाको आन्तरिक तर्फ १२ करोड ८५ लाख, राजश्व बाँडफाड १९ करोड ५५ लाख ८५ हजार, प्रदेश सवारी साधन कर १ करोड ७२ लाख ७९ हजार र चालु आर्थिक वर्षको बचत अनुमान ५ करोडको बजेट विनियोजन गरेको छ ।

विषयगत क्षेत्रमा बजेट बाँडफाँड आर्थिक विकास तर्फ १ करोड २५ लाख विनियोजन भएको छ । जुन बजेट चालुको तुलनामा आधा कम बजेट हो ।

सामाजिक विकास तर्फ २ करोड ५५ लाख, पूर्वाधार विकास तर्फ ४ करोड, वन, वातावरण, विपद र फोहरमैला तर्फ ७ लाख र संस्थागत क्षमता विकास (सुशासन) तर्फ ११ लाख २३ हजार ४४० रुपैया बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको लागि केन्द्र र प्रदेशको बजेट बढेर आएको छ भने आन्तरिक आय वृद्धिको लागि सम्पत्ति करमा वृद्धि गरेको छ ।

त्रियुगा नगरपालिकाभित्र घरजग्गा कर सत प्रतिशतसम्म वृद्धि

त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कर, शुल्क, दस्तुर तथा जरिवाना सम्बन्धी नयाँ व्यवस्थासहित आर्थिक विधेयक २०७९ सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार त्रियुगा नगरपालिकाभित्र १ लाख रुपैयाँ सम्मको सम्पत्तिको मूल्याङ्कन भएको घर जग्गामा १०० प्रतिशत सम्पत्ति कर वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७, २०७७/७८, २०७८/७९ मा नबढको घरजग्गाको करको दर आगामी आर्थिक वर्ष २०७९/८० मा सत प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म तिर्दै आएकोमा सम्पति करयोग्य मूल्य १ लाखसम्ममा ५० रुपैयाबाट बढेर आगामी आर्थिक वर्षबाट १०० रुपैया कर निर्धारण गरिएको छ ।

२ लाख ५० हजार रुपैयाँसम्मको घरजग्गामा तिर्दै आएको ७५ रुपैयाबाट एकै पटक १२० अर्थात ६० प्रतिशत कर वृद्धि भएको छ ।
५ लाख रुपैयाँ सम्मको सम्पत्ति करमा १३५ रुपैयाबाट १५० रुपैया अर्थात ११.११ प्रतिशत वृद्धि भएको छ । १० लाख रुपैयाँसम्म ९ प्रतिशत बढी, १५ लाखसम्ममा १० प्रतिशत, २० लाखसम्मलाई ५.८८ प्रतिशत कर वृद्धि भएको छ ।

त्यसपछिका कर योग्य सम्पतिमा १० प्रतिशतले कर वृद्धि भएको छ । १ करोडसम्मको घर जग्गा भएकोले सम्पति कर बापत १० हजार तिर्नु पर्ने थियो भने अहिले ११ हजार तिर्नु पर्छ । ५ करोडसम्मको सम्पत्ति हुनेले अव ६ हजार बढी सम्पति कर तिर्नु पर्ने हुन्छ ।

सम्पत्तिकर प्रयोजनको लागि संरचनाको दर रेटमा भने कुनै परिवर्तन ल्याएको छैन् । वृद्धि कर श्रावण १ गतेबाट लागू हुनेछ । थोरै जग्गा जमिन घर हुनेहरुमा करको दायरामा सत प्रतिशत वृद्धि भएको छ भने बढी सम्पति र जग्गा जमिन हुनेको करमा १० प्रतिशतसम्म मात्रै वृद्धि भएको छ । करको दरको वृद्धिले के देखायो भने कम सम्पत्ति भएकोले बढी कर तिर्नु पर्ने र बढी सम्पति भएकोले कम सम्पत्ति कर तिर्नु पर्ने असमान कर प्रणाली देखाएको छ ।

यस्तै वित्तिय सेवामा पनि करको दर वृद्धि गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बाहेक आर्थिक कारोबार गर्ने वाणिज्य बैंकहरुमा आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म तिर्दै आएको करको दरमा ६० प्रतिशत वृद्धि गरेको छ । पहिले २५ हजार तिर्दै आएकोमा आगामी आर्थिक वर्षबाट ४० हजार कर तिर्नु पर्ने हुन्छ ।

मनिट्रान्सफर तथा विमा कम्पनीमा ३ हजार कर वृद्धि भएको छ भने वित्तिय कम्पनीका शाखा तथा विकास बैंकहरुमा २ हजार कर वृद्धि भएको छ ।

यस्तै विज्ञापन करमा पनि कर वृद्धि भएपनि केहि करको दायरा हेरफेर गरिएको छ ।

यस अघि त्रियुगा नगरपालिकाको सातौं नगर सभाले असोजमसान्त सम्म व्यवसायी कर तिर्नेलाई २५ प्रतिशत छुट दिईएको थियो भने व्यवसायीले नगरपालिकामा बुझाउनु पर्ने घर बहाल करमा पनि असोजमसान्त सम्म बुझाए ३ महिनाको छुट दिइएको थियो । आगामी वर्ष व्यवसायीहरुको लागि कुनै त्यस्तो सुविधा दिइएको छैन् ।

तपाईको प्रतिक्रिया