कटारी । उदयपुरको कटारी नगरपालिका अब व्यापारीक क्षेत्रमात्र हैन आन्तरीक र बाह्य पर्यटक भित्र्याउने थलोको रुपमा विकसित भएको छ । कटारीको पहिचान झल्काउने सिमसार क्षेत्र औपचारिक रुपमा उद्घाटनमा आएसँगै आन्तरीक र बाह्य पर्यटक भित्र्याउने आधार तय भएको हो ।
कटारी नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रको आइतबार औपचारिक उद्घाटन गरिएको छ । कटारी नगरपालिका ५ का वडाबासीको अतुलनिय सहयोग र मेहनतले योजना सफल भएको भन्दै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले कटारीको यो गहनालाई प्रदेशकै चिनारीको रुपमा विकास गराउने बताउनु भयो ।

नगर प्रमुख श्रेष्ठले जनताको काम गर्न सकेमात्र जनप्रतिनिधीको औचत्य हुने भन्दै विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नगर उप प्रमुख भिम कुमारी राउतले जनताको इच्छाशक्तिले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सफल भएको भन्दै अझै विकसित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०७५ मा सहयोगी हातहरूको समूह साहस नेपाल कटारीबाट सिमसारको संरक्षण तथा पर्यपर्यटन क्षेत्र बनाउनका लागि शुरु गरिएको काम अहिले पूर्णता पाएको छ । साहस नेपालले सिमसार संरक्षण्को लागि पुरान लगाएर रकम जोहो गर्दै संरक्षणको काम शुरु गरेका थिए ।

गत आर्थिक वर्षमा प्रदेशबाट २५ लाख र कटारी नगरपालिकाबाट २५ लाख विनियोजन गरिए सँगै उक्त रकम मन्दिर निर्माण साथै घेराबेरा, चिल्ड्रेनपार्क, पिकनिक स्पट, टिकट काउण्टर र पार्किङ्ग निमार्णको काम भएको थियो ।

करिब २.१ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सिमसार क्षेत्रमा २० फिट गहिराई पानी रहेको छ । वरिपरी मनमोहक दृश्य हेर्न र वोटिङ्ग गर्नको लागि दैनिकी १ सय ५० भन्दा बढी पर्यटकहरु आउने गरेका छन । डुंगामा चढेर एक पटक घुम्नको लागि करिब ४० मिनेट लाग्छ । डुंगा चढ्न प्रतिब्यक्ति रु ५० लाग्छ भने बिद्यार्थीहरुलाई छुटको ब्यवस्था गरिएको छ ।

कटारी बजारबाट ३ किलोमिटर दुरीमा रहेको उक्त ठाउँमा पुग्नको लागि मोटरसाईकल र अटोसाईकलमा २० मिनेट लाग्छ भने पैदल हिडेर ४५ मिनेटमा पुग्न सकिन्छ । २०७५ साल देखि पर्यटकीय स्थलको रुपमा बिकास भएको यस सिमसार क्षेत्र सिसाघारी सामुदायिक वन को भूमि थियो २०७६ सालमा सिसाघारी सामुदायिक वन कार्यालयबाट स्वीकृत लिएर सिसाघारी सिमसार संरक्षण तथा पर्या पर्यटन बिकास क्षेत्र नामाकरण गरी ७ जनाको निर्माण समिति गठन गरिएको थियो । सोही समिति मार्फत यस क्षेत्रको हेरचाह र सम्पूर्ण ब्यबस्थापनका कार्यहरु हुदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया