उदयपुर, जिल्ला प्रशासन कार्यालय उदयपुरले उदयपुरगढी गाउँपालिकाको ६ र ७ स्थित माध्यामिक बिद्यालय हाडेबासमा शुक्रवार देखि एकिकृत घुम्ति शिवीर सञ्चालन गरेको छ । एकिकृत घुम्ति शिविरको प्रदेश १ का सांसद नारायणबहादुर बुर्जा मगरले ७१ वर्षिय गोकुलबहादुर मगरलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले ७० वर्षिय शान्तिमाया खुलाल मगरलाई र उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतले ६६ वर्षिय सनमाया बिश्वकर्मालाई संयुक्त रुपमा नागरिकता बितरण गरेर उद्घाटन गरेको थियो ।
एकिकृत घुम्ति शिविरको उद्घाटन गर्दै सासद बुर्जा मगरले नेपाली नागरिकले नागरिकता पाउनबाट बञ्चित हुन नपरोस भनि शिविरको आयोजना गरिएको बताए । उनले भने बिभिन्न कारणले गर्दा जिल्ला प्रशासन कार्यालय सम्म पुगेर नागरिकता लिन नसक्नेहरुका लागि यस्ता शिविर फलदायी हुने छ । शिविरमा अपाङ, बृद्ध, बृद्धा महिलाहरुलाई नागरिकता लिन सहज हुने विश्वास लिए । यस्ता घुम्ति शिविर दुर्गभ भेगमा सबै स्थानमा सञ्चालन गर्न सके जनताले घरदैलोमा नै सेवा पाउने थियो ।
घरदैलोमा नै आएको एकिकृत घुम्ति शिविरबाट धेरै भन्दा धेरै फाइदा लिन सबैजनालाई सासद बुर्जा मगरको आग्रह रहेको थियो ।

त्यसैगरी जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले एकिकृत घुम्ति शिविरले जेष्ठ नागरिक तथा महिलाहरुलाई नागरिक लिन सहज भएको जनाउँदै शिविरले नागरिक बन्ने र बनाउने काममा महत्वपूर्ण भूमिका खेल्ने बताए । उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ६ र ७ सदरमुकाम गाईघाट सँग सिमाना जोडिएको भएता पनि भौगोलिक कारणले गर्दा दुगर्म क्षेत्र हुन पुगेको छ । सदरमुकामसँगको दुरी नजिकै रहेता पनि यहाँका मानिस हरेक हिसाबले पिछडीएको छ ।
घुम्ति शिविरले बर्षैदेखि नागरिकता पाउन नसक्नेहरुले समेत नागरिकता पाउन सहज हुने र त्यसले राज्यको सेवा सुबिधामा प्राप्त गर्न सहज हुने प्रमुख परियारको भनाई रहेको थियो । जनताले प्राप्त गर्ने पहिलो सेवा नै नागरिकता हो । नागरिकता बितरणको एकिकृत घुम्ति शिविर भने जिल्लाको दुर्गम भेगमा रहेको सबै स्थानीय तहमा लैजान सके जनताले घरदैलोमा नै सिहदरबार आएको महसुस गर्ने थियो । दुर्गम भेगमा रहेर नागरिकता बनाउन नपाएका र नसकेहरुले राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताबाट बञ्चित रहन पुगेको छ । यसरी एकिकृत घुम्ति शिविरको माध्यमद्धारा गाउँगाउँमा नागरिकता प्रदान गर्न सके राज्यले दिने सेवा सुबिधामा सबैको पहुच हुने थियो ।
नागरिकता पाएपछि ७१ वर्षिय बृद्ध गोकुलबहादुर मगरले खुसि ब्यक्त गर्दै आफुले अहिले सम्म भोट नलगाएकाले भोट लगाउने रहर रहेको बताए । उनले भने पहिला नागरिकताको कुनै अर्थ थिएन, २७ वर्ष अघि श्रीमतिको मृत्युपछि किन नागरिकता बनाउनु र भन्ने भयो, तर अहिले नागरिकता बिना निर्वाचनमा आफनो मान्छेलाई भोट लगाउन नपाईने रहेछ, त्यसैले पनि मैले नागरिकता लिएको हु ।
दुई दिने एकिकृत घुम्ति शिविरको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकिय अधिकृत कुमारबहादुर खड्काको नेतृत्वमा टोली खटिएको छ । शिविरको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन नासु गुणराज श्रेष्ठले गरेको थियो ।












