उदयपुर । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका ११ भारतीय र एक नेपालीमा कोरोना संक्रमित देखिएपछि करिव ६ सय जनाको परीक्षण गरिँदै छ । अघिल्लो साँझदेखि सिल गरिएको मस्जिद क्षेत्रसहित भुल्केका सबैको स्वास्थ्य परीक्षण गरिने भएको छ ।विराटनगरबाट थप स्वास्थ्यकर्मी झिकाएर भुल्केबासी ६ सय जनाको परीक्षण गर्न लागिएको जिल्ला स्वास्थ्य अधिकृत मोहन सुबेदीले बताए । गाईघाटका २ जना मात्र ल्याव टेक्निसिएनले नभ्याउने हुनाले थप ३ जना विराटनगरबाट आउँदै गरेको उनले बताए ।
शनिबारभित्रै भुल्केमा परीक्षण सकेर संक्रमितहरु घुमफिर गरेको ठाउँका मस्जिद र गाउँ बस्ती पनि परीक्षण गरिने छ । ‘भुल्केमा शनिबार रातिसम्म गरेर भए पनि सबैको जाँच गरिसक्ने योजना छ’ सुबेदीले भने ‘त्यसपछि गाईघाट, मोथियाही, शिवाई, जोगिदह, हडिया, देउरी, जलजले लगायत जुनजुन मस्जिद र बस्ती घुमफिर गरेका छन् ती ठाउँहरु पत्ता लगाएर सबैतिर परीक्षण गरिनेछ ।’
सदरमुकाममै संक्रमण देखा परेका कारण जिल्लामा जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सूचना जारी गर्दै लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ । प्रशासनले एकैचोटी १२ जनामा संक्रमण देखिनुले सतर्कता अपनाउनु एक मात्र विकल्प भएको भन्दै मस्जिद परिसर र वरपरको बस्तीमा रहेका वासिन्दा तथा मस्जिद् मस्जिदमा आश्रय लिएका व्यक्तिहरुसँग निकट सम्पर्कमा रहेका अन्य व्यक्तिहरुमा समेत संक्रमणको जोखिम रहन सक्ने कुरालाई ध्यानमा राखी मस्जिद वरपरको बस्तीमा आवत जावत बन्द गरी लकडाउनलाई थप प्रभावकारी बनाउन अनुरोध गरेको छ । मस्जिद वरपरको बासिन्दा तथा संक्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरु स्वयं सजग भई नजिकैको स्वास्थ्य परीक्षण गर्ने निकायमा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ ।
शुक्रबार कोरोना पुष्टि भएका संक्रमितसप्तरी हुँदै उदयपुर पुगेको खुलेको छ । उनीहरू सप्तकोसी नगरपालिकाका विभिन्न मस्जिद चहार्दै उदयपुरको सिवाई, मोथियाही हुँदै भुल्केस्थित मस्जिद पुगेका हुन् ।
१२ जनै संक्रमित सप्तकोसीमा तीन दिन बसेको नगरप्रमुख उत्तम गौतमले बताए । उनका अनुसार फागुन अन्तिम साता उनीहरू वडा नं १ फतेपुर बजारस्थित मुस्लिम टोलको मस्जिदमा बसेका थिए । त्यही बसाईमा बलारदह र सिद्धिपुरका मस्जिदमा पनि पुगेका थिए । तर, सप्तकोसी नगरपालिकामा कहाँबाट आए, खुल्न नसकेको गौतमले बताए ।
अब उनीहरू पुगेका मस्जिद क्षेत्रका बस्ती सिल गर्ने तयारी हुँदै छ । ‘ती बस्ती सिल गर्दे छौ’ नगरप्रमुख गौतमले भने, ‘संक्रमण फैलाएर गएको हुन सक्ने आशंकाका कारण सावधानी अपनाएका छौं ।’
उक्त क्षेत्रमा शनिबारबाटै आरडीटी परीक्षणलाई तीव्रता दिइने प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए । उनका अनुसार उदयपुरसँग सीमा जोडिएका जिल्लाका नाकाहरूमा थप कडाइ गरिएको छ ।

सम्बन्धित सामाचारहरु

उदयपुरको सिवाईमा पनि ६ भारतीय मुस्लिम, संक्रमतिसँग हिमचिम

कोरोना संक्रमित गाउँ नै उच्च सुरक्षा घेरा भित्र, मोथियाहीमा गाउँले नै गरे सिल

मस्जिद्का १६ जनालाई कोरोना अस्पताल विराटनगर लगियो, सिवाईको मस्जिद् पनि पुगेका थिए

उदयपुरको भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण भएको पुष्टी

उदयपुरका मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमणको आशंका, टेकुमा थप परीक्षण हुँदै

उदयपुरको मस्जिदमा अनुगमन, १२ भारतीय फेला

 

 

 

तपाईको प्रतिक्रिया