उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईको मुस्लिम बस्तीमा पनि ६ भारतीय मुस्लिम बस्दै आएका छन् । उनीहरु स्थानीय मस्तकिम मियाँकोमा पाहुना आएको बुझिएको छ । उनीहरू भारतको कुनौली आसपासका रहेको स्थानीयले बताए ।
त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ जना कोराना संक्रमित यसअघि सिवाईस्थित मस्जिदमा समेत बसेर आएको पाइएको छ । उनीहरू सिवाईमा ५ दिन बसेका हुन् । संक्रमितहरूसँग उनीहरूको पनि हेलमेल रहेको भन्दै स्थानीयले संक्रमणको जोखिम बढेको औंल्याएका छन् ।
भुल्केमा बस्दै आएका ११ भारतीयसहित १२ जनामा कोरोना पुष्टि भएको थियो । पोजिटिभ देखिएका १२ सहित १६ जना लकडाउन हुनु अगावै सिवाईमा बसेर भुल्के गएको वडाध्यक्ष देवनारायण चौधरीले बताए । उनका अनुसार पाहुना आएका ६ जनासँग उनीहरूको सम्पर्क भएको छैन । तर, मस्जिदमा रहेका एक मौलाना र अर्का एक सहयोगीसँग भने उनीहरूको हेलमेल भएको थियो ।
नगरपालिकाले पाहुना लागेका भारतीयलाई पनि राहत दिएको चौधरीले बताए । राहतपछि उनीहरूलाई घरमै क्वारेन्टाइनमा राखिएको उनको दाबी छ ।
सिवाईस्थित मस्जिद गाउँको बीचमा छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरसँगै पश्चिमतर्फ जोडिएको मस्जिदमा मुस्लिमसहित अन्य समुदायको बस्ती छ । त्यसैले त्यो क्षेत्र पनि कोरोना संक्रमणको जोखिममा रहेको स्थानीयले बताए । गाउँमा बाहिरबाट मानिसहरू आउँदा पनि प्रहरी र स्थानीय प्रशासनले बेवास्ता गरेको उनीहरूको आरोप छ ।









