उदयपुर, उदयपुरगढी गाउँपालिकाको ७ स्थित माध्यामिक बिद्यालय हाडेबासमा शुक्रवार देखि संचालित एकिकृत घुम्ति शिवीरमा ७२७ जनाले सेवा पाएका छन । जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा सम्पन्न शिबिरमा ३६७ जनाले नागरिकताको प्रमाणपत्र र ३६० जनाले फोटो सहितको निर्वाचन नामावलीमा नाम दर्ता गराएका हुन ।
दुई दिने एकिकृत घुम्ति शिविरको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकिय अधिकृत कुमारबहादुर खड्काको नेतृत्वमा टोली खटिएको थियो । शिविरबाट वडा नम्बर ४ का १ जना ५ का ५ जना ६ का ५९ जना र ७ नम्बर वडाका ३०२ जनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सुनिल पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार २३६ जना महिला र १३१ जना पुरुषले नागरिकता बनाएका छन ।
एउटै वडामा ३ सय भन्दा बढीले नागरिकता नबनाइएको पाईएको छ । चुरे क्षेत्रमा पर्ने उदयपुरगढ गाउँपालिकाको उक्त वडामा यती धेरै व्यक्तीहरु नागरिकता बनाउन बाँकी रहेको देखेर आफु छक्क परेको शिविरको नेतृत्व गरेर गएका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार बहादुर खड्काले बताए । उनले भने हामीले अपेक्षा गरे भन्दा बढीनै नागरिकता लिन बाँकी रहेका रहेछन । अशक्त अपाङ्ग गरीव निमुखा महिलाहरु जाे उनीहरुलाई नागरिकताको काम नै नपरेर नागरिकता नलिएका व्यक्तीहरुलाईलाई नागरिकता प्रदान गरिएको छ । प्रदेश सांसद नारायण बहादुर मगर र जिल्ला समन्वय समितिका संयोजक खड्ग परियारको गाँउ भएर पनि नागरिकता लिन धेरै व्यक्ती बाँकी रहनुले उहाहरुको नेतृत्व क्षमतामा प्रश्न उठ्न सक्ने शिविरमा गएका एक पत्रकारले प्रतिक्रिया दिए ।
नागरिकता पाएपछि ७१ वर्षिय बृद्ध गोकुलबहादुर मगरले खुसि ब्यक्त गर्दै आफुले अहिले सम्म भोट नलगाएकाले भोट लगाउने रहर रहेको बताए । उनले भने पहिला नागरिकताको कुनै अर्थ थिएन, २७ वर्ष अघि श्रीमतिको मृत्युपछि किन नागरिकता बनाउनु र भन्ने भयो, तर अहिले नागरिकता बिना निर्वाचनमा आफनो मान्छेलाई भोट लगाउन नपाईने रहेछ, त्यसैले पनि मैले नागरिकता लिएको हु ।
एकिकृत घुम्ति शिविरको प्रदेश १ का सांसद नारायणबहादुर बुर्जा मगरले ७१ वर्षिय गोकुलबहादुर मगरलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले ७० वर्षिय शान्तिमाया खुलाल मगरलाई र उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतले ६६ वर्षिय सनमाया बिश्वकर्मालाई संयुक्त रुपमा नागरिकता बितरण गरेर उद्घाटन गरेको थियो ।
एकिकृत घुम्ति शिविरको उद्घाटन गर्दै सासद बुर्जा मगरले नेपाली नागरिकले नागरिकता पाउनबाट बञ्चित हुन नपरोस भनि शिविरको आयोजना गरिएको बताए । उनले भने बिभिन्न कारणले गर्दा जिल्ला प्रशासन कार्यालय सम्म पुगेर नागरिकता लिन नसक्नेहरुका लागि यस्ता शिविर फलदायी हुने छ । शिविरमा अपाङ, बृद्ध, बृद्धा महिलाहरुलाई नागरिकता लिन सहज हुने विश्वास लिए । यस्ता घुम्ति शिविर दुर्गभ भेगमा सबै स्थानमा सञ्चालन गर्न सके जनताले घरदैलोमा नै सेवा पाउने थियो ।
घरदैलोमा नै आएको एकिकृत घुम्ति शिविरबाट धेरै भन्दा धेरै फाइदा लिन सबैजनालाई सासद बुर्जा मगरको आग्रह रहेको थियो ।
त्यसैगरी जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले एकिकृत घुम्ति शिविरले जेष्ठ नागरिक तथा महिलाहरुलाई नागरिक लिन सहज भएको जनाउँदै शिविरले नागरिक बन्ने र बनाउने काममा महत्वपूर्ण भूमिका खेल्ने बताए । उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ६ र ७ सदरमुकाम गाईघाट सँग सिमाना जोडिएको भएता पनि भौगोलिक कारणले गर्दा दुगर्म क्षेत्र हुन पुगेको छ । सदरमुकामसँगको दुरी नजिकै रहेता पनि यहाँका मानिस हरेक हिसाबले पिछडीएको छ ।
घुम्ति शिविरले बर्षैदेखि नागरिकता पाउन नसक्नेहरुले समेत नागरिकता पाउन सहज हुने र त्यसले राज्यको सेवा सुबिधामा प्राप्त गर्न सहज हुने प्रमुख परियारको भनाई रहेको थियो । जनताले प्राप्त गर्ने पहिलो सेवा नै नागरिकता हो । नागरिकता बितरणको एकिकृत घुम्ति शिविर भने जिल्लाको दुर्गम भेगमा रहेको सबै स्थानीय तहमा लैजान सके जनताले घरदैलोमा नै सिहदरबार आएको महसुस गर्ने थियो । दुर्गम भेगमा रहेर नागरिकता बनाउन नपाएका र नसकेहरुले राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताबाट बञ्चित रहन पुगेको छ । यसरी एकिकृत घुम्ति शिविरको माध्यमद्धारा गाउँगाउँमा नागरिकता प्रदान गर्न सके राज्यले दिने सेवा सुबिधामा सबैको पहुच हुने थियो ।
यो लिंक पनि पढ्नु होस्
उदयपुरगढीको हाडेबासमा दुई दिने एकिकृत घुम्ति शिविर संचालन (फोटो फिचर)