उदयपुर / उदयपुर र खोटाङबीच भएर बग्ने सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका आईतबार डुबेर बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका एक बालिका र २ बालक पौडी खेल्ने क्रममा दिउँसो २ः३० बजेदेखि बेपत्ता भएका हुन् ।
वडाध्यक्ष हिमराज मगरका अनुसार होली खेल्दै गएका उनीहरु धाब्लाङस्थित सुनकोशी नदी किनार पुगेर पौडी खेल्दै थिए । खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरु अहिलेसम्म फेला परेका छैनन् ।

वडाध्यक्ष मगरका अनुसार बेपत्ता हुनेमा रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर, केदार मगरका ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर हुन् ।

स्थानीयले उनीहरु डुबेको प्रत्यक्ष देखेर खवर गरेपछि प्रहरी बोलाएर खोजी कार्य भईरहेको छ । तर, बालबालिकाहरु तलतलसम्म खोज्दा पनि फेला नपरेको वडाध्यक्ष मगरले बताए ।जिल्ला प्रहरी कार्यालय उदयपुरले बालबालिका नदीमा डुबेर बेपत्ता भएको पुष्टि गरेको छ । उनीहरु तीनैजना बालबालिका त्रियुगा १४ साउने बजारका भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।

पौडी खेल्ने क्रममा डुबेर बालबालिका बेपत्ता भएको खवर प्रहरीलाई दिउँसो ३ः३० बजे प्राप्त भएको र खवर आएलगत्तै प्रहरी चौकी साउने र जिल्ला प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली घट्नास्थल खटाएर खोजी कार्य जारी रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया