उदयपुर । महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप लागेका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वेल्टारले शनिवार राउतलाई पक्राउ गरेको हो ।

सर्वोदय सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र पर्ने छिडी खोलामा अवैद्य रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठ सहित चार जनालाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिईएको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले जानकारी दिए । वडाध्यक्ष राउतले शुक्रवार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैद्य रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न श्रेष्ठ त्यहाँ पुगेकी थिईन । सोही क्रममा विवाद हुँदा राउतले महिला माथि हातपात र दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

वडाध्यक्ष राउतको विरुद्ध सामुदायिक वनका सचिव समेत रहेकी श्रेष्ठ सहित पाँछु चौधरी, सुनिल कार्की र नीर बहादुर कार्की सहितको इलाका प्रहरी कार्यालय बेल्टारमा दिइएको जाहेरीको आधारमा पक्राउ परेको हो ।

असार १ गतेदेखि असोज मसान्तसम्म खोला नालाबाट नदिजन्य पदार्थ उत्खनन गर्न कानुनले रोकेको, त्यसमाथि सामुदायीक वन क्षेत्रभित्र पर्ने खोलाबाट गिट्टी निकाल्न मिल्दैन भन्दा आफुमाथि हातपात र गालीगलौज गरेको श्रेष्ठको आरोप छ ।

वडाध्यक्ष रातउले भने आफुले कसैलाई हातपात र दुर्व्यवहार नगरेको बताएका छन् । वडामा सडक निर्माणको काम चलिरहेको र गिट्टी अभाव हुन नदिन खोलामा पस्नु परेको भन्दै उनले सफाई पेश गरे । वर्षाका कारण हिलाम्मे भएका गाउँका बाटो पुर्न पनि गिट्टी झिक्नु परेको उनको भनाई छ ।

राउतले गत ०७९ माघमा पनि स्थानीय राकेश कुमार हुजदारलाई ढुङ्गागिटीकै विषयमा कुटपिट गरी हात भाँचिदिएका थिए । वडा नं. ९ को पश्चिम ज्यामिरे स्थित भिम सामुदायिक वन क्षेत्रमा पर्ने ज्यामिरे द्वारखोला वन क्षेत्रबाट वडाध्यक्ष राउतले आफ्नो एस्काभेटर प्रयोग गरि गिट्टी बालुवा निकाल्ने क्रममा विवाद भएको थियो । स्थानिय युवाले अवरोध गरेपछि विवाद हुँदा राउतले गालीगलौज र कुटपिट गरि दाहिने हात भाँचिदिएका थिए । राकेश कुमार हुजदारका अनुसार वडाध्यक्षलाई कारबाहीको लागि डिभिजन वन कार्यालय गाईघाटमा दिईएको निवेदनमा अहिलेसम्म कुनै कारबाही प्रक्रिया अगाडी नपढेको प्रति चित्त दुखाई रहेको छ ।

यस्तै वडाध्यक्ष राउतको सहयोगी जीवन भनिने बालकुमार राईको विरुद्ध समेत जाहेरी दिएको पीडित श्रेष्ठले जानकारी दिइन ।

नेकपा एमालेबाट दुई पटक निर्वाचित भएका वडाध्यक्ष राउतको जनप्रतिनिधि जस्तो गरिमामय छविलाई मर्यादित बनाउनु पर्ने र गुण्डागर्दी शैली र दागिरी प्रवृत्ती हटाउनु पर्ने स्थानीयहरु बताउँछन ।

सम्बन्धित समाचार

उदयपुरका एक वडाध्यक्ष २ दिनका लागि जेल चलान

तपाईको प्रतिक्रिया