उदयपुर – नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निष्कासन गरेको जानकारी दिएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा गठबन्धनका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको छ ।

गठबन्धन विरुद्ध नेपाली काँग्रेस उदयपुरका क्षेत्रिय सभापति रामकुमार राईले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राईले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडा बिरुद्ध स्वतन्त्रमा बागी उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको हो ।

उनले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि नेपाली कांग्रेस पार्टीको केन्द्रीय सर्कुलर बमोजिम स्वतहः निष्कासनमा परेको हो । तत्कालीन काँग्रेस जिल्ला कार्यसमिति सचिवसमेत रहेका राईलाई पार्टीले टिकट नदिएपछि ०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावअघि माओबादी प्रवेश गरेका थिए । तर, २ वर्ष नबित्दै पार्टीले काँग्रेसमै फर्काएर उनलाई पूर्ववत जिल्ला सचिवको जिम्मेबारीमा फर्काएपछि पार्टीमै क्रियासिल रहेका थिए ।

राईको प्रस्ताव र समर्थकमा पार्टीकै क्रियासिल सदस्हरु लिलाराज अधिकारी र नीलकुमार दाहाल पनि कारबाहीमा परेका छन् ।

तपाईको प्रतिक्रिया