उदयपुर । त्रियुगा नगरपालिका १२ जनप्रेमी आधारभूत विद्यालयमा भएको स्थगित गरिएको मतदान पुनः मतदान गराउन माग गर्दै मेयर, उपमेयर र वडाध्यक्षहरुका उम्मेदबारले उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । नियम बमोजिम स्थगित मदतान पुनः मतदानको माग बमोजिम मेयरका उम्मेदबार बलदेव चौधरी र मन्जु राई, उपमेयरका उम्मेदबारहरु गीता खड्का कार्की, विनोद कुमार चौधरी, रामकिशुन सदा, रामवति चौधरी, वडाध्यक्षका उम्मेदबार लक्ष्मी चौधरी, वडा सदस्यका उम्मेदबार रेनु बोट लगायतले छुट्टाछुट्टै रिट उच्च अदालत विराटनगरमा दायर गरेको छ । प्रतिषेध पुनः मतदानको माग गर्दै उत्प्रेषणयुक्त परमादेशको रिट सोमबार उच्च अदालत विराटनगरमा दायर गरेको हो । रिटमा अन्तरिम आदेशको लागि (आज) आज सुनुवाई हुने छ ।सयौंको संख्यामा दुई घण्टा बढी समय मतदानको लाइनमा बसेकाहरुले मतदान गर्नबाट बञ्चित भएकोले भन्दै पुनः मतदान गराउने वातावरण बनाई दिन उच्च अदालत विराटनगरमा निर्वाचन आयोग कान्तीपथ काठमाडौं, त्रियगा नगरपालिकाको मुख्य निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुर गाईघाट लगायत मदतान अधिकृत र सहायक मतदान अधिकृतलाई विपक्षी बनाई रिट दायर गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं.१२. स्थित जनप्रेमी आधारभूत विद्यालयका मतदान केन्द्र (क) का मतदान अधिकृत केशव कुमार बिसी र सहायक मतदान अधिकृत गजेन्द्रप्रसाद मण्डल, सोही केन्द्र (ख) का मतदान अधिकृत गिरीलाल परियार र सहायक मतदान अधिकृत मोहनप्रसाद घिमिरे, सोही केन्द्र (ग) का मतदान अधिकृत शिवनारायण यादव र सहायक मतदान अधिकृत रोनिशा खतिवडा सहितलाई विपक्षी बनाईएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ बमोजिम नेपाल सरकारले मतदान हुने समय मिति २०७९ साल बैशाख ३० गते बिहान ७ः०० देखि दिउँसो ५.०० सम्म तोकेको भए पनि सो मतदान केन्द्रमा बिहान ८.०० बजे मात्र मतदान कार्य शुरू भएर दिउँसो ४.३० बजे देखि स्थगीत गरिएको रिटमा उल्लेख छ ।
मतदानको समयमा कर्मचारीहरुलाई खाजा खाने समयको सम्बन्धमा निर्वाचन सम्बन्धी कुनै कानूनमा व्यवस्था नभए पनि मतदान अधिकृतले अनावश्यकमा मतदान कार्यलाई अबरुद्ध गर्न खाजाको लागि भन्दै १ घण्टा गैर कानूनी रुपमा मतदान कार्य रोकी अबरुद्ध गरेको रिटमा उल्लेख छ ।
मतपत्रमा छाप लगाउने छापदानी (स्टाम्प प्याड) मा आवश्यकता भन्दा बढी मसी हालेर पानी हाली दिएको कारण मतदाताले स्वस्तीक छाप लगाउदा मतपत्र लतपतिने गरेको पनि रिटमा उल्लेख छ ।
मतपत्रमा लगाउने स्वस्तिक छाप प्रष्ट बुझिने खालको राख्नु पर्नेमा स्वस्तिक छाप उकाई राखि दिएको रिटमा उल्लेख छ ।
मतदान केन्द्रका कर्मचारीले नाम ठेगाना जाँचीवरी बुढी औंलामा निलो रंग लगाई दिई मतदाता मतपत्र लिने ठाउँमा पुग्दा मतपत्र दिने कर्मचारीले बुबा आमाको नाम ठेगाना सोधेर अनावश्यक रूपमा बदनियत पूर्वक लामो समय खर्चिने गरेको पनि रिटमा उल्लेख छ ।
मतदाताले मतदान केन्द्रका कर्मचारीहरुलाई मतदाता परिचय पत्र वा नेपाली नागरिकता देखाउँदा पनि जग्गा धनी पूर्जा लगायतका कागजात माग गरी मतदान कार्यमा अनावश्यक ढिलासस्ती गरेको रिटमा उल्लेख छ ।
मतदान गर्न आएका वृद्ध, अशक्त, जेष्ठ नागरिक लगायतका मतदाताहरुको मतदान अधिकतले आफै स्वस्तीक छाप लगाई दिने गरेको पनि रिटमा उल्लेख छ ।
मतदान केन्द्रमाको कर्मचारीहरूले कतिपय मतदाताहरुलाई बुढी औंलामा निलो मसी लगाई दिए पश्चात तपाईको मतदान भई सक्यो भनेर मतदान केन्द्रबाट फर्काइ दिएको समेत रिट निवेदनमा उल्लेख छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० मा विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने उल्लेखछ । दफा ४० को उपदफा (१) कुनै मतदान केन्द्रमा हुलदङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण सचालन हुन नसकी वा उपद्रव वा प्राकृतिक विपद् वा काबुबाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा निजले त्यस्तो मतदान केन्द्रको मतदान कार्य तत्काल स्थगित गर्न सक्नेछ र त्यसको सूचना सोही स्थानमा प्रकाशन गर्नेछ भनी उल्लेख छ । सोही दफा ४० को (२), (३),(४) को प्रकृया अवलम्बन गरी पुनः मतदान हुने मिति र समय यथासिघ्र तोक्नु पर्ने कानूनी कर्तव्य विपरित विपक्षीहरुले अटेर गरी कानूनको अवज्ञा गरि रहेको रिटमा उल्लेख छ ।
स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम २३ बमोजिम स्थगित भएको निर्वाचन ऐन नियम २४ बमोजिम पनः मतदानको लागि मिति र समय तोक्ने नियमावलीमा व्यवस्था गरिएको छ उक्त दायित्वबाट विपक्षीहरु पन्छिन मिल्दैन रिटमा उल्लेख छ ।