सुखिलाल चौधरी, उदयपुर । बैदेशिक रोजगारमा लगाई दिने भन्दै उदयपुरका ३१ जना युवाहरुबाट ९० लाख बढी रकम ठगी गरेर पूर्व माओवादी लडाकु सहित तीन जना फरार भएका छन् । लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका पूर्व माओवादी लडाकु भुपाल थापा (विटु थापा), त्रियुगा नगरपालिका ७ सहरेका भरत मगर र भेरी ओभरसिज प्रा.लिका संचालक बाबुराजा सिग्देलले बैदेशिक रोजगारमा राम्रो कमाई हुने देशमा पठाई दिने प्रलोभनमा पारेर ती युवाहरुबाट ९० लाख भन्दा बढी रकम ठगेर फरार भएका हुन् ।

भेरी ओभरसिज प्रा.लि. का संचालक बाबुराजा सिग्देल (बाँया), पूर्व माओवादी लडाकु भुपाल थापा (दाँया), तस्विर : पीडित पुरन बहादुर कार्कीको सहयोगमा

सेक्युरिटी गार्डको लागि माल्टा, अफगानिस्तान, चेक रिपब्लिक, पोल्याण्ड लगायतका देश पठाई दिन्छु भन्दै भुपाल र भरतले भेरी ओभरसिज प्रालि सिनामङगलमा २ लाख ५० हजार देखि ४ लाखसम्म रकम बुझाउन लगाएका थिए । ठगहरुले पीडितहरुलाई गत मंसिरमा एडभान्स स्वरुप ५० हजार र भिसा लाग्यो भन्दै गत माघ महिनामा मेन पावर कम्पनीमा २ लाख देखि ४ लाखसम्म पैसा बुझाउन लगाएका थिए । पीडित हुने सवै त्रियुगा नगरपालिकाकै युवाहरु हुन् । उनीहरुलाई आधा पैसा यहि र आधा पैसा काम गर्ने देश पुगेर काम गर्न थालेपछि भनि प्रलोभनमा पारेर ठगी गरेको हो ।
मेन पावर कम्पनीका संचालक सिग्देलले बैदेशिक रोजगारमा जानेहरुलाई भारत दिल्लीको बाटो हुँदै अफगानिस्तान, माल्टा, चेक रिपब्लिक, पोल्याण्ड लगायतका देश पुर्याउने भन्दै पैसा असुलेर फरार भएको त्रियुगा नगरपालिका ११ का पीडित पुरन बहादुर कार्कीले बताए । विभिन्न लोभ र प्रलोभनमा पारी नक्कली डिमाण्ड पेपर देखाएर आफुहरुलाई दिल्लीमा अलपत्र पारेर फरार भएको पीडित कार्कीले बताए । पीडित कार्कीले भने, ‘एनओसी पेपर आई सक्यो भनेर नेपालबाट उड्न मिल्दैन नयाँ दिल्लीमा सबै ब्यवस्था गरिसकेको भन्दै दिल्ली पुर्याएर १७ दिनसम्म होटलमा बसाएका थिए ।’आज भोली भन्दा भन्दै एका एक नेपालमा पत्रकारले थाह पायो, हाम्रो पछि मान्छे लागेको छ भन्दै एक दुई हप्तापछि उडाउने भन्दै बसको टिकट काटिदिएर काठमाडौंमा बस्ने होटल समेत भनिदिएको भन्दै घर फर्काएको अर्का पीडित त्रियुगा नगरपालिका ७ सहरेकका विकास बलम्पाकी मगरले बताए । उनका अनुसार आफु लगायत छरछिमेकी गरी ७ जनाबाट २ लाख ५० हजार देखि ४ लाखसम्म मेन पावरलाई बुझाएको बताए । उनका अनुसार स्थानीय एजेन्ट भरत मगरले ललाई फकाई राम्रो काम छ भन्दै आफुहरुलाई ठगेको बताए । उनले भने, ‘घरबारी धित्तो राखेर २ लाख ५० हजार ऋण निकालेर दिएको छु । कसै कसैले किस्ताबाट पैसा निकालेर दिएको छौं ।’
संचालक सिग्देल विरुद्ध बैदेशिक रोजगार विभाग, मानव अधिकार आयोग र अपराध महाशाखा टेकुमा कारबाहीको लागि उजुरी गरेको अर्का पीडित रामेछापका उमाकुण्ड गाउँपालिका ३ का प्रेम कुमार खड्काले बताए ।
केही पीडित युवाले न्यायको लागि जिल्ला प्रशासन उदयपुरमा आएपनि सम्बन्धित गुनासो सुन्ने निकाय क्षेत्रिय श्रम तथा रोजगार कार्यालय विराटनगर पठाएको प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताए । उनका अनुसार दुई जना युवा गुनासो लिएर आउनु भएको थियो । प्रजिअ खड्काले भने, ‘क्षेत्रिय श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलसँग सम्पर्क गर्दा, निवेदन मात्र होइन ति पीडितहरुलाई समेत पठाई दिनु भनेपछि उहाँहरुलाई उत्तै जान अनुरोध गरे ।’ मेन पावर कम्पनी पनि अहिले बन्द छ भने संचालक सिग्देलले प्रयोग गर्ने फोन नम्बरहरु समेत बन्छ । यस्तै स्थानीय एजेन्ट भुपाल थापा र भरत मगरको समेत मोबाइल स्वीच अफ गरेर बसेको छ । थापा माओवादी पूर्व लडाकु हुन् । सेनाको समायोजनमा उनी परेका थिए । पूर्व लडाकु थापाले घर त मेरो जाते तिरै हो भन्ने गितका लोक गाएक समेत हुन् । उनको सोही गीतबाट एल्बम समेत निक्लेको छ ।
यी युवाहरु दलालको चंगुलमा परे

राम्रो कमाई मासिक एक लाख देखि २ लाख ५० हजारसम्म कमाई हुने प्रलोभनमा परेर उदयपुरका ३१ जना युवाहरु दललाको फन्दामा परेर घरबार विहिन बन्ने अवस्थामा पुगेको छ । अफगानिस्तान, माल्टा, चेक रिपब्लिक, पोल्याण्ड लगायतको देशमा काम गर्न जान पाउने भयौ भन्दै जनही २ लाख ५० हजारदेखि ४ लाख रुपैयासम्म घरजग्गा धित्तो राखेर साहुसँग ऋण काढेर मेन पावरलाई बुझाएका ती युवाहरुलाई अहिले आपत परेको छ । आधा पैसा यहि र आधा पैसा सम्बन्धित देशमै कमाएर दिनु भन्दै प्रलोभन देखाएर पैसा मेन पावरलाई बुझाएकोले अहिले भएभरका सम्पत्ती गुमाउन पुगेको त्रियुगा नगरपालिका ७ सहरेका इन्द्र बहादुर बलम्पाकी मगरले बताए ।
उनीमात्र होइन त्रियुगा नगरपालिका ७ सहरे, कालीखोलाका झिल्ल बहादुर मगर उनकै सहोदर भाई सूर्य बहादुर मगर (ए), रमेश मगर, अमृत आले मगर, मदन राई, विकास मगर, डिक बहादुर मगर, राम बहादुर राउत, वविन रिखाम छन् ।
यस्तै त्रियुगा नगरपालिका ११ का पुरन बहादुर कार्की, शेषराज मगर, नितेश कुमार मगर, डम्बर मगर, विवेचन समाल मगर, रामकुमार मगर रहेका छन् । त्रियुगा नगरपालिका १४ साउनेका इन्द्र बहादुर मगर, गोविन्द बहादुर मगरका साथै त्रियुगा नगरपालिका १५ खाँबुका राम बहादुर मगर, शिव कुमार मगर, भुवन कुमार मगर, सूर्य बहादुर मगर (वि), खगेन्द्र मगर पनि ठगिएका छन् ।
यस्तै त्रियुगा नगरपालिका २ जोगिदह मोथियाहीका हरि बहादुर कार्की, यम बहादुर कार्कीका साथै त्रियुगा नगरपालिका ४ बगहाका पूर्णबहादुर थापा मगर, नेपालटार गैयाका प्रदिप बस्नेतको साथै बम बहादुर राई, राजेश श्रेष्ठ, मिलन भुजेल लगायत बैदेशिक रोजगारमा पठाउने दलालको चंगुलमा ठगिन पुगेका छन् ।
उदयपुरका मात्र होइन गोर्खा, रामेछाप, सिन्धुपालचौक, धादिङ लगायत गरी २ सय ५० भन्दा बढीको रकम ठगेर मेन पावर संचालक फरार भएको छ । उदयपुरका पीडितहरुका अनुसार हामीले ४ लाखसम्म बुझाउनेमा परेको छौं तर अन्य जिल्लाका भुपु आर्मी, पुलिसहरुले १२ लाखसम्म बुझाएको रहेछ । सवैलाई दिल्ली सम्म मात्रै लगेर उडाएको छैन र हामी सवै घर फर्कियौं ।
बैदेशिक रोजगार विभागको कर्मचारीको ढाट्यो
बैदेशिक रोजगार विभाग काठमाडौमा काम गर्ने कर्मचारीहरुको दोहोरो रोल हुने गरेको पीडित प्रदिप बस्नेतले बताए । उनका अनुसार बैदेशिक रोजगार विभाग गएर कर्मचारीहरुलाई यस कम्पनीको बारेमा बुझ्न खोज्दा कर्मचारीको भनाईलाई उध्रित गर्दै भने, ‘भेरी ओभरसिज प्रा.लि. राम्रो कम्पनी हो । बैदेशिक रोजगार विभागमा दर्ता छ । मान्छे विदेश पठाउने मध्ये कै एक कम्पनी हो ।’  बस्नेतका अनुसार बैदेशिक रोजगार विभागको कर्मचारीले झुठो बोलेकोले हामी फसेको बताए । हामीलाई सवै ठिक छ भनेपछि विश्वासमा परेर मेन पावरमा पैसा जम्मा गरेको बताए ।
दोसीलाई पक्राउ गर्न अपराध महाशाखाको आलटाल
पीडितहरुका अनुसार हामीलाई आजभोली उडाउछु भन्दा भन्दै दुई तीन महिना वितेपछि हामीहरुले भेरी ओभरसिजका संचालक बाबुराजा सिग्देललाई पक्राउ गर्न अपराध महाशाखा टेकुमा निवेदन दर्ता गराएको महिनौ वित्दा पनि अपराधिलाई पक्राउ गर्न नसकेको पीडित शेषराज मगरले बताए । उनका अनुसार अपराध महाशाखाका एसपी, डिएसपीले मेन पावर संचालकसँगै मिलिदिँदा पक्राउ गर्नुको साटो भगाउने काम गरेको आरोप लगाए । उनले भने, ‘बारम्बार अपराध महाशाख धाउँदा थाक्यौं प्रहरीले पक्राउ गर्न चासै नदिने पछि अर्का डिएसपी चिनीमाया तामाङ त्यस ठाउँमा आएपछि उहाँलाई अवगत गराउँदा उहाँले पक्राउ गर्न सक्रिएता देखापनि केही समयपछि उहाँ नै सरुवा भएपछि अर्का एसपी, डिएसपीले पक्राउ गर्न चाहेनन् ।’

पीडितहरुलाई मेन पावर कम्पनीले रकम लिँदा दिएको नगदी रसिदहरु

तपाईको प्रतिक्रिया