सुखिलाल चौधरी, उदयपुर – उदयपुरको एक गैरसरकारी संस्थाले विपन्न गरिव, निमुखालाई ललाई फकाई कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्राइल (प्रयोगशाला परीक्षण) गराउने गरेको तथ्य बाहिरिएको छ ।

नीया कम्पनीले उत्पादन गरेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको खोप परीक्षण उदयपुरका गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालले विपन्न जनतालाई ललाई फकाई ३ हजार रकम दिएर ३ हजार उदयपुरे जनताको ज्यानमाथि खेलवाड गर्दै गरेको रहस्य खुलासा भएको छ । सो खोप परीक्षण गराउने क्रममा एक जना गम्भिर घाइते भएपछि सो तथ्य बाहिरिएको हो ।

त्रियुगा नगरपालिका १ हाटखोला जोगिदह बस्ने २८ वर्षिय सुन्दर मरिक डोमलाई बुधबार निःशुल्क स्वास्थ्य परीक्षण गराउने भन्दै ललाई फकाई ३ हजार दिएर विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा लगेर कोरोना–१९ भ्याक्सिन (सिएचओ सेल) को तेस्रो चरणको क्लिनिकल ट्राइल भ्याक्सिन लगाएर घर फर्किएपछि गम्भिर घाइते भएको परिवार स्रोतले जनाएको छ । सुन्दर मरिक डोम बुधबार सिएचओ सेल भ्याक्सिन लगाएर आएपछि घरमा एक्कासी रिङ्गटा लागि ढलेपछि जिल्ला अस्पतालमा उपचार पछि उनलाई रेफर गरिएको अस्पताल स्रोतले जानकारी दिए । मरिकको चार वटा दाँत भाँचेको छ भने ओठ काटिएर धेरै ब्लड गएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

यस विषयमा सुन्दर मलिक डोमका दिदी कुरुवा नितु मलिकलाई बुझदा अवस्था गम्भिर नै रहेको बताए । उनले अहिले आफु, विरामी भाई र बुहारी अस्पतालमै रहेको छौं । भिडियो एक्सरे गर्ने भनेर भनेको छ तर अहिलेसम्म भएको छैनन् । निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भन्दै ललाई फकाई गरि मेरो भाईलाई सुइ लगाउन लगाएको रहेछ । आतेजाते र खाना समेत हुरेण्डेकले नै गरेको रहेछ भने खोप लगाउनु भन्दा अगााडी के के कागजमा छाप लगायो हामी अनपढलाई केहि थाह छैन् । खोप लगाए वापत ३ हजार पनि दिएको उनले खुलासा गरिन् ।

यस्तै सोही ठाउँका विवेक दनुवार, युवराज अधिकारी लगायतका नौ जना व्यक्तिहरुलाई प्रयोगशाला परीक्षणको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिए पनि तीन जनामा मात्रै भ्याक्सिनको परीक्षण गरिएको संस्थाका प्रतिनिधि देवी कटुवालले जानकारी दिए ।विदेशमा एक स्वस्थ्य मानिसको शरिरमा कुनै औषधिको क्लिनिकल ट्राइल गर्नु परेमा हजारौं डलर खर्चिनु पर्छ । उनको ज्यान नै गएमा पाँच देखि सात पुस्ता सम्मको परिवारको लालन पालनको लागि रकम दिने गरेको छ । तर उदयपुरमा एक गैरसरकारी संस्थाले ३ हजार दिएर मानिसको ज्यानसँग खेलवाड गर्नमा उत्रिएपनि सम्बन्धित निकाय मौन रहेको छ । गैरसरकारी संस्थाले लाखौ कुमल्याउछन भने एक गरिव विपन्नको जीवन ३ हजारमा लेनदेन हुने गरेको छ ।

हुरेण्डेक उदयपुरका अध्यक्ष शंकर बहादुर थापाका अनुसार यो भ्याक्सिन रिसर्च हो, चिनिया कम्पनीले पहिलो, दोस्रो चरणको ट्राइल गरिसकेको छ । यो तेस्रो चरणको प्रयोगशाला परीक्षण नेपालमा स्थानीय एकीकृत विकास समाज (सोलिड) नेपालले गर्दैछ, त्यसैको सहकार्यमा हामीले यहाँ गर्दै छौं । सोलिड नेपाल संस्थाले बताए अनुसारको मान्छेहरु भेला गरेर लगि दिने हो, बाँकी चिनिया डाक्टरले गर्ने अध्यक्ष थापाले बताए । उदयपुरका ३ हजार व्यक्तिमा सो खोप परीक्षण गरिने अध्यक्ष थापाले बताए ।

क्लिनिकल ट्राइलको लागि जिल्ला प्रशासन कार्यालय उदयपुर र सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ मा निवेदन दिएका छौं तर उहाँहरुले कुनै अनुमति नदिएको संस्थाका अध्यक्ष थापाले स्वीकार गरेका छन् । उनले खोपको कारणले त्यस्तो नभएर रक्सी खाएकोले लडेको बताए । ललाई फकाई गरेर ३ हजार दिएको क्लिनिकल ट्राइलमा लगेको बारे यो प्रोपोगाण्डा हो, कसैलाई पनि ललाई फकाई गरी खोप परीक्षण नगराएको हुरेण्डेक अध्यक्ष थापाले बताए । उनले कसैको ज्यानसँग खेलवाड नगरेको पनि बताए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसँग सम्पर्क गर्दा हुरेण्डेक भन्ने गैरसरकारी संस्था क्लिनिकल ट्राइलको लागि अनुमति मागेपनि हामीले सो संस्थालाई कोरोना भ्याक्सिनको क्लिनिकल ट्राइलको लागि अनुमति नदिएको बताए । प्रजिअ गौतमका अनुसार क्लिनिकल ट्राइलको खोपमा हामीले अनुमति दिन मिल्दैन । हुरेण्डेकले दिएको पत्रलाई के गर्न सकिन्छ भनेर स्वास्थ्य कार्यालय उदयपुरलाई लेखि पठाएका छौं । तर, कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्राइलले एक जना गम्भिर भएको बारे जानकारी आएको छ । त्यसको बारेमा सोधीखोजी हुँदैछ ।

हुरेण्डेकले कोरोना भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्राइल (प्रयोगशाला परीक्षण) उदयपुरको ३ हजार जनामा गर्नको लागि अनुमति माग गरेको चिठी आएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपर भाइजर तथा सूचना अधिकारी चिरन्जिवी निरौलाले बताए । उनले चिठी आए पनि हामीलाई क्लिनिकल ट्राइल (प्रयोगशाला परीक्षण) गराउन अनुमति दिने अधिकार छैन् । हामीसँग खोपको विशेषज्ञ हुँदैन्, त्यसको लागि विभाग र मन्त्रालयको लागि चिठी लेख्न भनेको हुँ, समन्वय गरिदिनेछौ भनेपनि ती संस्थाले फर्किर चिठी लिन नआएको निरौलाले बताए ।

हामीलाई क्लिनिकल ट्राइलको अनुमति दिने क्षेत्राधिकार छैन् तर हुरेण्डेकले चिठी नलेखि गुपगुप रुपमा विपन्न गरिव, डोम, मुसहर लगायत १० जनालाई क्लिनिकल ट्राइलको लागि लगेकोमा एक जना गम्भिर छ भनेर सुनेको छु । उनको जिल्ला अस्पताल बोक्सेमा उपचार पछि धरान रेफर गरिएको छ ।

तपाईको प्रतिक्रिया