उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फको मतगणना शुरु भएको छ । उदयपुरको त्रियुगा उच्च मावि गाईघाटमा मतणगना शुरु भएको छ ।
प्रतिनिधि सभा, प्रदेश सभा दुई वटा, समानुपातिक तर्फ प्रतिनिधि र प्रदेश तर्फको छुट्टाछुट्टै गरी पाँच ठाउँमा मतगणना शुरु भएको हो ।
उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभामा ७६ हजार ७५६ मत खसेको छ । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा १ (क) मा ३९ हजार ७१ मत र प्रदेश सभा १ (ख) मा ३७ हजार ६८५ मत खसेको छ । निर्वाचन क्षेत्र नं. १ मा प्रदेश सभा १(क) मा १० जना र प्रदेश सभा १ (ख) मा १३ जना उम्मेदबार छन् ।
यस्तै उदयपुर निर्वाचन क्षेत्र नं. २ को उदयश्री बहुमुखी क्याम्पस कटारीमा मतगणनाको लागि भएको सर्वदलिय बैठक सम्पन्न भएको छ । मतगणनाको लागि लागि आजै ३ बजेबाट हुने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले जनाएको छ । उक्त क्षेत्रमा संघमा ४४ हजार ८४५ मत खसेको छ ।
उदयपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा २ (क) मा १८ हजार ६८३ मत र प्रदेश सभा २ (ख) मा २६ हजार १९२ मत खसेको छ । निर्वाचन क्षेत्र नं. २ मा प्रदेश सभा २ (क) मा ५ जना र प्रदेश सभा २ (ख) मा ७ जना उम्मेदबार छन् ।
उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभाको लागि १५ जना पार्टी सहित १६ जना र निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभाको लागि १० जना पार्टी सहित १२ जनाको उम्मेदबारी परेको छ ।