उदयपुर – आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उदयपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा, नेकपा एमालेका अमर बहादुर रायमाझी, जनता समाजवादी पार्टीबाट सिद्धान्त राईसहित १२ जना चुनावी मैदानमा रहेका छन् ।
चुनावी मैदानमा माथिका तीनै जनाको चर्चा रहेपनि एमाले भित्रकै असन्तुष्टि र सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका जगनाथ खतिवडा चुनावी बाजी मार्ने दाउमा देखिन्छन् । चुनावी मैदानमा खतिवडालाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) साथ रहनुको साथै अदृश्य रुपमा एमालेका कार्यकर्ताहरुले पनि सहयोग गरिरहेका छन् ।

एमालेमा हुँदा उदयपुरको क्षेत्र नम्बर २ मै २०५६ सालमा खतिवडा निर्वाचित भएका थिए । तर उनले संसदिय प्रणालीको अभ्यास बुझ्न नपाउँदै संसद भङ्ग भयो । उनले दुई वर्ष पनि सांसदको भूमिकामा आफ्नो क्षमता देखाउने अवसर पाएनन् । ‘२०५६ असारमा निर्वाचित भएँ २०५८ मा राजाले कु गरेपछी देश झनै द्वन्दमा फस्यो । त्यसपछि २०६२÷६३ को जनआन्दोलनमा खतिवडाको महत्वपूर्ण भूमिका रह्यो । २०७० मा पुनः दोस्रो पटक संविधान सभाको निर्वाचनमा एमालेबाट उम्मेद्वार पाए तर काँग्रेसका नारायणबहादुर कार्कीसँग पराजित भए । उनै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कार्की समेत गठबन्धनबाट अहिले खतिवडालाई भोट मागिरहेका छन् ।

२०७४ सालको चुनावमा बाम गठबन्धनबाट नेकपा माओवादीका नेता सुरेश कुमार राई (हिमाल) लाई सहयोग गरेर विजयी गराएका थिए भने अहिले सुरेश कुमार राई (हिमाल) ले जगनाथ खतिवडालाई सहयोग गरिरहेका छन् ।

राजनीतिक संस्कारका हिसाबले खतिवडा अन्य उम्मेदवारका तुलनामा निकै गतिला देखिन्छन् । खतिवडाले राजनीतिक मैं सारा जीवन समर्पण गरेका छन् । अन्य केही प्रतिस्पर्धी भने मुनाफा गर्ने ठेकेदार व्यवसायमा रमाइका देखिन्छन् । राजनीतिक जिम्मेवारीको हिसाबले पनि खतिवडा एकीकृत समाजवादीको उपमहासचिव जस्तो महत्वपूर्ण जिम्मेवारीवहन गरेको अवस्थामा छ ।

एमाले भित्र नै असन्तुष्टिका स्वर

सत्ता गठबन्धन दलको कुल मत जोड्दा अमर बहादुर रायमाझीको लागि निकै प्रतिकूल छ । त्यसमाथि, उनको उम्मेदवारीलाई लिएर कटारी, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा एमालेभित्र असन्तुष्टि पनि छ । पार्टीभित्रका पुराना, चुनाव जित्न सक्ने कर्मठ नेताहरूलाई पन्छाएर ठेकेदार उम्मेदवार थोपरिएको भन्दै एमालेका कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

केपी ओलीले पटक पटक संसद विघठन गर्दा रायमाझी माधव कुमार खेमामा रहेका थिए । रायमाझीले रौतामाई र उदयपुरगढी गाउँपालिकामा मोर्चा नै बनाएर केपी ओली विरुद्धमा लागेको केपी ओली पक्षधरहरुले अहिले पनि विर्सेका छैनन् । यस्ता एमाले कार्यकर्ताहरु अहिले निष्क्रिय बनेर चुनावी प्रचारमा खुलेका देखिदैंंनन् । असन्तुष्ट समूहलाई विश्वासमा लिंदै एमालेको भोट जोगाउन र गठबन्धनभित्र हुनसक्ने बेइमानी र अन्तर्घातमा खेल्न सके रायमाझीले उदयपुर २ मा गठबन्धनका उम्मेदवारलाई टक्कर दिन सक्ने देखिन्छ । तर अहिलेसम्म त्यस्तो अवस्था देखिदैंन । एमाले भित्रको टिकट मै फेरबदलले असन्तुष्टिकोे स्वरले कार्यकर्तामा वितृष्णा पैदा हुँदा चुनावी माहोल रायमाझीको पक्षमा देखिएको छैन् । एमालेमा पहिले निर्वतमान मेयर ज्ञानेन्द्र श्रेष्ठलाई प्रतिनिधि सभाको टिकट दिएको घोषणा गरे पनि मनोनयनको दिन उनको टिकट खोसियो ।

यता युवा नेताको रुपमा परिचय बनाएका शैलेश लामाले पनि आफ्नो नामको टिकट विक्री गरेको भन्दै युवाहरु नै उनीप्रति असन्तुष्टि देखाएका छन । उनले फेसबुकमै लामो स्टाटस लेख्दै ‘मैले विद्यार्थी जीबनबाट राजनिति शुरु गरे, टाइमर जस्तै भएर । मेरो विद्यार्थी राजनितिक जिवनलाई कहिल्यै पैसाले सौदाबाजी गर्न सकेन । मोलमोलाई थुप्रैले गर्न आए राजनितिक शैक्षिक मुद्दाहरुको, तर पनि एक थोपा दाग लाग्न दिइन मेरो उपस्थिति रहेको ठाउँमा यदि विश्वास नलागेमा क्रस भेरिफाइ गरिदिनु होला ।’ लामा अहिले चुनावी अभियानमा खुलेर लागेको देखिएको छैन् ।

यसरी नैं यही क्षेत्रबाट सांसद भईसकेका विष्णुबहादुर राउत पनि चुनावी अभियानमा देखिएको छैनन् । उनले पार्टी महाधिवेशनमा लेखा आयोगको अध्यक्षको दावी गरेपनि उनलाई लेखा आयोग सदस्य बनाएनन् । उनले फेसबुकमा स्टाटस् लेख्दै ‘म पार्टीमा लागेको ४७ बर्ष भएछ, आफ्नो जानकारीको क्षेत्र नहुंदा नहुंदै पनि लेखा आयोगमा २५ बर्ष बिताएँ । कार्यकर्ता र जनताको बीचमा काम गर्ने अवसर पाँंउ भन्दा नदिएपछि “तेरो काम छैन” भनेको हो भन्ने बुंझे । उनलाई केपी ओलीले नै पार्टीमा आव तिम्रो काम छैन आराम गर भनेको स्वरहरु एमाले वृतमा चर्चा परिचर्चा रहेको छ । उनले अहिले निर्वाचन क्षेत्र नं. १ का एमालेका उम्मेदबार मन्जुकुमारी चौधरीलाई पनि भोट माग्न नआएको गुनासो एमाले वृतमा चर्चा चलिरहेको छ ।

निर्वाचन क्षेत्र नं. २ मा एमालेका केहि नेता तथा कार्यकर्ताहरु खुलेरै स्वतन्त्र उम्मेदबार रामकुमार राईको चुनाव चिन्ह माछा छापमा मत माग्दा रायमाझीलाई आफ्नै कार्यकर्तालाई फकाउन समय खर्चिनु परेको छ । कटारीका एमालेका मतदाता स्थानीय उम्मेदबार नपाएपछि उनीहरु खुलेरै स्वतन्त्रका उम्मेदबार रामकुमार राईको पक्षमा मत मागिरहेको छ । उनीहरुले माछा र पाछा भन्ने नारा दिएर एमालेका प्रदेश सभाका सदस्य देवराज राई र रामकुमार राईको पक्षमा जनमत जुटाउने अभियानमा देखिएका छन ।

त्यसो त रायमाझी सामु उदयपुर सिमेन्ट उद्योग र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा कम्पनी मार्फत ज्यालादारी कर्मचारीको तलबमा ती संस्थाले तोकेको तलबमा आधा खाई दिएपछि रौतामाई र उदयपुरगढीबाट काममा गएका एमालेकै कार्यकर्ताहरु रुष्ट भएका छन् । उनीहरुले रायमाझीलाई मत दिने पक्षमा देखिदैन । भने गाउँलेहरुलाई पनि रायमाझीलाई मत नदिन आग्रह गरिरहेका छन् । अर्कोतर्फ मुर्कुची भुट्टार सडकमा कामै नगरि साढे दुई करोड रकम झ्वाम्म पारेको स्थानीयहरुले आरोप छ । सडकको स्तरउन्नति नै नगरेकोले आफुहरु वर्षातमा कष्टकर यात्रा गर्नु परेकोको पुवारे, भुट्टार, नामेटार लगायतको स्थानीयहरुको आरोप रहेको छ । उक्त सडकको विषयमा अहिले अख्तियारमा उजुरी परेर छानविन शुरु गरिरहेको छ ।

उदयपुर निर्वाचन नं. २ प्रदेश सभा सदस्यको टिकटमा पनि पुराना नेतालाई पन्छाएर नामै नसुनेका राजनीतिमा लागेका कनिष्टलाई टिकट दिएको आरोप एमाले भित्रका असन्तुष्ट पक्षहरुले गरिरहेका छन् । असन्तुष्टहरु खुलेर चुनावी अभियानमा देखिदैनन् । अर्को तर्फ स्थानीय तहको निर्वाचनमा लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा राजकुमार राई र प्रदेश सभा सदस्यको टिकटमा देवराज राई पाएपछि उदयपुरगढी र रौतामाई गाउँपालिकाका नेताहरु रुष्ट भए भए त्यो भन्दा बढी लिम्चुङबुङका पुराना र जित हासिल गर्ने नेताहरु रुष्ट छन् । स्थानीय तह र प्रदेश सभामा एकै परिवारका सदस्यलाई टिकट दिएको चर्चाले लिम्चुङबुङ गाउँपालिकाका नेताहरु रुष्ट छन् ।

जगनाथ खतिवडालाई सता गठबन्धनको भर

स्थानीय तहको निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. २ का पाँचवटै पालिका प्रमुख गठबन्धनले जितेको छ भने कटारी नगरपालिकाका उपप्रमुख बाहेक चार वटामा गठबन्धनले जितेको छ । उदयपुर क्षेत्र नं. २ मा ४० वडाहरु मध्ये एमालेले १५ वडा मात्रै जितेका छन् भने बाँकीमा गठबन्धन दलका वडाध्यक्षहरु जितेका छन् । गठबन्धनमा आवद्ध दलका वडाध्यक्षहरु भोट सुरक्षित गर्न र गठबन्धनलाई जिताउन दिलो ज्यान दिएर लागेको छ ।

सत्ता गठबन्धनको केन्द्रीय चुनावी तालमेल अनुसार निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभाको उम्मेदबारमा काँगे्रसका डा. नारायण खडका चुनावी मैदानमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले सहयोग गरेर चुनावी मैदानमा छन् । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश नं. १ (क) मा नेकपा माओवादी केन्द्रबाट राजन किराती (बाँसु) र प्रदेश नं. १ (ख) मा काँग्रेसबाट हिमाल कार्की चुनावी मैदानमा छन ।

यता निर्वाचन क्षेत्र नं. २ उदयपुरमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजावदीका उपमहासचिव जगनाथ खतिवडा चुनावी मैदानमा छन भने उनलाई काँग्रेस र माओवादीले साथ दिएर चुनावी अभियानमा रहेका छन् । उदयपुर निर्वाचन क्षेत्र नं. २(क) मा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर र निर्वाचन क्षेत्र नं. २ (ख) मा नेपाली काँग्रेसका रामकुमार खत्री चुनावी मैदानमा छन् ।

तीनै दल एक अर्कालाई चुनावी अभियानमा सहयोग गरिरहेका छन् । सत्ता गठबन्धनमा प्रत्यक्ष तर्फको उम्मेदबारमा जुन जुन ठाउँ छ त्यही दलका उम्मेदबारलाई भोट दिन आग्रह गरिरहेका छन भने समानुपातिक तर्फ आ–आफ्नो दललाई मत मागिरहेका छन् ।
जगनाथ खतिवडा पुराना नेताको रुपमा परिचय बनाएकोले एमालेकै नेता कार्यकर्ताले साथ दिने पक्षमा देखिएको छ भने उनको व्यक्तिगत प्रभाव पनि राम्रै रहेको देखिन्छ ।

यस्तो छ, चुनावी अंक गणित

एक नगरपालिका र चार गाउँपालिका रहेको उदयपुर निर्वाचन क्षेत्र नं. २ मा गत बैशाखको स्थानीय तहको चुनावमा प्रमुख र उपप्रमुखले पाएको पार्टीगत मतमा गठबन्धन अगाडि छ । नेपाली काँग्रेसले एक पालिका प्रमुख र तीन उपप्रमुख, नेकपा माओवादी केन्द्रले तीन पालिका प्रमुख र नेकपा एकीकृत समाजवादी एक पालिका प्रमुख जितेका छन भने नेकपा एमालेले कटारी नगरपालिकामा उपप्रमुख जितेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा सता गठबन्धनको पालिका प्रमुखहरुले पाएको मत १९ हजार ५०२ रहेको छ भने नेकपा एमालेले १६ हजार ५१३ मत पाएका छन् । यस्तै गठबन्धनका पालिका उपप्रमुखहरुले २० हजार ४१० मत र एमालेका उपप्रमुखहरुले १५ हजार ७४८ मत प्राप्त गरेको देखिन्छ ।

उदयपुर निर्वाचन क्षेत्र नं. २ मा सवैभन्दा बढी मतभार भएको कटारी नगरपालिका मेयरका स्वतन्त्र उम्मेदबार कृष्ण प्रसाद बराल (केपी बराल) ५ हजार ९२२ मत र बालकृष्ण थापा २ हजार १५४ मत प्राप्त गरेका थिए । केपी बराल र बालकृष्ण थापा गठबन्धनका उम्मेदबारलाई सहयोग गरिरहेका छन ।

यस्तै स्थानीय तहको निर्वाचनमा ताप्ली गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदबार दिएका महादेव रास्कोटी अहिले गठबन्धनलाई सहयोग गरिरहेको छ । उनले एक हजार २० मत प्राप्त गरेका थिए ।

यस क्षेत्रमा जम्मा ९३ हजार ४ सय २१ मतदाता छन् । सवैभन्दा बढी कटारी नगरपालिका र दोस्रोमा उदयपुरगढी गाउँपालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया