नेपालटार – नेपाली काँग्रेस उदयपुरका कार्यबहाक सभापति भिमचन्द्र राईले गठबन्धनका आधिकारिक उम्मेदबार बाहेकका उम्मेदबारलाई भोट मागे कारबाही हुने चेतावनी दिएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेपालटारको चुनावी सभामा यस्तो बताएका हुन् ।
उनले काँग्रेस, माओवादी वा एकीकृत समाजवादीका नेता कार्यकर्ताले पनि गठबन्धन बाहेकलाई भोट मागे कारबाही हुने बताए । उनले पाँच दलिय संयन्त्रमा सामाजिक संजाल अनुमन समिति समेत रहेकोले कसैले कसैको विरुद्ध लेखे वा आधिकारिक उम्मेदबार बाहेक अन्य उम्मेदबारलाई भोट मागेका कारबाहीको भागिदार हुने बताए ।
कारबाहीको प्रक्रियामा नेपाली काँग्रेस अगाडी बढेको बताए । यस क्षेत्रमा स्वतन्त्र उम्मेदबार रामकुमार राईको चुनाव चिन्ह माछालाई सामाजिक संजाल तथा अन्य विधिबाट भोट माग्ने काँग्रेसको नेता कार्यकर्ताहरुसँग स्पष्टिकरणको सोधिने काम भएको काबा सभापति राईले स्पष्ट पारेका छन् । फेसबुकमा भोट मागेका केही कार्यकर्तालाई स्थानीय अनुगमन समितिको सिफारिसमा सुध्रिन स्पष्टिकरण सोधिएको उनले बताए । उनले भने, ‘गठबन्धनका उम्मेदबार बाहेक अन्य उम्मेदबारलाई भोट मागे आगामी दिनमा हुने काँग्रेसको वडा प्रतिनिधि, नगर प्रतिनिधि, प्रदेश र क्षेत्रिय प्रतिनिधि, जिल्ला र महाधिवेशन प्रतिनिधिसम्म रोक लगाउन सकिने छ । त्यस्ता नेता कार्यकर्तालाई आगामी पाँच वर्षपछि हुने स्थानीय, प्रदेश र संघको निर्वाचनको उम्मेदबार हुन समेत रोक लगाउने गरि विद्यान अनुसार कारबाही गरिने निर्देशन दिइएको छ ।’ गठबन्धनले मिहिन ढंगले कसले कसलाई मत मागिरहेको छ भन्ने संयन्त्र नै खडा गरेको छ । गठबन्धन बाहेकका उम्मेदबारलाई भोट मागे आज नभए भोली पनि कतै न कतैबाट सूचना चुहिने हुँदा भोलिका दिनमा पनि कारबाही हुन सक्ने बताए ।
नेपालटारमा गठबन्धनको कार्यक्रममा करिव दुई हजारको संख्या सहभागि रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता नारायण कार्की, नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य बलदेव चौधरी, नेकपा माओवादी केन्द्रका नेता मोहन खत्री, काँग्रेसका निर्वतमान सभापनि विदुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
चुनावी सभा कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदबार जगनाख खतिवडा, प्रदेश सभा सदस्यका उम्मेदबार नारायण बहादुर बुर्जा मगर, समानुपातिक तर्फ काँग्रेसका मिरा कटुवाल, माओवादीका सम्झना पाख्रिनको समेत उपस्थिति रहेको थियो ।