गाईघाट । फलफुल बजार व्यवस्थापन गर्ने नाममा आफ्नो निजी जग्गामा सार्वजनिक खरिद ऐन विपरित नगरपालिकाको रकम खर्च गरेका त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षले अर्काे बदमासी गरेको खुलासा भएको छ ।

वडा अध्यक्ष सुमन्त कोईरालाले नगर प्रहरीलाई १० बर्ष अघि देखि भाडामा दिएको घरजग्गा समेत फलफुल बजारलाई भाडामा लगाएका हुन ।
जिल्ला प्रहरी कार्यालय सँग २०७२ भदौ २५ गते गरेको सम्झौता क्रियाशिल रहेको अवस्थामा नगर प्रहरी बसेको गाईघाट गाविस ४ (ख) कित्ता नम्बर ६८५८ को १ कठ्ठा ३ धुर जग्गा त्रियुगा नगरपालिकालाई प्रयोगमा दिने सम्झौता गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला रेन्ट कमिटीको २०७० माघ १३ गतेको निर्णय अनुसार घर घनी कोईरालाले सुमन्त कोईरालाको नाममा रहेको १ कठ्ठा ३ धुर जग्गामा रहेको घरको कोठा १०, शौचालय बाथरुम संख्या ३ र बाथरुम १ वटा मासिक १३ हजार ५ सय भाडामा दिएका थिए । तर अहिले त्रियुगा नगरपालिकाको फलफुल बजार व्यवस्थापन गर्नको लागि सोही गाईघाट ४ (ख) कित्ता नम्बर ६८५८ को १ कठ्ठा ३ धुर जग्गा त्रियुगा नगरपालिकासँग २०७९ साउन १३ गते सम्झौता गरेका छन ।

नगरपालिकाको तर्फबाट नगरप्रमुख बसन्त कुमार बस्नेत र जग्गा धनीको तर्फबाट वडा अध्यक्ष समेत रहेका जग्गा धनी सुमन्त कोईरालाको हस्ताक्षर रहेको सम्झौतामा दोस्रो पक्षले ५ वर्षका लागि उपलब्ध गराएको जग्गामा प्रथम पक्षले आवश्यक पूर्वाधार बनाउने र फलफुल बजारबाट प्राप्त आम्दानीको ३० प्रतिशत जग्गा धनी सुमन्त कोइराला, ३० प्रतिशत त्रियुगा नगरपालिका र ४० प्रतिशत बजार व्यवस्थापन वापत त्रियुगा उद्योग बाणिज्य संघले पाउने उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयसँग सम्झौता गरेर मासिक रुपमा नियमित भाडा लिईरहेको घर जग्गा फलफुल बजार व्यवस्थापन गर्नेको लागि त्रियुगा नगरपालिकालाई दिएर दोहोरो मात्र होईन तेहोरो फाईदा लिन खोजेको गाईघाटका स्थानीयको आरोप छ । वडा अध्यक्ष कोईरालाले निःशुल्क जग्गा दिएको भनेर हल्ला गरेर तर फलफुल बजारको आम्दानी ३० प्रतिशत लिने सम्झौता गरेका छन । भने आफ्नो खाल्टो पानी जम्ने निजी जग्गामा नगरपालिकाको ८ लाख ४० हजार खर्च गरेर पुर्ने र टहरा निर्माण गरेर तेहोरो फाईदा लिन वडा अध्यक्ष कोइराला सफल भएका छन ।

नगर प्रहरीले प्रयोग गरिरहेको घर जग्गा त्रियुगा नगरपालिकालाई दिएको विषय आफूलाई थाहा नभएको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले बताए । ‘नगर प्रहरी कार्यालयकाको घर घनीले को सँग के सम्झौता गरे आफुलाई थाहा भएन, तर घर धनी र जिल्ला प्रहरी कार्यालय विचको घर भाडा सम्झौता आजको मिति सम्म तोडिएको छैन् ।’ उदयपुर प्रहरी प्रमुख फुयलले भने ‘नगर प्रहरीको कार्यालय स्थापना गर्न भाडा सम्झौता अनुसार त्यही जग्गा अर्काे निकायलाई दिन मिल्दैन, यसबारे घरधनीसँग आवश्यक जानकारी लिने छु ।’

एउटै जग्गा प्रहरी र नगपालिकालाई प्रयोग गर्न सम्झौता गरेको बारे त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले अनविज्ञता प्रकट गरे । मेयर बस्नेतका अनुसार वडा अध्यक्ष समेत रहेका जग्गा धनी कोईरालाले प्रहरीलाई भाडामा लगाएको जग्गा बाहेकको जग्गा फलफुल बजार व्यवस्थापन गर्न दिने कुरा आफुले बुझेको छु । वडा अध्यक्ष कोईरालाले एउटै जग्गा दुई निकायलाई दिएको भए वडा अध्यक्षले नै जवाफ दिने मेयर बस्नेतको भनाई छ ।

वडा अध्यक्ष कोईरालाले आफू सगोलमा भएको बेला नगर प्रहरीलाई घर भाडा दिएको घर जग्गा र फलफुल बजार विच कुनै सम्बन्ध नरहेको ठोकुवा गरे । ‘नगर प्रहरीको घर भाडा र फलफुल बजारको जग्गाको विच कुनै सम्बन्ध छैन ।’ वडा अध्यक्ष कोईरालाले भने ‘शनिबार विहान मलाई भेट्नु म फलफुल बजार बारे अन्तरवार्ता नै दिउला ।’

त्रियुगा नगरपालिकाले फलफुल बजार व्यवस्थापन गर्न त्रियुगा नगरपालिकाको नगरप्रमुख स्तरीय निर्णयबाट गठन भएको समग्र बजार तथा पार्किङ्ग व्यवस्थापन समितिको निर्णय अनुसार सुमन्त कोईराला र आफन्तको नाममा रहेको जग्गामा फलफुल बजार व्यवस्थापन गर्ने नगरकार्यपालिकाले निर्णय गरेको छ ।

भदौ ५ गतेको नगरकार्यपालिकाको निर्णय नम्बर १०२ र १०३ मा साउन २ गते नगरस्तरीय निर्णय अनुसार गठन भएको समग्र बजार तथा पार्किङ्ग व्यवस्थापन समिति अनुमोदन र सुमन्त कोईराला र आफन्तको नाममा रहेको जग्गा भाडामा लिएर फलफुल बजार व्यवस्थापन गर्ने निर्णय भएको छ । उदयपुर सिम्रिक दैनिकबाट

तपाईको प्रतिक्रिया