उदयपुर । एक वर्ष अघि पहिलो चरणमा विश्वभर त्राहीत्राही बनाईरहेको कोभिड एक्कासी उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्के स्थित नुरी मस्जिदमा एकै ठूलो संख्यामा कोरोना देखिएपछि जिल्लाबासीमा त्रास छाउन स्वभाविक थियो । सर्वसाधारणसँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रशासक र प्रहरी सबै आत्तिन थाले । उपचार गर्ने व्यवस्था काठमाडौं, धरान र विराटनगरमा मात्र भएकाले अकालमा मर्नुपर्ने त्रास देखेका जनताले उदयपुरमै कोभिड अस्पताल खोल्नुपर्ने चर्को माग गरे । जनताको माग अनुसार गाईघाटमै अस्पताल खोल्न जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण गराए । तर, संघ र प्रदेश सरकार आफै आत्तिएको अवस्था थियो, प्रदेश र संघीय सरकारको समेत ध्यान केन्द्रीत भएको थियो ।

त्यसवेला, तीनै तहका सरकारका सम्बन्धित व्यक्तिहरु नै उदयपुरमा स्वास्थ्य पूर्वाधार बलियो बनाउँछौ, भन्दै घोषणा गरिरहेका थिए । कोरोना महामारीलाई अवसरमा बदल्ने अठोट गरिरहेका थिए ।

पहिलो चरणकै कोरोना आक्रमणमा उदयपुरको कमजोर स्वास्थ्य पूर्वाधारले फड्को मार्ने आश जिल्लाबासीमा पलाएको थियो । तर, एक वर्ष पछि अहिले पुनःकोरोनाको दोस्रो लहर सुरु भएको छ । उदयपुरको स्वास्थ्य पूर्वाधार भने, उहि पुरानै छ । केही परिवर्तन आउन सकेको छैन् ।

उदयपुरका पत्रकार हरिकुमार राई भन्छन्, ‘स्वास्थ्यपूर्वाधारमा परिवर्तन आएन ।’ पहिलो चरणको कोरोना आक्रमणबाट पनि उदयपुरका सरोकारवाला निकायले पाठ सिक्न सकेका छैनन् । राई थप्दै भन्छन, ‘यसमा स्थानीय, प्रदेश र संघीय सरकारले वेवास्ता गरेको जस्तो लाग्छ ।’

सुविधासम्पन्न हस्पिटलमा बेड पाउनै मुस्किल

उदयपुरमा बैशाखको अन्तिम साताको मध्यमा १ सय ७१ कोभिड विरामी मध्ये करिव दुई जनालाई भेन्टिलेरमा राखेर उपचार गराई रहेको छ । त्रियुगा नगरपालिका ३ का एक कोभिड विरामी बैशाख २२ गते देखि विएनसी हस्पिटल विर्तामोड झापामा उपचाररत रहेका छन् । विरामीका आफ्न्तकाले गुनासो गर्दै पहिले त भेन्टिलेर पाउन मुस्किल, पाई हाले पनि जाँदा जाँदै अरुलाई दिई सकियो भन्दै फर्काउने र ठूलाबडाको सोर्स चाहिने रहेछ । ‘जिल्ला अस्पतालमै भेन्टिलेटर संचालनमा भएको भए आज यहाँसम्म आएर उपचार गराउन आउनु पर्ने अवस्था थिए, जे जस्तो भएपनि घरबाटै विरामीको हेरचाह गर्न सकिन्थ्यो ।’ उनले भने, ‘एक त कोभिडको विरामीको कुरुवा भनेपछि खाना खाने होटल, चिया पसल लगायतमा पनि दलितले जस्तै व्यबहार हुँदा आफुलाई दुख लागेको छ ।’

जिल्ला अस्पताल उदयपुरको प्रयोग विहिन भेन्टिलेटर सहितको आइसियु कक्ष । तस्विर : नागरिक बहस

अर्का एक कोरोना विरामीका आफ्न्तले विराट मेडिकल कलेजमा बल्लबल्ल विरामीले बेड पाएको दुखेसो गरे । उनका अनुसार जिल्लामा सुविधा सम्पन्न आइसियु भएपनि संचालन नहुँदा उदयपुरका विरामीहरु मारमा परेको गुनासो गरे ।

भेन्टिलेर मेसिन सहितका आइसियु बेड प्रयोग विहिन

उदयपुरका आठ स्थानीय तह मध्ये त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा सुविधा सम्पन्न अस्पतालका भवन बनेको छ । तर, जनशक्ति, उपकरणकै अभाव छ ।

प्रयोग विहिन भेन्टिलेटर सहितको आइसियु कक्षमा ताला । तस्विर : नागरिक बहस

कोरोनाको महामारीकै समयमा प्रदेश सरकारको १ करोडको सहयोगमा जडान दुईवटा भेन्टिलेर मेसिन सहित पाँच वटा आइसियु बेड पनि दक्ष जनशक्तिकै अभावमा प्रयोग विहन छ । स्थापना गरेको एक वर्षमा सम्बन्धित चिकित्सक नहुँदा प्रयोगमा आउन नसक्ने जिल्ला अस्पताल उदयपुरका मेडिलक सुप्रिडेन्ट डाक्टर जीवनारायण मण्डल बताउँछन् ।

‘आसियु बेडमा कोभिड तथा अन्य गम्भिर प्रकृतिका विरामी राखेर उपचार गर्नु परे उपचार हुँदैन,’उनले भने, ‘हामीले आसियु बेड सञ्चालनको लागि केन्द्र र प्रदेश सरकारलाई पटक पटक आग्रह ग¥यौँ, तर, सुनुवाइ भएन, अहिले प्रयोग विहीन छ ।’आइसियु बेडमा कोभिड मात्र होइन, अन्य विरामीको लागि प्रयोगमा ल्याउन सकेका छैनौँ, यो हाम्रो दोष होइन् ।’

जिल्ला अस्पताल गाईघाटमा पहिलो चरणको कोरोना महामारी बढेपछि पहिलो पटक आइसियु बेड स्थापना गरिएको थियो ।

स्वास्थ्यकर्मीदेखि उपकरणसम्म अभाव

उदयपुरमाकोरोना परीक्षणको एन्टिजेनविधिबाहेक अन्यविकल्पमापिसीआर परीक्षण हुुँदैन् ।स्वाव परीक्षण (पिसीआर) विधिबाट गर्नु परे एउटा पिसीआर मेसिनसमेत छैन् । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जिल्लामा स्वाव संकलन गरेर परीक्षण गराउन धरान, विराटनगर, काठमाडौं पठाउनु पर्ने गुनासो गरे ।

‘हामीले प्रदेश १ सरकारसँग बेल्टारमा रहेको कोभिड १९ अस्पताललाई व्यवस्थित गर्न पिसीआर मेसिन, भेन्टिलेटर मेसिनसहित आवश्यक उपकरण, जन शक्ति माग गरेका छौँ, तर, कोभिड अस्पताल व्यवस्थापनको लागि २० लाख प्रदेश १ सरकारले दिने निर्णय गरेको जानकारी पाएको छु ।’

उनले उदयपुरको जिल्ला अस्पताल लगायतका अस्पताल र प्रथामिक स्वास्थ्यचौकीमा समेत स्वास्थ्यकर्मी अभव रहेको गुनासो गरे । ‘जिल्लामा आवश्यक स्वास्थ्यकर्मी कै अभाव छ,’ उनले भने, ‘जिल्ला अस्पतालमै दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी छैनन्, अन्यको के कुरा गर्नु ?’

अक्सिजनका सिलिण्डर पनि सिमित

कोरोना विरुद्ध लड्न पिसीआर परीक्षणको समस्या, भेन्टिलेटर सहितको आइसियु बेडको समस्या मात्र होईन । संक्रमितलाई अतिआवश्यक पर्ने अक्सिजनको पनि सास्या उस्तै छ ।

जिल्लाका विभिन्न अस्पतला, प्रसुती गृह लगायतमा झण्डै एक सय वटा मात्र अक्सिजनका सिलिण्डर भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी बताउँछन् । ‘अक्सिजनको सिलिण्डरको कुरा गर्ने हो भने जिल्लामा झण्डै एक सय सिलिण्डर छ,’उनले भने, ‘उदयपुरमा अहिलेको कोरोना संक्रमणलाई यही रोक्न सके त्यो प्रयाप्त हो, यदी समस्या आइ लागेको खण्डमा स्थानीय तहसँग समन्वय गरेर अक्सिजन खरिद गर्ने तयारी थालिएको छ ।’

उनले समग्रहमा अन्य जिल्लाको तुलनामा स्वास्थ्य पूर्वाधार कमजोर रहेको भन्दै प्रदेश १ सरकारसँग एक जना छुट्टै कोरोनाको मात्र उपचार गर्ने चिकित्स माग गरेको बताए । अपवादमा संक्रमितको संख्या बढेर गम्भिर रुप लिए उदयपुरको अवस्था भयवह हुनेमा दुई मत छैन् । आवश्यक स्वास्थ्य उपकरण, औषधी, दक्ष चिकित्सकको अभाव प्रष्ट छ । स्वास्थ्य पूर्वाधारको अवस्था रुपमा नाजुक छ ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालले कमजोर स्वास्थ्य पूर्वाधारलाई बलियो बनाउन निरन्तर प्रदेश र संघीय सरकारसँग पहल भइरहेको बताए । ‘जिल्ला अस्पतालमा रहेको दुईवटा भेन्टिलेटर मेसिनसहितको पाँच वटा आइसियु बेड सञ्चालनको लागि पनि जनशक्ति माग गरिएको छ,’ उनले भने ।

आइशोलेसन बेड १५० मात्र

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लामा एक सय ५० वटा मात्र आइशोलेसन बेड तयारी अवस्थामा छ । कार्यालयका प्रमुख सुवेदी भन्छन्, ‘उदयपुर कोभिड अस्पताल बेल्टारमा ६०, मदन भण्डारी आँखा अस्पताल गाईघाटमा ४०, आठ वटा स्थानीय तहमा झण्डै ४० वटा जति छन्, भोलीका दिनमा संक्रमित बढेको खण्डमा बढाउँदै जानु पर्छ ।’

अहिले धेरै समान्य प्रकृतिका संक्रमित घरै आइशोलेसन बेड बनाएर बसेको बताउँदै सुवेदीले भने, ‘अहिले भेटिएका झण्डै एक सय ७१ जना संक्रमितमा अधिकांश घरै बसेकाले समस्या सामान्य छैन् । बढेको खण्डमा बढाउँदै जान सकिन्छ ।’

परीक्षण पनि न्यून, संक्रमित पनि न्यून

उदयपुरमा कोरोना परीक्षण पनि न्यून भएकाले संक्रमितको संख्या पनि न्यून भएको पत्रकार हरि कुमार राई बताउँछन् । ‘परीक्षणको दायरा बढाएर संक्रमितको पहिचान गर्नु पर्ने वेला आएको छ,’ उनले भने, ‘उदयपुरमा दैनिक ५० देखि एक सय जनमा मात्र परीक्षण हुने गरेको छ ।’

उदयपुरमा परीक्षणको दायरा बढाउन चौतर्फी माग छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुवेदी भन्छन, ‘उदयपुरमा परीक्षणको दायरा बढाउन चार नगरपालिकाले पाँच सय वटाका दरले दुई हजार र चार गाउँपालिकालाई तीन सय वटा दरले एक हजार दुई सय एन्जिेनकिट खरिद प्रक्रियाको लागि अगाडी बढेकोले सहजिकरण गर्ने काम भईरहेको छ ।’ उनले पिसीआर विधि झन्जटिलो भएकाले एन्जिेन विधिलाई जोड दिएको बताए ।

समग्रमा शक्तिशाली कोरोना विरुद्ध लड्नको लागि उदयपुरको स्वास्थ्य पूर्वाधार अति कमजोर छ । यसको लागि स्थानीय, तह, प्रदेश र संघीय सरकार अनि सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी छ । स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा परीक्षण दर बढाउनु पत्रकार राईको माग छ ।

तपाईको प्रतिक्रिया