उदयपुर / सरकारले यातायात व्यवसायमा सिन्डिकेट अन्त्यको कदमसँगै बेरोजगार बन्न पुगेका उदयपुरका मजदुरको पुनर्वहाली भएको छ । सिन्डिकेट लागू भएसँगै खारेज भएको तत्कालीन हिमाली यातायात व्यवसायी संघका अवकाश प्राप्त मजदुरलाई पुर्नगठित कम्पनी हिमाली यातायात व्यवसायी केन्द्रले पुनर्वहाली गरेको हो ।
पुनर्वहालीको निर्णयसँगै साउन १ गतेदेखि जागिर गुमाएका ५४ जना मजदुरहरू शुक्रबारदेखि साविक झैं काममा फर्केका छन् । संघ खारेजीको सरकारी निर्णयसँगै अवकाश पाएपछि रोजीरोटीको अभावमा धेरै मजदुरहरू परिवारको पालनपोषण र जीवन गुजारा गर्नै नसक्ने स्थितिमा पुगेकाले उनीहरूलाई यथास्थानमा काममा फर्काउने निर्णय बिहीबारको बैठकले गरेको हो ।
हिमाली यातायात केन्द्रका उपाध्यक्ष राजन ढकालले अवकाश पाएका मजदुरको जीवन गुजरासम्म हुन छाडेपछि काम गर्ने वातावरण बनाई दिएको बताए । ढकालका अनुसार संघबाट अवकाश प्राप्त सबै मजदुरलाई पूर्ववत रुपमा काममा लगाउन थालिएको, तर, कुनै नियुक्ती पत्र नदिईएको काम गरेवापत पारिश्रमिक स्वरुप निश्चित कमिशन दिइने छ । संघमा रहँदाजस्तो मासिक पारिश्रमिक र भत्ताको व्यवस्था नभएपनि निश्चित प्रतिशत कमिशन लिन पाउने गरी काम गर्ने वातावरण पाएपछि सबै मजदुरहरु काममा फर्केको उपाध्यक्ष ढकालले बताए ।
२०५३ सालमा स्थापना भएर क्रियासिल रहेको हिमाली संघले जिल्लाभरी सञ्चाल बिस्तार गरेर प्रत्यक्ष ५४ जना र अप्रत्यक्ष अढाई सयको हाराहारीलाई रोजगारी दिँदै आएको थियो । तत्कालीन हिमाली संघमा कार्यालय प्रमुखदेखि लेखापाल, सहलेखापाल, निरीक्षक, सहायक निरीक्षक र फिल्ड सहायकसम्ममा ५४ कर्मचारी कार्यरत थिए । उनीहरूलाई भत्ताबाहेक न्यूनतम ७ हजार देखि अधिकतम २७ हजारसम्म पारिश्रमिकको व्यवस्था थियो ।
संघले मजदुरको हकहितका लागि उपदान र सञ्चयकोषसमेत खडा गरेर सेवा सुविधा दिँदै आएको थियो । तर, सिन्डिकेट खारेजीपछि एक्कासी संघ नविकरण नहुँदा अवकाशसँगै उपदान र सञ्चयकोष केही नपाएपछि मजदुरहरू बिल्लीबाठ हुन पुगेका थिए ।
कटारी, मुर्कुची, जलजले, बेलटार, ठोक्शीला र बसाहामा शाखा कार्यालय खोलेर कर्मचारी परिचालन गर्दै आएको बिघठित हिमाली संघमा २ सय ५० वटा यात्रुबाहक, १ सय बढी मालबाहक गाडीहरु आवद्ध थिए ।

तपाईको प्रतिक्रिया