उदयपुर । जिल्लाकै सबैभन्दा ठुलो संजाल रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड उदयपुरले कृषि क्षेत्रमा १३ करोड बढि रकम लगानी गरेको छ । संस्थाको त्रियुगा नगरपालिका ५ देउरीमा सोमबार नवनिर्मित भवन उद्घाटनकाक्रममा प्रवन्धक युवराज कोईरालाले कृषि क्षेत्रमा १३ करोड चार लाख ७३ हजार ८ रुपैँया लगानी रहेको प्रतिवेदन सार्वजानिक गरे ।
१६ बर्षअघि स्थापना भएको संस्थाको हालसम्मको सम्पतीमा १५ करोड २५ लाख ८८ हजार दुई सय ६७ रुपैँया, स्थीर पुँजितर्फ चार कठ्ठा १८ धुर जग्गा र ६० लाख लागतमा निर्मित १० कोठे एक तल्ले भवन रहेको प्रबन्धक कोईरालाले बताए । प्रतिवेदनमा एक करोड ४७ लाख ७० हजार सात सय शेयर पुँजी रहेको सहकारीको निक्षेपतर्फ सात करोड ६५ लाख २१ हजार आठ सय ७६ रुपैँया रहेको जनाइएको छ ।
त्यसैगरी सहकारीमा दुई सय ६२ वटा समुहका एक हजार चार सय १७ जना आवद्ध रहेका छन् । सहकारीले सदस्यहरुलाई व्यवसाय सञ्चालन, कृषिलाई व्यवसायिकरण गर्न, पशु विमा, कृषि उत्पादनमा अभिप्रेरित गरेको अध्यक्ष गिताकुमारी उप्रेतीले जानकारी दिईन् ।
त्यसैगरी एक घर एक सदस्य, एक सदस्य एक व्यवसाय, उत्पादित वस्तुलाई बजारको समुचित व्यवस्था, सदस्यहरुको सिपसाधनलाई उत्पादन बढाउने, फजुल खर्च कटौती लगायतका रणनीति बनाई कार्यक्रम सञ्चालन गरिएको उनले बताईन् ।
अध्यक्ष उप्रेतीले आबद्ध सदस्यहरुलाई किसान उपदान कोष, सुत्केरी भत्ता, सामाजिक सुरक्षा योजना, कृषि कार्य गर्न तालिमका लागि इजरायल पठाउने गरेको, सिप बिकास, गोठ सुधार, व्यवसायिकरुपमा बाख्रा पालन गर्नेलाई विहाडे बोका वंगुर पालन गर्नेलाई वीर र तकारी खेती गर्नेलाई विउँ खरिद र संस्थामा बसी कारोवार गर्ने ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई उपदान दिने व्यवस्था मिलाइएको प्रबन्धक कोईरालाले जानकारी दिए ।
साथै सहकारीले केहि दिन भित्रै कृषकलाई लक्षित गरी भेटनरी, मलविउविजनको पसल, कृषि फर्म सञ्चालन गर्ने योजना अघि सारेको बताए । कार्यक्रममा बोल्दै साना किसान कृषि केन्द्रिय संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी वोर्डका सञ्चालक खेमबहादुर पाठकले किसानको जीविकोपार्जनका क्षेत्रमा साना किसान सहकारीले उल्लेखिय भुमिका निर्वाह गरेको बताए ।
उनले निर्वाहमुखी कृषि पेसालाई व्यवसायिककरण गर्नका निम्ति न्युन व्याजदरमा कृषकलाई ऋण दिने गरी सरकारसँग छलफल भईरहेको बताए । उनले किसानको सम्मान विना देश समृद्ध नहुने भएकाले कृषकलाई लक्षित कार्यक्रम बनाउनसमेत सरकारसँग माग गरे ।









