राकेश नेपाली, उदयपुर । उदयपुरमा करिव ३३ हजार ५ सय ७८ जना बालबालिकाहरुलाई दादुरा र रुवेला विरुद्धको खोप लगाईने भएको छ । देशव्यापी कार्यक्रम अन्र्तगत उदयपुरमा पनि दादुरा र रुबेला बिरुद्धको खोप लगाईने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बिहिबार एक कार्यक्रमको आयोजना गरि फागुन १ गतेदेखि खोप लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो । आठ स्थानिय तहमा दुई चरणमा गरि खोप लगाईने कार्यक्रम रहेको खोप सुपरभाईजर चिरञ्जीबी निरौलाले जानकारी दिए ।
पहिलो चरणमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा फागुन १ गतेदेखी ५ गते सम्म खोप लगाईने कार्यक्रम रहेको छ ।
दोस्रो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्ढीगढी नगरपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा फागुन १५ देखी २० गते सम्म खोप कार्यक्रम संचालन गरिने बताईएको छ । नियमित खोप चलिरहेकाले उदयपुरगढीको भलायाडाँडा भने दोस्रो चरणमा मात्रै खोप लगाईने निरौलाले बताए ।
खोप कार्यक्रमका लागि जिल्लाभरमा ४९० खोप केन्द्र तोकिएका छन् भने ५३१ जना स्वास्थ्यकर्मी खटिने कार्यालयले जनाएको छ । उदयपुर जिल्लामा पनि दादुरा र रुबेलाको सङक्रमण भेटिएकाले ९ महिना देखी ५ बर्ष उमेर समूहका बालबालिकाहरुले अनिवार्य खोप लगाउनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले आग्रह गरेका छन् ।









