उदयपुर । उदयपुरका एक ट्याक्टर चालक पेट्रोलले जलेर गम्भीर घाइते भएपछि रकम अभावले उपचार गर्न समस्या परेको छ । सुनसरीको इनरुवा स्थित एक ग्यारेजमा पुस १८ गते बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो ।
सुतेका बेला पेट्रोलमा लागेको आगोले पाठकको शरिरको ४५ प्रतिशत भाग जलेर घाउ भएको छ । तत्काल बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि कीर्तिपुर हस्पिटल रिफर गरिएका पाठकलाई भने जस्तो पैसा खर्च गर्न नसककै कारण फिर्ता पठाएपछि साता दिनयता उदयपुर जिल्ला अस्पताल ल्याएर उपचार गराईदैछ । पाठकको अनुहार, पाखुरादेखि औंलासम्म दुवै हात र तिघ्रादेखि औंलैसम्म दुवै खुट्टा तथा पेटमा समेत आगोले पोलेको छ ।
गत २८ गतेदेखि उदयपुर अस्पतालमा उपचाररत घाइते पाठकको अनुहारको घाउ भने निको हुँदै आएको भए पनि हात खुट्टा र शरिरको घाउ भने आवश्यक मेसिन उपकरणको अभावले निको हुन सकेको छैन । उनलाई सुविधासम्पन्न अस्पताल रिफर गर्नुुपर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. जिवनारायण मण्डलले बताएका छन् । उनका अनुसार बिरामी अपेक्षाकृत निको हुँदै गए पनि पूर्णरुपमा निको पार्न बाहिरै लानुपर्ने हुन्छ । आगोका घाइतेको उपचार गर्न दक्ष चिकित्सक अस्पतालमा रहे पनि आवश्यक यन्त्र उपकरणको अभावले सुविधासम्पन्न अस्पतालमै लानुपर्ने मण्डलले बताए ।
परिवारले खर्च अभावका कारण बाहिर उपचार गराउन सक्ने अवस्था नरहेको भन्दै बाध्यतावश जिल्ला अस्पतालमा उपचार गराउनु परेको जनाएको छ । आर्थिक अवस्था कमजोर रहेको पाठक परिवार छोराको उपचारमा अहिलेसम्म ३÷४ लाख रुपैयाँ सकिइसकेको र उपचारका लागि थप रकमको जोहो गर्न नसकेपछि कीर्तिपुर हस्पिटलले फिर्ता पठाएको बाबु पर्वत पाठकले बताए । उनले ट्याक्टर साहुले भर्खरै काममा लागेको भन्दै धेरै खर्च बेहोर्न नसक्ने भनेपछि आफ्नै पैसाले छोराको उपचार गराईरहेको र पैसा सकिएपछि जिल्ला अस्पताल ल्याएको बताए ।
ट्याक्टर साहु राजन बन्जराले एकसातादेखि मात्र पाठक आफूसँग काम गर्न आएको र आगो घटनामा बिमाको व्यवस्था नभएकाले धेरै खर्च बेहोर्न नसक्ने बताए । उनले काम थालेको ८ औं दिन नै घटना भएकाले बिमा कम्पनीले आगोका घाइते कामदारलाई क्षतिपूर्तिको व्यवस्था नभएको जवाफ पाएको बताए । उनले मानवताको नाताले पाठकको उपचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता भने जनाएका छन् ।
यसैबीच जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग बहादुर परियारले घाइते पाठकलाई अस्पतालमै भेटेर सान्त्वना दिएका छन् । अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका परियारले पाठकको उपचारमा अस्पतालको स्रोतसाधनले सक्दो कुनै कमी हुन नदिने र नियमित निगरानी राख्न चिकित्सकहरुलाई निर्देशन दिए । छोराको उपचारमा सक्दो सहयोग गर्ने उनको परिवारलाई सान्त्वना दिँदै उनले व्यक्तिगत र संस्थागत चन्दा संकलन गरेर भए पनि छोराको उपचार गराउनुपर्ने सुझाव दिए ।
उदयपुर अस्पताललाई अग्निपीडित र हाडजोर्नी, मुटु, बाल, दाँत, नाक–कान–घाँटीलगायत सबै खाले बिरामीको उपचारथलो बनाउन स्तरोन्नति कार्य अघि बढाउने योजना रहेको परियारले बताएका छन् । जिल्लाकै अस्पतालमा सबैखाले उपचारको सेवा विस्तार गर्नेगरी ३ सय शैय्यामा स्तरोन्नति गर्न अस्पताल विकास समितिले संघीय सरकार र प्रदेश मन्त्रालयमा योजनासमेत पेश गरिसकेको परियारले बताएका छन् ।

तपाईको प्रतिक्रिया