उदयपुर । आन्तरिक राजस्व करदाता सेवा कार्यालय गाईघाटले चालु आर्थिक वर्षमा ६ महिना मै ३४ करोड बढी कर संकलन गरेको छ । कार्यालयले लक्ष्य भन्दा बढी कर उठाउने योजना अनुरुप चालु आर्थिकको पौष मसान्त सम्म ३४ करोड २ लाख २४ हजार २०४ रुपैया ७५ पैसा कर संकलन गरेको छ ।
गत आर्थिक वर्षको पौष मसान्तसम्मा १६ करोड ४९ लाख ९३ हजार २९ रुपैया ४३ पैसा कर संकलन गरेपनि चालु आवको ६ महिनामा १७ करोड ५२ लाख बढी रकम संकलन भएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले जानकारी दिए । उनका अनुसार चालु आवको पौष महिनामा मात्रै ११ करोड ९० लाख ३१ हजार ४ सय ७२ रुपैया ४४ पैसा कर संकलन भएको छ ।
उनका अनुसार आय कर वापत १२ करोड ५५ लाख ८३ हजार १७३ रुपैया, बहाल कर वापत ५८ लाख ४७ हजार ५९२ रुपैया ४६ पैसा, व्याज कर वापत ३९ लाख १२ हजार ४७७ रुपैया ५२ पैसा, मूल्य अभिवृधि वापत १९ करोड १० लाख ११९ रुपैया ७७ पैसा, अन्तः शुल्क वापत १ करोड ३५ लाख ३१ हजार ६१४ रुपैया, स्वास्थ्य सेवा शुल्क वापत १२ हजार ११४ रुपैया र शिक्षा सेवा शुल्क वापत ३ लाख ३७ हजार ११४ रुपैया कर संकलन भएको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिए ।
उदयपुरमा आयकरमा १० हजार ३ सय ९२ व्यवसाय दर्ता रहेका छन भने मुल्य अभिवृद्धि करमा एक हजार ३ सय ३० व्यवसाय दर्ता रहेको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १३ हजार ७ सय ९० रहेको जानकारी दिए । उनका अनुसार यस वर्षबाट केही संघ संस्था तथा सरकारी कर्मचारीलाई व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य गरेपछि बढेको बताए ।
यस्त अन्तःशुल्कमा एक हजार ६० व्यवसाय दर्ता रहेका छन् भने भुक्तानीमा कर कट्टी गर्ने संख्या ३२ रहेका छन् ।
कर कार्यालय र करदाता बिचको सम्बन्धलाई प्रगाढ बनाउन जनचेतना मुलक अभियान चलाउने लगायतका कार्यले करमा उल्लेखनीय वृद्धि भएको बुढाथोकीले बताए । ‘कर कार्यालय र करदाता बिचको भ्रमलाई चिर्न हामीले बिभिन्न अभियान चलाउँदै आएका छौं ।’ कार्यालय प्रमुख बुढाथोकी भने, ‘कर कार्यालय र करदाता भनेको नङ र मासुको जस्तो सम्बन्ध बनाउने हाम्रो उद्देश्य हो ।’









