जयराम पूर्बछाने मगर, उदयपुर । ‘सफा मन, आफ्नोपनः अवश्य गरौं बेलका भ्रमण’ भन्ने नाराका साथ उदयपुरको बेलका नगरपालिकाले भिजिट बेलका २०२० कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पर्यटन विकास समितिले बुधबार बेलका–८, सोमबारेमा भव्य कार्यक्रम गरी बेलका भ्रमण वर्षको आरम्भ गरेको हो ।
कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्काउने झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रमस्थलमा बेलका नगरपालिकामा उत्पादित हस्तनिर्मित सामाग्री, खानेकुरालगायतका स्टल राखिएको थियो । यसैगरी प्याराग्लाइडिङ पनि सञ्चालन गरियो । औपचारिक कार्यक्रमपछि गायक यश कुमार, मोडल सारा श्रेष्ठ तथा स्थानीय कलाकारहरुले प्रस्तुतिमा सहभागिहरु रमाएका थिए ।
झण्डै ३ हजार मान्छेकाबीच नगरप्रमुख दुर्गाकुमार थापा ‘स्वस्ति’ले रिबन काटेर भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गरे । नगरप्रमुख थापाले आन्तरिकसँगै बाह्य पर्यटकको ध्यानाकर्षण गर्न कार्यक्रम सुरु गरिएको बताए । ‘बेलका एउटा सुन्दर पर्यटकीय नगरपालिका हो,’ थापाले भने, ‘यहाँका सुन्दर झरना, वनजंगल, चुरे क्षेत्र, अर्ना, दुर्लभ चराको प्रचारप्रसारमा यो कार्यक्रम लक्षित हुनेछ ।’
कार्यक्रमलाई प्रभावकारी बनाएर नेपाल भित्रिने बाह्य पर्यटकलाई पनि बेलका ल्याउने योजना उनले सुनाए । ‘हाम्रो नगरपालिकालाई सबैले चिनुन्, घुम्न आउन्, स्मरणमा राखुन् भनेर हामीले भिजिट बेलका कार्यक्रम सुरु गरेका हौं,’ नगरप्रमुख थापाले भने, ‘नेपाल भ्रमण गर्न आउने विदेशीलाई पनि हामी बेलका ल्याउन सक्छौं, हाम्रो यो योजना सफल हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्छ ।’
बेलका भ्रमण वर्ष ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पमा सहयोग र्पुयाउने तथा बेलका नगरपालिका र यहाँका नगरवासीलाई समुन्नत बनाउने आफ्नो अभियानकै एउटा पाटो रहेको उनको भनाइ थियो ।
१ नम्बरका प्रदेश सांसद विमल कार्कीले बेलका नगरपालिका पूर्वकै सुन्दर पर्यटकीय नगरी भएको दाबी गरे । ‘यो नगरपालिकाले पर्यटनमा ठूलो सम्भावना बोकेको छ,’ उनले भने, ‘पोखरामा धेरै ठूलो प्रयासपछि प्याराग्लाइडिङ सफल भयो, बेलकामा एकैपटकमा सफल भएको छ ।’ उनले सांस्कृतिकसँगै भौगोलिक र पर्यावरणीय रूपमा पनि बेलका नगरपालिका सुन्दर रहेको बताए । उनले वडन नम्बर ७को कोहलुङ झरना लगायतका स्थानहरु पर्यटनका लागि उपयुुक्त गन्तव्य बन्ने बताए ।
कार्यक्रम संयोजक तथा पर्यटन विकास समितिका सहसंयोजक रमण भट्टराईले खेल र कृषि पर्यटनमा बेलका नगरपालिका धेरै अगाडि रहेको बताए । बेलका घुम्न आउने पर्यटकले सुन्दर पर्यटकीय स्थलको अवलोकनसँगै प्याराग्लाइडिङ, सप्तकोशीमा क्याम्पफायरर्, याफ्टिङको मजा लिन पाउने उनको भनाइ छ । ‘अहिलेसम्म प्रचारको अभावले हाम्रो नगरपालिका बत्तीमुनिको अँध्यारोमा थियो,’ भट्टराईले भने, ‘आजको कार्यक्रमसँगै अब बेलकाको पर्यटनले एउटा गति लिनेछ, यो नगरपालिकालाई एउटा पर्यटकीय नगरको रूपमा हामी विकास गर्नेछौं ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटीका अध्यक्ष मनोज तामाङले प्राकृतिक दृश्यावलोकनसँगै शास्त्रीय अनुसन्धानकर्ताका लागि बेलका नगरपालिका अध्ययनको एउटा केन्द्र भएको बताए । ‘बेलका नगरपालिका ऐतिहासिक विशेषता बोकेको नगरपालिका हो, सुनखानी, मुक्तिनाथ, कोशी टापुलगायतका क्षेत्र त अध्येताहरूका महत्त्वपूर्ण स्थान हुन्,’ अध्यक्ष तामाङले भने । उनले एक पटक बेलका भ्रमण गर्न सबैलाई आग्रह पनि गरे ।
करिब ५५ हजार जनसंख्या रहेको बेलका नगरपालिका उदयपुरको पूर्वीभेगमा अवस्थित जिल्लाकै कान्छो नगरपालिका हो । कार्यक्रम स्थलमा बेलका नगरपालिकाले तयार पारेको पर्यटक विशेष आकर्षक १८ स्थानका भिडियो समेत प्रस्तुत गरिएको छ । कोलोहाङ र वासिराङ झर्ना, वासिराङ दह, भूतिया तह, बालबाटिका बगैंचा, टंकेला गुफा, बेलका हाइट, महांकाल मन्दिर, कोशी टप्पु, सप्तकोशी नदी, ऐतिहासिक मैनाराजा मैनारानी, बेलकाराजा बेलकारानी, सुनखानी सुगाचरि भिर, सितारानि भिर, भौडा देवि मन्दिर आदि यो नगरपालिकाका पर्यटकीय स्थल हुन् ।
कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्काउने मगर, राई, थारु, थामि लगायतका झाँकी प्रस्तुत गरिएको थियो । साथै लोप उन्मुख वालन, सङगिनिलाई पनि प्रस्तुत गरिएको छ । कार्यक्रमस्थलमा बेलका नगरपालिकामा उत्पादित हस्तनिर्मित बाँस लगायतका सामाग्री, घुगि लगायतका खानेकुराका स्टल राखिएको थियो । यसैगरी प्याराग्लाइडिङ पनि सञ्चालन गरियको छ ।











