उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले जिपीएस प्रविधिबाट ऐलानी जग्गाको नाप जाँच कार्य थालनी गरेको छ । नगरपालिका क्षेत्रको ऐलानी जग्गा विवरण संकलन कार्यका लागि मङ्गलबारदेखि नाँपजाँच सुरुवात गरेको हो ।
नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको शुरुवाती गरेको हो । नाँपचाँच गरी विवरण संकलनपछि चासभोग गर्नेलाई सो जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ । 
नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप यस्तो कार्य थालनी गरिएको मेयर बलदेव चौधरीले बताए । मेयर चौधरीका अनुसार वडा नं. ६ देखि थालिएको कार्यलाई १६ वटै वडामा विस्तार गरिनेछ । कामको प्रभावकारिता र पारदर्शिताका लागि ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशन समिति नै बनाइएको छ ।
नगरपालिका क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी, प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले चासभोगका आधारमा फारम भर्न निवेदन माग यस अघि गरिएकामा करिब १९ हजारले निवेदन दिएको मेयर चौधरीले बताए ।
जग्गा नापजाँचका लागि आधुनिक मेसिन, टोटल स्टेशन मेसिन प्रयोग गर्ने जनाइएको छ । त्यस्ता मेसिन हाल नगरपालिकामा दुईवटा रहेका छन् । भएका दुई मेसिनले वडा नं. ६ र वडा नं. १ देखि नाँप जाँचको काम थाल्ने र अन्य थप दुईवटा मेसिन किनेर सबै वडामा तीन महिनाभित्रमा नाँपजाँच गरी ऐलानी जग्गाको विवरण निकाल्ने कार्य गरिने मेयर चौधरीले बताए । विवरण संकलन लगत्तै नगरबासीलाई स्वमित्व दिने काममा नगरपालिका लाग्ने, ढिलोमा डेड वर्षभित्रमा नागरिकलाई स्वमित्व दिने काम पुरा गर्ने मेयर चौधरीले बताए ।
यस कामलाई पूरा गर्न अझै पनि प्रदेश र संघबाट नीति, निर्देशन र अधिकार प्राप्त गर्न आवश्यक रहेकाले त्यो प्राप्तीका लागि नगरबासीको साथ र सहयोग आवश्यक परेमा माग्ने मेयर चौधरीले बताए । “हामी दृढताका साथ नगरबासीको आवश्यकता र चाहना अनुरुप यो काम थालेका छौं, विवादरहित बनाउन र आवश्यक परे संघ र प्रदेशमा जनमत देखाउन नगरबासीको सहयोग माग्नेछौं ।” मेयर चौधरीले भने, “नगरबासीको पूर्ण सहयोग मिल्नेछ भन्नेमा म विश्वस्त छु ।”
ऐलानी जग्गामा सदियौंदेखि जग्गाको चासभोग रहनुका साथै लाखौ खर्चेर घर बनाएर बसिरहेका भएपनि स्वमित्वको सामान्य निस्सा प्रमाणसम्म नरहेको समस्या धेरै छन् । त्यस्तो ठाउँमा नगरपालिकाले बस्ती उठाउँन पनि नसक्ने र राजस्व पनि उठाउन नसक्ने समस्या छ । नागरिकको बसोबासीको अधिकार, जग्गा स्वमित्व पाउने अधिकारलाई सम्मान गर्दै हाल ऐलानी जग्गाको विवरण संकलन गरी स्वमित्व दिने कामसम्मको प्रक्रिया थालिएको मेयर चौधरीले बताए ।









