उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका शाहीखोला बस्तीमा गएरातिदेखि फैलिएका अचानाकको झाडा–वान्ता प्रकोपले दर्जनबढी बिरामी परेका छन् । त्रियुगा नगरपालिका १६ मा पर्ने शाही खोलामा झाडापाखाको विरामी १५ जना पुगेको छ ।
बिरामी पर्नेहरु एकाघरका ६ जनासम्म रहेको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राईले बताए ।
वडाध्यक्ष राईका अनुसार बिहीबार विहान ६९ वर्षीय नरेन्द्र कार्कीबाट सुरु भएको झाडा–पखाला र रगत छाद्ने बिरामीको प्रकोप देखा परेको छ । उनका छोरा ५० वर्षीय पुष्पराज कार्की, बुहारी ४० वर्षीया नरमाया कार्की र नातिनी २१ वर्षीया रञ्जु कार्कीसम्मलाई गाँजेको छ । यस्तै भुपध्वज कार्की, टीका कार्की, मुना कार्की, रेवती कार्कीलाई पनि रोगले च्यापेको छ ।
त्यस्तै छिमेकी ४५ वर्षीय गणेश बुढाथोकीको परिवारमा पनि ३ जना झाडा–वान्ता र रगत छाद्ने रोेगले ग्रस्त पारेको छ । बुढाथोकी परिवारका ४७ वर्षीया पवित्रा बुढाथोकी र २६ वर्षीय ध्रुब बुढाथोकीलाई पनि त्यस्तै झाडा–वान्ताले सताएको छ । त्यसैगरी गाउँकै ६० वर्षीया ढुण्डीमाया पौडेल, ७१ वर्षीय देवीप्रसाद पोखरेल, ६५ वर्षीया कमला पोखरेल, १४ वर्षीय नावराज खड्का, मनमाया बस्नेतमा पनि उस्तै बिरामी देखिएको छ । गाउँकै दैयाको आमा भन्ने नाम र उमेर नखुलेकी एक महिलालाई पनि भर्खर त्यस्तैखाले व्यथा लागेर अस्पताल ल्याउने तयारी भईरहेको अध्यक्ष राईले बताए ।
अहिले १३ जना मध्ये २ जना बालबालिकाको उपचार भईरहेको छ भने अन्य त्यस्तै झाडा–वान्ताका बिरामी थपिदै गएको वडाध्यक्ष राईले बताए ।
एकै परिवारका सदस्यलाई एकैखाले बिरामीले हुनुमा खानामा विषालु पदार्थ परेको हुनसक्ने अनुमान अस्पतालले गरेको छ । अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले यस्तो सामूहिक बिरामीको कारण खानामा विषालु पदार्थ (फुड प्वाईजन) भएर हुन्छ या पानीमा फोहोर भएर हुनसक्ने बताए । बिरामी सबैको स्वास्थ्य परीक्षण गर्दा फुडप्वाईजन नदेखिएको हुनाले खानेपानीको मुहान फोहोर भएर प्रकोप फैलिएको हुनसक्ने आशंका डा. मण्डलले गरे । उनीहरु सबैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
यस्तै शाहीखोला खानेपानी तथा सरसफाई आयोजना र टुवेल मध्येको एकबाट झाडा पाखाला जिवाणु सरेको हुनसक्ने अनुमान गरिएको छ । खानेपानी चेकजाँचको लागि डिभिजिन खानेपानी तथा सरसफाई कार्यालय उदयपुर र खानेपानी तथा ढल निकास आयोजना विराटनगरलाई पनि पानी जाँचको लागि त्रियुगा नगरपालिकाबाट पत्रचार गरिएको वडाध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया