उदयपुर / सानो त्यो पनि बाँसको टाटीले बेरेर, माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घाम, पानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका ५ श्रीपुरको जंगल नजिक देखिन्छ । त्यहीँ घर भित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, वाहिर दलानमा कहिले त्यहीँ नावालककी आमा त कहिले हजुर आमा मुर्छित हुँदै विउँझन्छन् ।
दुबै आमाको भाव त्यो नावालकको माग अव कहिले पुरा नहुने गरी अस्तायो, कमाउन गएको छोरो १० महिनामा बाकसमा भरिएर आउँदा कसको मनले थेग्ला । यो विपत्तिको सिकार त्यो परिवारमा छ, जसबाट ७ जनाको परिवार आश्रित थियो । सबैका आशाका केन्द्रविन्दु नै ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर मगरका परिवार शोकमा मात्र छैनन्, यसपछि गुजारा कसरी चलाउने भन्ने चिन्तामा छन् ।
२६ बर्षको लक्का जवान छोरा जसले सात समुन्द्र पारीको प्रदेशको भुमिमा प्रचण्ड घामको वेवास्ता गर्दै दुःख गरेर घरमा पैसा पठाउला र बाँडीचुडीँ खाउला, अलिक हेर्न हुने भएपनि घर बनाउला, स्वास्थ्य उपचार गरौला र भाई, वहिनी, छोराको शिक्षामा लगानी गरौला भन्ने सोच बनाएका मगर परिवारको त्यो कल्पना अब सपनामा मात्रै सिमित हुने भयो ।
१० महिना अघि काठमाण्डौँको ग्लोवल मेनपावरबाट लेवर काम गर्न मलेसिया पुगेका रतन मगरको दशैको टिकाको दिन मृत्युको खवर आएपछि त्यो परिवार यतिबेला बिछिप्त छ । दशैको टिकाको दिन विदेशमा बसेको छोराले फोन गर्ला भन्ने परिवार आशा गरिरहेका थिए, त्यो स्वभाविक पनि थियो, स्वदेशमै हुँदा त चाड वाँडको बेला घरमा आउन नसक्दा फोनबाट दुःख सुखका कुरा हुन्छ । झन विदेशमा रहेकाको नहुने कुरै भएन् ।
कति बेला बुढाको फोन आउला र खुसी साटासाट गर्दै सबै कुरा गरौला भन्ने सोचमा रतनकी २३ बर्षीया श्रीमती मिना थिईन् । त्यसो त उनी मात्र हैनन् उनकी ५५ बर्षीया सासु आमा मंगलीमाया मगरको पनि त्यहीँ सोच थियो । टिकाको दिन छोरासँग कुरा गरौला भन्ने उनको चाहाना थियो । उनीसँगै परिवारका अन्य सदस्यको चाहाना पनि उहीँ थियो । तर, त्यो चाहाना पुरा हुन सकेन ।
टिकाको समय सुरु हुँदैगर्दा मिनाको मोवाईलमा टिनीनी बजेको घण्टी उनीहरुका लागि बलेको दियो एक्कासी निभे जस्तो भयो । रतनको एक्कासी मृत्युको खवर आउँदा सुरुमा त पत्यार लागेन, तर नलाग्दा नलाग्दै पनि घरमा कोलाहल मच्चियो, जव पुष्टि भयो त्यतिबेलासम्म आमा र श्रीमती मुर्छित भईसकेका थिए ।
‘तलव लिई नसकेकाले दशै लगत्तै केहि पैसा पठाउला अहिले जसो तसो ऋण खोजेर भए पनि टार्दै गर्नु, चाडवाँडमा मिठोमसिनो नै खानु, परिवारलाई एकसरो कपडा फेर्दिनु आमा भनेर बिदा मागेको छोरा एक हप्ता बित्न नपाउँदै यस्तो दुःखद खवर सुन्नु पर्यो,’ गहँभरी आशु झार्दै आमा मगंलीले भनिन्, ‘कमाउने छोराको यो हालत भयो, अब हामी कसको साहाराबाट बाँच्नु । दलानमा बसेका ६० बर्षीया बृद्ध अशक्त बुढा, बुहारी, एक नाती, एक सानो छोरा र दुई सानी छोरी पट्टी फर्कदै भनिन्, अव यिनीहरुको हालत के हुन्छ, कसले पढाई खर्च जुटाई देला र पालन पोषण गरिदिन्छ, बाकस भरी पैसा लिन परदेशिएका छोरा आफै बाकसमा आएपछि…’
त्यसो त भर्खर २३ वटा बसन्त पार गरेकी रतनकी श्रीमती मिनाको व्यथा पनि उस्तै छ । आधाभन्दा बढि जीवन व्यतित गर्न बाँकी रहेकी मिना ३ बर्षका छोरो काखमा लिदै भन्छिन्, ‘राम्रोसँग वुवा पनि भन्न नपाई टुहुरो हुनु पर्यो, के गर्नु यसको भाग्यमा नै बुवा भन्ने नाता यती नै रहेछ, अव यसको पालनपोषण र शिक्षा दिक्षा कसले गर्देला र ?’ प्रश्न गरिन् । त्यसअघि उनी थप्छिन्, ‘आफु त जसो तसो बाचौला, कहिले खाउला कहिले भोकै रात विताउला तर यो बच्चालाई कसरी जीउने बनाउनु ।’
साक्षर मात्र रहेकी मिनासँग न कुनै कामको शिप छ, न शैक्षिक योग्यता, केवल मजदुरी काम गर्ने वाहेक उनीमा अरु केहि छैन्, त्यो पनि ३ बर्षको नानी छोडेर कहाँ जानु । साहुँको ऋण काटेर सबै गरी एक लाख ७० हजार रुपिँया खर्च गरेर विदेशिएको छोरो ऋण तिर्न नपाई ज्यान गुमाएपछि मगर परिवार यतिबेला संकटमा छ ।
वुवा सार्कीबहादुर मगर गालामा हात राख्दै भन्छन्, ‘न छोरो जीउँदो रह्यो न ऋण नै तिर्न सक्यो, के गरी यतिका साहुँको ऋण तिर्नु ?’ ‘छोरो बाचेको भए त विस्तारै तिथ्र्यो अव त बोटै मासिएपछि के गरी ऋण तिर्नु,’ निकै विछप्त देखिएका मगर भन्छन्, ‘सम्पतीको नाममा जंगल छेउमा यहीँ झुप्रो रहेको १ कठ्ठा जति ऐलानी बारी छ, त्यो पनि साँहुले उठाई दियो भने सुकुम्बासी बन्छौ ।’
मंगली भन्छिन्, ‘१० महिनामा एक लाख जति पठायो होला त्यो, घर व्यवहार, उपचार, छोराछोरीको पढाई लेखाईमा नै सकियो, ऋण त डल्लै छ, कसरी तिर्ने ।’ बुढेसकाल लाग्यो, बुवा आमा केही गर्न सक्नु हुन्न, घरको हेरचाहा गर्नु म कमाएर पठाउँछु त्यसैले जीवन चलाउला भन्थ्यो, छोराको त्यो भनाई सम्झदै धुरु धुरु रुदै गरेकी मंगली भन्छिन्, ‘बुढेसकालमा दुःख दिन्न भन्थ्यो, आफै नै ढल्यो, यस्तै रहेछ दुखियालाई ।’
बैदेशिक रोजगार सम्बन्धि केहि जानकारी नभएको बताउने मगर परिवार यति बेला सहयोगको अपेक्षा गरिरहेकाछन् । विमा भए नभएको केही जानकारी नभएका मगर परिवार, आशाको केन्द्र त ढले पनि कहीँ कतैबाट सहयोग पाए साना नानीहरुको पढन् वातावरण बन्ने आशामा छन् । मगरका ६ वहिनी छोरी मध्ये चार वटी विवाह भएर गईसकेको बाँकी दुई वहीनी र एक भाई गाउँको सामुदायिक बिद्यालयमा पढ्दै छन् ।