उदयपुर । दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समा चकेवा कात्तिक पूर्णिमासम्म हर्षउल्लासका साथ मनाएर आज विर्सजन गरिँदैछ ।
गोबर्धन पूजादेखि कात्तिक पूर्णिमासम्मको अवधिमा मनाइने यो पर्व विशेषगरी तराईका जिल्ला विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने थारु मूलकी अविवाहित किशोरीले मनाउने गर्दछन् । सामा चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदी बहिनीहरुले गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई भूईमै सेलाएर चुगला र वृदावनलाई पूर्णरुपमा जलाई खेतमा गाडि दाजु–भाईलाई मिठो परिकार खुवाई नदी, तलाउ तथा पोखरीमा सेलाउने चलन छ । खासगरी तराई क्षेत्रका सम्पूर्ण भु–भागमा हर्षोउल्लासका साथ मनाईने पौराणिक लोकपर्व ‘सामा–चकेवा’लाई मिथिलाञ्चलका चेलिबेटीले महापर्वको रुपमा लिन्छन् । ‘सामा–चकेवा’ बहिनी र भाईको आपसी प्रेम, स्नेह र सदभावमा आधारित पर्व हो ।
कात्तिक शुक्ल द्वितिया तिथिदेखि सुरु भएको यो पर्व कात्तिक पूर्णिमाको मध्यरात्रिसम्म थारु समुदायका दिदीबहिनीहरु प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, कीर्तनभजन गर्दै होर्षोल्लासका साथ मनाइरहका छन् ।
कात्तिक पूर्णिमासम्म नियमित दाजुभाई हुने र नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ । यो पर्वको मर्म भनेकै दाजुभाइसँग दिदी बहिनीले प्रेम, स्नेह र सद्भाव साटासाट गर्दै मनाइन्छ ।
राति खाना खाइसकेर एउटा बाँसको चोयाबाट निर्मीत डालोमा सामा (बहिनी), चकेवा (भाई), चुगला (कुरौटे), वृदावन (झगडिया) र सात भाईको माटाको मुर्ति बनाएर त्यसमा दियो बालि समुहमा घरको आँगनमा वा बाटोमा गई ध्यानमग्न भई दिदीबहिनीहरुले सुरिलो स्वरमा गीत गाउँने गर्छिन । गीत गाएर चेलीबेटीले दुवो र चामल लिएर डालोमा भएको सबै मुर्तिहरु माथि छर्कन्छन । यसरी हाँसो ठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो चाडमा सामा र चकेवाबीचको प्रेम र स्नेहलाई भताभुङ पार्न खोज्ने आरोप लगाउँदै चुगला र वृदावनलाई खरना देखि पूर्णिमासम्म गीत गाउँदै त्यसको भोली पल्ट जलाईन्छ ।
परम्पराअनुसार अन्तिम गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई भसाईन्छ भने चुगला र वृदावनलाई पूर्णरुपमा जलाएर खेतमा गाडिन्छ ।
पर्वको अन्तिम दिन पूर्णिमाको रातमा उक्त मूर्तिहरूलाई परम्परागत गीत गाउँदै फुटाउँछन् । अनि गाउँ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगी सेलाएर आफ्ना दाजुभाइहरूलाई मिठाई पकवान्न आदि खुवाएर यो पर्व विधिवत रूपमा सम्पन्न गरेका छन् । समा चकेवाको थारु भाषामा डगहर अर्थात गाउँ डुल्ने दिन घरघरै अन्न, नगद उपहार लिने र पर्वको अन्तिम दिन उक्त जम्मा भएको अन्नपात र रकमको गाउँभरिका मान्यजन र इष्टमित्रलाई एकत्रित गरेर भोजभतेर खाने खुवाउने चलन रहिआएको छ ।‘मूर्ति सेलाउने दिन किशोरीहरूले आ–आफ्नो अभिभावकबाट संकलन गरेको भेटीलाई एकत्रित गरी त्यसबाट दूध, चिनी, तरकारीको परिकार खरिद गरेर भोज भतेर खाने चलन छ,’ समाजसेवी रामवती चौधरीले बताईन् ।
उक्त अवसरमा नाचगान गरेर मनोरञ्जन गर्ने चलनसमेत रहेको छ । यस पर्वको अवसरमा उदयपुरका थारु समुदायका अधिकांश गाउँमा आर्केस्ट, लवण्डा नाच, बेहुलाको नाच, ड्रामाको आयोजना गरिएको थियो ।