उदयपुर / थारु समुदाय तथा मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो ।

यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ ।
भगवान कृष्णकी छोरीको नाम सामा थियो। आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो। तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो ।
यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गरिन्छ । ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महशुस गर्न थालिएको छ ।

भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्ण समक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए । सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गरे। भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, झुठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङले रङग्याइन्छ ।
यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आफुलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।
के छ सामा चकेवामा
सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन्। दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ। त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ। सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरुले मनोरञ्जन गर्दछन्।
छठको खरना वा पारणदेखि मैथिल ललना माटोको आकृति बनाइ राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन्।
परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ। चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन्। यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ। यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ।
यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन्। सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन्। मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन्। यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन्। डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्वाद बोल्छन्।
कथा तत्व
मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ। यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ। यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ। भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ।
स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा (सामा) र चकेवा पतिपत्नी हुन्। श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा)। चारूवक्य आश्रममा वस्दथे। श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे। कृष्ण रिसाएर श्राप दिई चरा बनाइ दिए। भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले। बुवासँग अनुनय विनय गरे। केही सीप लागेन। अनि तपस्या शुरू गरे। कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए। त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ।
चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे। चरा भएकी पत्नी सामासँग वस्न थाले। त्यसै क्रममा उनीहरूको वास रहेको वृन्दावनमा विरोधीले आगो लगाए। उठीवास गर्न धेरै प्रयत्न गरे तर अन्ततःआफ्नो तपस्या र पराक्रमले उनीहरू पुनःमानवरूपमा अवतरण भएको आख्यान रहेको छ।
केही गीत
यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ। मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ।
समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ। कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ।
महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन् :
डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी ,,,,,,,।
भाइ र उनका परिवारजनको मङ्गल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ। यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ :
सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा
लागि गेल पनमा दुकान,,,,,,,,,,,।
जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट (जुट) मा दाहिने आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछिन् :
धान –धान–धान , भइया कोठी धान
चुगला कोठी भु्स्सा।।।।।।।
प्रतीकात्मकरूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्नै काम गरिएको छ।
सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन्। वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ :
वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडि –दौडि मिझाबे हे,,,,,,,,,,।
सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ :
सामचको, सामचको अइह हे
जोतल खेतमे बइसिह हे,,,,,,,,,।
पूर्णिमा का दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु हे भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन रहेको छ।









