उदयपुर । उदयपुरमा चार दिन अघि वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि दसैंका लागि आवत जावत गर्न समस्या भएको हो । वर्षाले पहाडी क्षेत्रका सडक अवरुद्ध भएपछि दशैंका खाद्यन्न ढुवानीमा समस्या भएका हुन् ।
पहाडी क्षेत्रका लिम्चङवुङ, ताप्ली, रौतामाई र उदयपुरगढि गाउँपालिकाका अधिकांस सडक अवरुद्ध भएका छन् । ती गाँउपालिकालाई सदरमुकाम गाईघाट र कटारी बजारसँग जोड्ने सडक अवरुद्ध हुँदा समस्या भएको हो ।
असार अन्तिम साताको वर्षातसँगैको पहिरोले अवरुद्ध भएको सडक लाखौँ खर्चेर पुन सञ्चालन गरिएको थियो । तर सातायता आएको वर्षाले पुनः पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको छ । सडक अवरुद्ध हुँदा दसैंका लागि आवश्यक पर्ने उपभोग्य वस्तुको आयतमा समेत समस्या भएको स्थानीयले बताए ।
सिद्धिचरण र सगरमाथा राजर्मागमा ठाँउ ठाउँ सडक अवरुद्ध हुँदा खोटाङ र ओखलढुंगाका लागि सवारी आवगमनमा समसया भएको छ । पहिरो जाने क्रम बढेसँगै माथिल्लो पहाडी क्षेत्रमा सवारी साधन सचालन हुन सकेका छैन ।
निर्माणधीन मदन भण्डारी राजर्मागमा पर्ने खोलामा पुल बनिनसक्दा यो राजर्मागमापनि सवारी साधन सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ग्रामीण सडक अवरुद्ध हुँदा दसैंका लागि विभिन्न स्थानबाट घर जान हिँडेका सर्वसाधरण दुई दिनयता कटारी र गाईघाट बजारमै रोकिएका छन् ।सडक अवरुद्ध हुँदा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु पठाउन समस्या भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका महासचिव जमानसिंह बस्नेतले बताए ।
कटारी नगरपालिकको बेतेनीदेखि ताप्ली गाँउपालिकको विभिन्न क्षेत्रलाई जोडने सडकमा पहिरोले सवारी साधन सञ्चालनमा कठिनाई छ । त्यसैगरी रौतामाई गाँउपालिकको मुर्कुची हुँदै लिम्चुङबु हुँदै खोटाङको हलेसी जोड्ने सडकको ठाँउ ठाउँमा पहिरो जाँदा सवारी आवगमनमा कठिनाई भएको लिम्चुङबु गाँउपालिका प्रमुख मेजर राईले बताए ।
अझै दुईरचार दिन यस्तै अवस्था रहने हो र वर्षात नरोकिए पहाडी क्षेत्रमा दसैंको समयमा भोकमारी लाग्ने सम्भावना रहेको स्थानीयले बताए । खडेरीका करण गत वर्षको हिउँदे बाली मकै, कोदो, गहुँ उत्पादन भएको थिएन । अहिले लगाएको धानबाली, कोदो , फापर तयारी हुने समय नभएकाले सहरबाट आयत गरेर खाद्यन्नको जोहो गर्नुपर्ने अवस्था यस क्षेत्रमा छ । खाद्यन्न जोहो गर्ने समयमा सडक नै अवरुद्ध भएपछि समस्या भएको दुर्गमका सर्वसाधरणले गुनासो गरेका छन् ।
‘डोकोमा बोकेर खाद्यन्य आपूर्ति गर्ने अवस्थापनि छैन’ रौतामाई गाँउपालिका – ६ नामनताका गंगा रानामगरले भने, ‘सहरबाट खाद्यन्न लगायतका वस्तु आयतमा समस्या छ, यताबाट खसीबोका लगेर बिक्री गर्नपनि सकिएको छैन ।’

तपाईको प्रतिक्रिया