उदयपुर । एउटा भनाई छ ‘एक वर्षको लगानी गर्ने हो भने अन्नबाली लगाउनुस्, २० वर्षको लागि लगानी गर्ने हो भने रुख रोप्नु र पुस्तौ पुस्ताको लगानी गर्ने हो भने शिक्षा दिनुस् ।’ यस भनाईलाई चरितार्थ गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिका ६ का वडाध्यक्ष कमलध्वज राईले विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई पाठ्यपुस्तक सहित निःशुल्क कलम कापी पनि उपलब्ध गराउने उद्घोष गरेका छन् । वडा कार्यालयले वडा स्तरीय कार्यक्रम नै बनाएर वडा भित्रका सम्पूर्ण सरकारी विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यपुस्तक सहित कलम कापी पनि निःशुल्क उपलब्ध गराउने बजेट विनियोजन गरेको छ ।

किताव, कापी कलम अभावमा कति विद्यार्थीहरु बढाईबाट बञ्चित भैरहेको परिवेशमा यस वडाले यस्तो निर्णयमा पुगेको वडाध्यक्ष राईले बताए । “दैनिक रुपमा आफ्नो अभिभावकहरुलाई कलम कापीको नाममा बालबालिकाले खर्च माग्ने गरेको छ” वडाअध्यक्ष राईले भने “कति अभिभावकहरुसँग खर्च नहुने र खर्चको कारण बालबालिकाहरु पढाईबाट बञ्चित हुदै आएकाले यस्तो योजना ल्याउनु परेको हो ।” उनका अनुसार गरिवीको रेखामुनि रहेको वडाबासीको छोराछोरीलाई सहज रुपमा पठनपाठनको वातावरण बनाउन यस्तो योजना ल्याएको बताए । वडाध्यक्ष राईका अनुसार किताव, कलम र कापी जुनसुकै समयमै उपलब्ध गराउन सक्ने वातारण निर्माण गरिएको बताए । चालु आर्थिक वर्षबाट ल्याईएको योजना सान्दर्भिक र नेपालमै पहिलो भएको दावी गरेको छ् । हालसम्म कुनै पनि तहको सरकारले ल्याउन नसकेको नीति तथा योजना आफ्नो वडामा ल्याएको वडाअध्यक्ष राईले समेत बताए । वडा कार्यालयको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पूर्वाधार बिकासका योजनालाई पहिलो प्राथमिकता दिईएको वडाअध्यक्षले बताए ।
सुत्केरी आमालाई ५ हजार नगद
वडा कार्यालयको नीति तथा कार्यक्रममा मातृशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत सुत्केरी आमा तथा गर्भवति महिलाहरुलाई स्वास्थ्य सचेतना सन्देशसँगै निगरानी पनि बढाएको छ । आमा र शिशुको स्वास्थ्यलाई ख्याल गर्दै कुपोषणबाट बच्न÷बचाउन अभियान नै सञ्चालन गरेको छ । प्रोत्साहन स्वरुप प्रत्येक सुत्केरी आमालाई ५ हजार नगद समेत उपलब्ध गराउने कार्यक्रम रहेको वडाध्यक्ष राईले बताए । जसको उद्देश्य सुत्केरीसम्मका महिलाहरुलाई पोषिलो खानेकुरा प्रयाप्त मात्रामा खुवाउने लक्ष्य हो । यस्तै वडाको प्रत्येक टोल विकास संस्थाबाट एक÷एक जना महिलालाई स्वास्थ्य स्वंयम सेवकको तालिम दिईने व्यवस्था पनि गरेको छ ।
पूर्वाधारतर्फ आसलाग्दो योजना
पर्यटन प्रवद्र्धन गर्नको लागि चौदण्डीगढीको पौराणिक तथा ऐतिहासिक दरबारको भग्नालाई संरक्षणको लागि मदन भण्डारी लोकमार्ग स्थित निर्माणधिन शसस्त्र बेसक्याम आसपासमा भएको खाली जग्गामा संग्राहलय निर्माण गर्ने लक्ष्य वडा कार्यालयको रहेको वडाध्यक्ष राईले बताए । वडाभित्रै रहेको कुवाखानी पिक्निक स्पोर्टलाई थप आकर्षक र पर्यटकीय बनाउने लक्ष्य राखिएको छ । त्यसको लागि प्रदेश सरकारबाट ५० लाख र नगरपालिकाबाट १५ लाख बजेट विनियोजनको माग गरिएको वडाअध्यक्ष राईले बताए । उनका अनुसार त्यस पिकनिक स्पोर्टलाई पर्यटकीय क्षेत्र बनाउन सके स्थानीय बेरोजगारी युवाहरुलाई समेत रोजगारी बनाउन सकिने सम्भावना रहेको छ ।
यस्तै नगरपालिकाको केन्द्रको रुपमा रहेको बेल्टार बजारको सडकलाई कालो पत्रे र सडक आसपासका नालीहरुलाई व्यवस्थित गर्न चालु आर्थिक बर्षभित्रै निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
उनले आफ्नो वडा नगरपालिकाको केन्द्रको रुपमा रहेको भन्दै हरेक क्षेत्रमा प्रचुर सम्भावना बोकेकोले विगतमा सम्पन्न हुन बाँकी योजनाहरुलाई चालु आर्थिक वर्षमै सम्पन्न गर्ने बताए ।

तपाईको प्रतिक्रिया