उदयपुर / आज सोमबार थारु समुदायको महान पर्व जितियाको समापन गरिदैछ । जितिया सूर्यको छोरा जितमहान भगवानको पूजाअर्चना गरी समापन गरिँदैछ । ब्रतालु महिलाहरुले नदी या तलाउमा स्नान गरी खली र तेल चढाई सूर्यलाई अर्घ अर्पण गरि दिनभर रमाईलो र मिठो मसिनो खाएर यो पर्वको समापन गरिदैछ ।
हिन्दु नारीहरुले मनाउने हरितालिका तीजसँग मिल्दो जुल्दो चाड जितिया पर्व हो । शनिबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात राति दर खाने, आइतबार उपास अर्थात व्रत बस्ने र सोमबार पारन (बिसर्जन) गर्ने लाई खर जितिया अर्थात शुद्ध जितिया मानिन्छ । १४ वर्षपछि खर जितिया परेको छ । थारु समुदायमा जितिया प्रारम्भ गर्ने सुइध लागेपछि मात्रै गर्ने चलन छ । खर जितिया आइतबार वा मंगलबारको दिन उपवास परेको दिनलाई भनिन्छ । खासगरी महिलाहरू आआफ्ना सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् ।
थारु समुदायमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । विवाहित थारु महिलाहरुले जितमहान मन्दिरमा आई सन्तानको दिर्घ जीवनको कामना गर्दै जितिया मनाएका थिए भने अविवाहितहरुले राम्रो पति पाउँ भनी व्रत वसेर जितिया मनाएका थिए ।
किवदन्ती अनुसार उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिव्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खद जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन् थारु पण्डित बासुदेव चौधरीले बताए ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । थारु पण्डित बासुदेव चौधरीका अनुसार यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बचाउँछन् । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवगंत पितृलाई पिण्ड चढाएर यस पर्वको समापन गरिदैछ ।
यो पनि पढ्नुस्









