
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) धुमधामका साथ मनाउँदै छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले शनिबारबाट शुद्ध जितियाको शुरुवात भएको थियो ।
पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (आइतबार) वर्तालु महिला ३६ घण्टा लामो निराहार उपवास बसिरहेका छन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने आधुनिक तथा पौराणिक साँस्कृतिक नाच प्रतियोगिता भएको थियो ।
१४ वर्षपछि खर जितिया ‘शुद्ध जितिया’ मनाउँदै थारु महिलाहरु जितियाको उपासका दिन त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका थारु बस्तीहरुमा जितमहानको मूर्ति बनाई पुजाआजा गर्नुको साथै कथा प्रवचन सुनेर दाजुभाईले दिदी बहिनीलाई पोखरी तार्ने काम गरेको थियो ।
यस्तै त्रियुजा नगरपालिका ४ बगहा स्थित जितमहान मन्दिरमा जितमहानको मूर्ति प्रतिस्थापन गरी मन्दिरको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र देवी कुमारी चौधरीले संयुक्त रुपमा गरेको थियो ।
थारु कल्याणकारिणी सभा नगर कमिटीको आयोजनामा आइतबार बगहाको जितमहान मन्दिर परिसरमा जितिया महोत्सव मनाइएको थियो । महोत्सवको प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले थारु समुदाय छरिएर होइन एक जुट भएर जुन सुकै कार्यक्रम मनाउन आग्रह गरेका थिए । उनका अनुसार अवका वर्षहरुमा जितिया पर्वको दिन सार्वजनिक विदालाई निरन्तरता दिने बताए । महोत्सव आफ्नो सँस्कृती अनुसार विविध साँस्कृतिक कार्यक्रम गरि सम्पन्न गरिएको थियो ।
जनता उच्च मावि देउरीमा समेत १२ औं जितिया महोत्सवको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद डा. नारायण खड्काले शुभकामना दिँदै थारु समुदायको प्रमुख पर्वमा संघिय सरकारले सार्वजनिक विदा दिनु पर्ने बताएका थिए । उनका अनुसार थारु समुदायका जायज मुद्धालाई राज्यले सम्बोधन गर्दै जानु पर्ने बताए । कार्यक्रममा थारु राष्ट्रिय कलाकार प्रशुराम चौधरी, युवा गायक आरसी चौधरी लगायतका कलाकारको उपस्थिति रहेको थियो । कार्यक्रममा थारु पौराणिक र आधुनिक नृत्य प्रतियोगिता समेत संचालन भएको थियो । जनता मावि देउरीको प्राङ्गनमा भएको आधुनिक नृत्य प्रतियोगिताको प्रथम सुनसरी धमौराकी ज्योति चौधरी, द्वितिय जनजागरण युवा क्लब लक्ष्मीपुरका कलाकारहरु र तृतिय स्मृति युवा क्लब झोराका कलाकारहरु भएका थिए । प्रथम, द्वितिय र तृतियले नगद पुरस्कार क्रमश १० हजार, ७ हजार र ५ हजार र प्रमाणत्र प्राप्त गरेका थिए भने पौराणिक नृत्यमा नमुना थारु टोल विकास समिति खैजनपुर भएका थिए । सो टोलीले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।
फोटो फिचर


































