उदयपुर । उदयपुरमा दुई सामुदायिक वन उपभोक्ता समूहको १२ लाखको रकममा सभाहल निर्माण गरिएको छ । चौदण्डीगढी नगरपालिका ५ अन्तर्गतका शिव सामुदायिक वन उपभोक्ता समूह र मैनामैनी सामुदायिक वन उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण भएको सभा हलको एक कार्यक्रम विच उद्घाटन भएको थियो ।
दुवै सामुदायिक वनले संयुक्त रुपमा ३ कट्ठा जग्गा किनेर करिव २ सयको संख्यामा अट्न सक्ने सभा हलको निर्माण गरिएको शिव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कोकिलाल चौधरीले बताए । २०६२ सालमा स्थापना भएको सो सामुदायिक वनले उपभोक्तालाई उव्रेर बाँकी रहेको काठबाट समुह बाहिर विक्री वितरण गरेर सो सभा हलको निर्माण गरेको अध्यक्ष कोकिलाल चौधरीले बताए । पूर्व अध्यक्ष तथा हालका चौदण्डीगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष देव नारायण चौधरीको कार्यकालमा सो भवनको शिलान्यास गरेर निर्माण गरिएको मैनामैनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सरस्वती चौधरीले बताईन् । उनका अनुसार दुवै समूहको लगानी र जनश्रमदानबाट यो सभाहल निर्माण गरिएको बताईन् ।
उनका अनुसार यो सभा हल बहुउपयोगी हल हुने छ । यसले राजनीतिक कार्यक्रम, वडाको तालिम गोष्टी मात्रै नभएर कसैको विवाह, वर्तबन्धन, मर्दापर्दा लगायतका कार्यमा शुल्क वा निःशुल्क प्रयोग गर्न दिइनेछ । विपन्न वर्गले सभा हल प्रयोग गरेवापत विशेष छुटको व्यवस्था गरिनेछ । दुवै समुदाय गरी १ सय २८ घरधुरी रहेको सामुदायिक वनको क्षेत्रफल ३ सय ९० हेक्टरमा फैलिएको छ । दुवै सामुदायिक वनका उपभोक्ताहरु सतप्रतिशत थारु समुदायको रहेको अध्यक्ष सरस्वती चौधरीले बताईन् ।
डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर प्रसाद साहले एक कार्यक्रमका विच सभा हलको उद्घाटन गरेका थिए । सभा हलको उद्घाटनमा बोल्दै प्रमुख अतिथि साहले संस्थागत विकास एवं समूह सशक्तिकरण तर्फ उन्मुख भएकोमा उपभोक्ताहरुलाई बधाई दिएका थिए । प्रमुख अतिथि साहले वन संरक्षणमा ध्यान दिन आग्रह गर्दै वन अतिक्रमण नहुने दिन तर्फ सजग रहन सुझाव दिएका थिए । सभाहल उद्घाटन कार्यक्रममा महिला अधिकारकर्मी, छिमेकी सामुदायिक वनका पादाधिकारी तथा पूर्व पदाधिकारी लगायत १ सय जनाको उपस्थिति रहेको थियो ।









