सुखिलाल चौधरी, उदयपुर । त्रियुगा नगरपालिका १३ असारी घर भएका मिलन खतिवडा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीलाई प्राप्त प्रारम्भिक बयान अनुसार खतिवडाले थोरै समयमा धेरै पैसा कमाउने र उच्च महत्वकांक्षी जीवनशैली जिउने अभिलाषामा लागू औषध तस्कर कार्य गर्दै आएका थिए । प्रहरीले त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो स्पोजीभन १३ पत्ता, रेस्कोकफ डिएस ४ बोतल, नोफिन १० एम्पुल, डाइजल्याब १० एम्पुल, फेनरागन १० एम्पुल सहित पक्राउ परेको थियो । उनले कालिका अटो लिंक गाईघाटको बजाज शोरुममा ५ वर्ष काम गरेर आफ्नै मोटर साइकलको रिक्डिशन हाउस एक १ वर्ष अगाडी खोलेका थिए । रिक्डिशन हाउस चलाउँदा चलाउँदै उनी लागूऔषधको दुव्र्यसनीमा फसे । दुव्र्यसनीमा मात्रै फसेन बढी कमाउने लोभ जागेर आज उनी प्रहरी हिरासतमा पुगेका छन् ।
यस्तै साउन २७ त्रियुगा नगरपालिका ६ लालपत्ताबाट स.७.प. ८८०९ नम्बरको मोटरसाइकल सहित ठूलो परिमाणमा लागूऔषध सहित सिराहाको भगवानपुर गाउँपालिका २ का २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतोलाई पक्राउ परेको थियो । उनीहरुको साथबाट फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाइजोल्याप १ सय एम्पुल लागूऔषध बरामद भएको थियो । उनीहरु पनि चाँडै धनी बन्ने होडमा लागेकाले पक्राउ परेको प्रहरीले जनाएको छ ।
साउन २० गते त्रियुगा नगरपालिका ६ का २२ बर्षीय सुदिप परियारलाई जलजलेमा पक्राउ परेको थियो । उनको साथबाट लुपिजेसिक ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ परेको थियो ।
साउन ३ गते त्रियुगा नगरपालिका १३ स्थित असारी किराँत चोकमा लागू औषध सेवन गरिरहेको २२ वर्षिय रविन राई, १६ वर्षिय सुगम राई, २४ वर्षिय दिनेश दनुवार र १५ वर्षिय प्रदिप सुर्खेती पक्राउ परेको थियो । उनीहरुको साथबाट प्रहरीले फेनारगन १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल र १८ एम्पुल डाईजोल्याप १८ एम्पुल लागूऔषध बरामद गरेको थियो ।
माथि पक्राउ परेकाहरु उदाहरण मात्रै हुन् । पछिल्लो समय लागुऔषध कारोबारीको बिगबिगी डरलाग्दो गरि बढेको छ । देखासिखी कै लागि भनेपनि बिलासी र उच्च स्टाण्डरको जीवनशैली जिउने होड बढ्दो छ । यस्तै ‘होडबाजी’को कारण युवाशक्ती दैनानुदिन गलत बाटोमा लाग्ने गरेको प्रहरीको ठम्याईछ । उर्जाशिल युवा उमेर गैरकानुनी कार्यमा संङ्लग्न भएकै कारण युवाहरू हिरासत हुँदै जेल पुग्ने गरेका छन् । युवाहरूको गैरकानुनी कार्य लागुऔषधमा बढी देखिन्छ ।
चालु आर्थिक वर्षको एक महिना नपुग्दै जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा ३२ थुनुवाहरु मध्ये २५ जना लागुऔषध अपराधमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार नेपालमा प्रतिवन्धित औषधिहरु फेनारगन, नोर्फिन, डाइजोल्याप, लुपिजेसिक लगायतका ओसारपोसार र सेवनमा संलग्नता बढी पाईएको छ । यो तथ्यांक अनुसार उदयपुरमा लागूऔषध ओसारपसार तथा सेवन कर्ताको ट्रान्जिट बन्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको त्रिवर्षिय तथ्याङ्क (आर्थिक वर्ष २०७३÷७४,०७४÷७५ र ०७५÷७६) मा लागूऔषध ओसार पसार तथा सेवन कर्ता र व्यपारी गरी २ सय ८९ जना पक्राउ परेको छ । पक्राउ परेको मध्ये सवैभन्दा बढी १६ वर्षदेखि २० वर्षको उमेर समूहका १०० जना युवाहरु सेवन कर्ता रहेको देखिन्छ । यस्तै २१ वर्षदेखि २५ वर्ष उमेर समूहका ७२ जना, २६ वर्षदेखि ३० वर्ष उमेर समूहका ६७ जना र ३० वर्षमाथि ५० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ ।
गाईघाट बजारमा किशोर अवस्थाको किशोर, किशोरीहरु अत्याधिक मात्रमा लागु औषधको सिकार भएका छन । लागु औषध प्रयोगकर्तामा भर्खर विद्यालय शिक्षा लिदै गरेको १४ वर्षदेखि २५ वर्ष सम्मका किशोर किशोरी देखि युवा युवती सम्म रहेको तथ्याङले देखाएको छ । जसमा बढी किशोर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङमा रहेको छ ।
तीन वर्षको तथ्याङ्क यस्तो छ
आर्थिक वर्ष २०७३÷७४ मा ४२ जना लागूऔषधको आरोपमा पक्राउ परेको थियो । त्यसमध्ये ३९ जना सेवन कर्ता, ३ व्यपारी पक्राउ परेका थिए भने २३ जना विरुद्ध अदालतमा मुद्धा दर्ता भएको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०७४÷७५ मा १ सय ६३ जना पक्राउ परेका थिए । जसमध्ये १ सय ५३ जना लागूऔषध सेवन कर्ता, १० व्यपारी पक्राउ परेका थिए भने ९१ जना विरुद्ध अदालतमा मुद्धा दर्ता भएको थियो ।
यस्तै गत वर्ष २०७५÷७६ मा ८४ जना पक्राउ परेका थिए । जसमध्ये ७८ सेवन कर्ता र ८ जना व्यपारी पक्राउ परेका थिए भने ५३ जना विरुद्ध प्रहरीले मुद्धा दर्ता गरेको थियो ।यस्तै १६ वर्ष मुनीका बालबालिकाहरुमा लागूऔषधका रुपमा चुरोट खैनीको लत हुँदै लागू औषधमा फसेको प्रारम्भिक बयानहरुमा देखिन्छ । उनीहरु प्रायः विद्यालय उमेरका युवाहरुले सिकाईको रुपमा चुरोट खैनीबाट शुरु गरेको तथ्याङ्कहरुले देखाउने गरेको प्रहरीले जानकारी दिए । चुरोट, रक्सी र गाँजाबाट सुरु हुने लागू औषधको लत चरेस, हेरोइन हुँदै औषधिका साथै लागू औषधिका रूपमा पनि प्रयोग हुने लागूऔषध प्रयोग गर्नपुग्छन् । उनीहरू औषधिजन्य लागू औषध डाइजेपाम, बुनुफ्रिन र फेनारगन सुई (सिरिन्ज) को सहयोगमा लिन बाध्य हुन्छन् । यो भनेको लागू औषध दुव्र्यसनमा पस्ने अन्तिम ‘स्टेज’ (चरण) हो ।

तीन ‘स’ ले बर्बाद नयाँ पुस्ता
सुलभता, सिको र समूहका कारण बालबालिका तथा नवयुवा युवतीहरु दुव्र्यसनमा फँस्ने गरेको तथ्याङ्कले देखाउँछ । स्कुल र कलेजमा साथीभाइको सिको गर्दा दुव्र्यसनमा फँस्ने समस्यामा कुनै फरक नआएको देखिन्छ । चुरोट खाँदा स्मार्ट भनेर प्रशंसा गर्दा दुव्र्यसन सुरु हुने देखिन्छ ।
गाँजापछि सुलभ र सहज रुपमा उपलब्ध हुने भएकाले कडा लागू औषधको समस्या देशभर फैलिएको हो । नयाँ प्रयोगमा ठूलो जोखिम उठाउन तयार रहने नयाँ पुस्ता, लागू औषधका सकारात्मक भन्दा नकारात्मक जानकारी बढी राख्ने भएकाले दुव्र्यसनमा फँस्नेको संख्या बढेको देखिन्छ ।
मुख्य स्रोत भारत
प्रहरीले पक्राउ गर्ने लागू औषध सबै भारतीय सहरको औषधि पसलबाट भित्रिएका हुन् । पारिका औषधि पसलसँगको सेटिङमा सीमावारिका कारोबारीले सीमा सुरक्षाकर्मीलाई मिलाएर भित्र्याउने गरेको प्रहरी स्रोत बताउँछ ।
भारतका सिमावर्ती शहर वीरपुर, कुनौली, लौकाहा, खुटौना, ललमनिया, जयनगरजस्ता सहरबाट सप्तरीको बरसाइन, पातो, बेल्ही नाका हुँदै सप्तरीको सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक मार्ग हुदै भित्रयाई गाईघाट बजारमा भण्डार हुने गरेको सरोकारवाला बताउँछन । त्यसपछि उदयपुर, नगरउन्मुख गाउँ तथा पहाडी जिल्लाको साथै काठमाडौँसम्ममा फिँजाइन्छ । हिजोआज पहाडी जिल्ला ओखलढुंगासम्म लागू औषधका पोका पुग्ने गरेको स्रोतले जनायो ।
सुईको सप्लाई बढ्योउदयपुरमा अहिलेसम्ममा लागू औषधमा ९८ प्रतिशत सुईको प्रयोग कर्ता पाईएको प्रहरी स्रोतले जानकारी दिए । प्रहरी स्रोतका अनुसार फेनारगन, नोर्फिन, डाइजोल्याप, लुपिजेसिक, ब्रुपिनोर्फिन, नाइट्राजिपाम लगायतका प्रतिवन्धित औषधिहरु ओसारपोसार र सेवनमा संलग्नता बढी देखिएको पाईएको छ । अहिले दुव्र्यसनीको संख्या मधेसदेखि पहाडी जिल्लासम्म डढेलोझैँ फैलँदैछ ।
जति माथि उक्लियो, उति बढी दाम
लागू औषध कारोबारीका अनुसार भारतीय बजारमा सुईजन्य लागू औषध (लुपिजेसिक, फेनारगन, डाइजिल्याब, ब्रुपिनोर्फिन, डाइजेपाम, नाइट्राजिपाम) एक सेट (चार एम्पुल) को दुई सय रुपैयाँ पर्छ । पारिबाट वारि छिराउने बित्तिकै यसको मूल्य बढेर एक हजारसम्म रुपैयाँसम्म पुग्छ ।
वारि आइसकेपछि जति माथि (पहाडी जिल्ला) पु¥याउन सक्यो उति धेरै मूल्य पाइने कारोबारमा संलग्नहरु बताउँछन् । झन् काठमाडौँ पु¥याए सेटको दुई हजार रुपैयाँसम्म मूल्य पाइन्छ । ‘क्यास कारोबार’को यस धन्दामा मुनाफा बढी भएकाले पनि यसको सञ्जाल दिनदिनै संगठित रुपमा फैलँदै गएको प्रहरी अधिकारीहरु बताउँछन् । यसलाई नियन्त्रण गर्न सक्रिय रुपमा लागेको प्रहरी प्रशासनको आँखा छल्न नयाँ नयाँ तरिका अपनाउने गरेको प्रहरीको भनाइ छ ।
प्रयोगकर्ता नै विक्रेता बन्ने खतरा
लागू औषध प्रयोगकर्ताका विषयमा हेर्ने हो भने उदयपुरमा ४० देखि ५५ प्रतिशत प्रयोगकर्ता नै पछि गएर विक्रेता हुने गरेको देखिन्छ । तथ्याङ्कले प्रयोगकर्ताले आफ्नो प्रयोगका लागि खर्च जुटाउनदेखि मोजमस्ती गर्न संगठित रुपमै कारोबार गर्ने गरेको देखिन्छ । पेडलर भनिने यस्ता प्रयोगकर्ताले नै नयाँ स्थानमा लागू औषधका प्रयोगकर्ता बनाएर व्यापार बढाउने गरेको भेटिएको हो । तथ्याङ्कका अनुसार आफ्ना नजिकका साथी र परिवारका सदस्यलाई प्रयोगकर्ता बनाउने खतरा रहन्छ । आफूले खाने र खर्च जुटाउन प्रयोगका लागि उत्प्रेरित गर्ने गरेको भेटिएको छ । नियमित र दैनिक ठूलो मात्रामा लागू औषध प्रयोग गर्ने भएपछि टाढा रहेका साथीभाई मार्फत कारोबार हुने गर्छ । यसका लागि सबैभन्दा सजिलो आफ्नै साथीलाई प्रयोगकर्ता बनाउने समूह बढ्दै गएपछि संयुक्त लगानीमा कारोबार गर्ने गरेका घटना बढिरहेको छ ।
एक जना दुव्र्यसनीले ३ वर्षमा सरदर ९ जनालाई एडिक्ट बनाउँछ, जसबाट पागल र डिप्रेसन रोगी हुने ७५ प्रतिशत जन्मन्छन । अधिकांश दुब्र्यसनी कक्षा ८ देखि १२ बीचमा दुव्र्यसनी भइसक्ने तथ्यांक फेला परेको छ । लागू औषध दुव्र्यसनमा फस्ने विद्यार्थीको पढाइको गति रोकिएसँगै परिवार र समाजसँग जोडिएका कैयौं सपना रोकिने एक लागूऔषधमा फसेर सामान्य जीवनमा आएका एक व्यक्तिको भनाई छ । युवाहरू सामान्य खालको लागू पदार्थबाट सुरु गरेर जटिलखालको सेवन गर्ने अवस्थामा पुगेपछि एडिक्ट बन्ने गरेको छ ।
प्रयोगकर्ता बीचको सञ्जाल, उनीहरुले प्रयोगमा ल्याउने कोड भाषा र बजार बढी खपत भइरहेको लागू औषधका विषयमा जानकारी लिने गरेको हुन्छ ।
सम्बन्धित निकाय मौन
जिल्ला प्रहरी कार्यालय र त्यस मताहत बाहेकका अन्य निकायहरु लागूऔषध नियन्त्रणमा उदासिन देखिन्छ । जिल्लामा लागूऔषध ओसारपोसार नियन्त्रणका लागि लाखौं रकम गोष्ठी, सेमिनार, छलफलमा खर्च गरिन्छ भने त्यसको प्रभाव तल्लो स्तरमा पुग्न सकेको छैन् । गाउँपालिका र नगरपालिकाले लाखौं रकम खर्च गरेपनि उपलब्धी भने खासै हात पार्न सकेको छैन् । अधिकांश संघ संस्था तथा पालिकाकाले जहिले पनि एउटै समूह, एउटै वर्गलाई विचार, गोष्ठी, सेमिनार र छलफलमा सहभागी गराएको पाइन्छ भने पहुँच नभएका वर्गले लागू ओसारपसार तथा नियन्त्रणमा जागरुक नगराउँदा झनै लागूऔषधको कुलतको संख्यामा वृद्धि हुँदै गएको छ । घर परिवार पनि लागूऔषधमा आफ्नो छोराछोरी कुलतमा फसेको छ या छैन भनेर चासो नदिँदा संख्यामा वृद्धि हुँदै गएको छ ।
दुव्र्यसनको उपचार
लागू औषध प्रयोग गर्नु कानुनअनुसार अपराध हो तर विश्व स्वास्थ्य संगठनले यसलाई रोग भनेर परिभाषित गरेको छ । नेपालको कानुनले त लागू औषध प्रयोगकर्तालाई अनुसन्धानका लागि नै ९० दिनसम्म थुनामा राख्न पाउँछ । यो ज्यानमारालाई भन्दा बढी समय हो ।
सानैदेखि नकारात्मक कुरामा ध्यान दिने, मांसाहारी, रेस्लिङजस्ता खेल मन पराउने, मनोरञ्जन, विलासिता मन पराउने, ढाँट्ने, छल्ने र सानो कुरामा बढी खुसी वा बढी दुखी हुनेहरु लागू औषधमा फँस्ने लागू औषध छाडेर सामान्य जीवन बिताईरहेका त्रियुगा नगरपालिका ३ का एक युवाको अनुभव छ । उनले आमाबाबुले घरमा कपडा धुँदा गोजीमा चुरोटका ठुटा छन् कि भनेर जाँच्नु पर्ने र स्कुलमा पनि शिक्षकले याद गर्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन, ‘सबैभन्दा महत्वपूर्ण कुरा युवाहरुलाई यो खराब हो भन्ने चेतना दिन सक्नु पर्छ । त्यसमा परिवारको महत्वपूर्ण हात हुन्छ ।’
लागू औषध नियन्त्रणका क्षेत्रमा दुई दसकदेखि काम गरिरहेका कमल तिगेला बेरोजगारी, पारिवारिक तनाव, बढी उत्साह जस्ता भावनात्मक विचलनले युवाहरु दुव्र्यसनमा फँस्ने गरेको बताउँछन् । फँसिसकेपछि शारीरिक, मानसिक, सामाजिक र पारिवारिक समस्या सुरु हुन्छ । यही कारणले ब्रोङकाइटिस, हेपाटाइटिस बि, सि देखि एचआइभी एड्ससम्म हुन सक्छ । सुधार केन्द्रहरुमा ९० दिनको उपचार कोर्स हुन्छ । त्यसमा पाँच दिन शारीरिक र ८५ दिन मनोसामाजिक उपचार गरिन्छ । तिगेला भन्छन, ‘भर्खर गाँजा, गोटीसम्म खाने त सुधार केन्द्र नबसे पनि ठीक हुन सक्छन् ।’

तपाईको प्रतिक्रिया