उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको गैंडा छाप सिमेन्ट आइतबारबाट डिलरमा सहजै उपलब्ध हुन थालेको छ । उद्योगको क्लिंकर उत्पादन नहुँदा साउन १३ गतेबाट सिमेन्ट प्याकिङ्ग बन्द भएको थियो ।
उद्योगको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) मा जडित हाइटेन्सन मोटर बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कशपबाट मर्मत पछि क्लिंकर उत्पादन गत बुधबारबाट शुरु भएपनि सिमेन्ट बजारमा आइतबारबाट पठाउन शुरु गरिएको निमित्त महाप्रबन्धक नवल किशोर साहले बताए । उनका अनुसार आइतबार अवेरसम्म १२ हजार बोरा सिमेन्ट बजार पुगिसकेको बताए ।
विद्युत् भोल्टेज गडबडी हुँदा २ महिना अगाडी ५ सय किलोवाट क्षमताको हाइटेन्सनले मोटरमा क्षति पुगेपछि क्लिंकर उत्पादन बन्द हुन पुगेको थियो । क्लिंकर उत्पादन बन्द भएपनि स्टोक क्लिंकरबाट सिमेन्ट प्याकिङ्ग जारी नै रहयो निमित्त महाप्रबन्धक साहले बताए । ‘यहि साउन १३ गतेबाट स्टोकमा रहेको क्लिंकर सकिएपछि सिमेन्ट मिल बन्द भएको हो, त्यस अघि सिमेन्ट आपूर्ति भइरहेकै थियो ।’ उनले भने, ‘आइतबारबाट सिमेन्ट प्याकिङ्ग पनि संचालनमा आएको छ, सिमेन्ट जति पनि दिन सकिन्छ ।’ उनका अनुसार आगामी दिनमा बिजुलीबाहेक उद्योग सञ्चालनका लागि अन्य समस्या नभएको दाबी गरे ।
आईतबारदेखि बिक्री सुचारु हुने जानकारी पाएका व्यापारी शनिबार रातिदेखि नै गाडी लिएर उद्योग परिसरमा लाईन लागेका थिए । एसियाकै उत्कृष्ट कहलिएको ५३ ग्रेडको ओपिसी सिमेन्ट गैंडा छाप स्थानीय बजारदेखि देशभर हुँदै भारतीय बजारसम्मका ग्राहक छन् । निजी कम्पनीको दाँजोमा धेरै गुणस्तरीय भएकाले गैंडा छाप सिमेन्टका पारखी देशभर रहेको उद्योगका प्रशासन तथा अर्थ महाशाखा प्रमुखसमेत रहेका नायव महाप्रबन्धक (डिजिएम) धु्रब देवकोटा बताउँछन् । देवकोटाका अनुसार जापानिज प्रविधिबाट उत्पादित गैंडा छापको गुणस्तरको दाँजोमा अन्य कुनै सिमेन्ट अहिलेसम्म नेपाल र भारतमा समेत उत्पादन भएको पाइएको छैन ।
दैनिक ७ सय ५० मेट्रिक टन उत्पादन
एसपी फ्यान बिग्रेपछि झण्डै दुई महिना रोकिएको क्लिंकर उत्पादन मर्मतपछि नियमित भईरहेको छ । उत्पादन महाशाखा प्रमुख इन्जिनियर संजय कुमार लाल कर्णका अनुसार पंखा मर्मत गरेर गत २२ गते राति किल्न फाईरिङ गरिएपछि लगातार क्लिंकर उत्पादन जारी छ । दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगमा अहिले प्रतिदिन ६ सय ७० देखि ७ सय ५० मेट्रिक टनसम्मका दरले उत्पादन भईरहेको कर्णले बताए ।
गएको असोजमा उद्योग स्थापनायताकै पूर्ण स्तरोन्नति मर्मत गरिएपछि दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले ९ सय ३० मेट्रिक टनसम्म उत्पादन गरेको थियो । तर, अनियमित विद्युत सेवा तथा बेलाबेलामा हुने भोल्टेज उतार चढावले उद्योगका मेसिन उपकरणहरु बेला बेलामा बिग्रने गरेका छन् ।
गत वर्षको उत्पादन
‘उद्योगले आर्थिक वर्ष २०७५÷७६ मा १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यअनुसार जेठ १९ गतेसम्म १ लाख २२ हजार टन उत्पादन पु¥याइसकेको थियो,’ उत्पादन विभाग शाखा प्रमुख संजय कुमार लाल कर्णले बताए । उनले भने, ‘लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोटरमा क्षति पुगेपछि क्लिंकर उत्पादन बन्द भएको हो ।’
आर्थिक वर्ष २०७५÷७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट उत्पादन भएको विक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए । उनले भने, ‘गत पुस, माघ, फागुन, चैत्रमा सोचे जस्तो सिमेन्ट विक्री नभएपछि परिणाम घटेको हो । जुन समय सिमेन्ट विक्रीको पिक आवर हो ।’ आर्थिक वर्ष २०७४÷७५ मा २४ लाख ६ हजार नौं सय ७४ बोरा सिमेन्ट विक्री भएको थियो ।









