उदयपुर । उदयपुर सिमेन्ट उद्योगको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) मा जडित हाइटेन्सन मोटर मर्मत पछि क्लिंकर उत्पादन बुधबारबाट शुरु भएको छ । विद्युत् भोल्टेज गडबडी हुँदा २ महिना अगाडी हाइटेन्सन मोटर जलेर क्लिंकर उत्पादन बन्द भएको थियो ।
उद्योगको क्लिंकर उत्पादन गर्ने हाइटेन्सन मोटर बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कशपबाट मर्मत गरेर ल्याएपछि क्लिंकर उत्पादन शुरु भएको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए । ‘५ सय किलोवाट क्षमताको हाइटेन्सनले मोटरमा क्षति पुगेपछि मर्मत लागि समान नपाउँदा दुई महिना लाग्यो । क्लिंकर उत्पादन २ महिना बन्द हुन पुग्यो ।,’
उनका अनुसार बजारमा हल्ला भए जस्तो सिमेन्टै उत्पादन बन्द नभएको बताए । क्लिंकर उत्पादन बन्द भएपनि स्टोक क्लिंकरबाट सिमेन्ट प्याकिङ्ग जारी नै रहयो निमित्त महाप्रबन्धक साहले बताए । उनले भने, ‘यहि साउन १३ गतेबाट स्टोकमा रहेको क्लिंकर सकिएपछि सिमेन्ट मिल बन्द भएको हो, त्यस अघि सिमेन्ट आपूर्ति भइरहेकै थियो ।’
‘सिमेन्ट प्याकिङ्ग १२–१३ दिन मात्रै बन्द भएको हो, विद्युत आपूर्ति, कच्चा पदार्थ उत्पादन र कर्मचारी तलव लगायतका खर्च कटाएर उद्योगलाई डेढ करोडसम्म नोक्सान भयो होला  । तर बजारमा हल्ला आए जस्तो २८ करोड नोक्सान भएको छैन्।’ उनले भने, ‘आइतबारबाट सिमेन्ट मिल पनि संचालनमा आउँछ ।’
क्षतिग्रस्त मोटर उद्योगमा जडान गरिएका ठूला मोटरमध्ये यो एक हो । उक्त मर्मतसम्भार गर्न सक्ने जनशक्ति मेसिन उद्योगमा नरहेको हुँदा मर्मतका लागि उच्च प्रविधि भएको बुटवल लैजानु परेको निमित्त महाप्रबन्धक साहले बताए । उनले आगामी दिनमा बिजुलीबाहेक उद्योग सञ्चालनका लागि अन्य समस्या नभएको दाबी गरे ।
तीन दशक पुरानो उद्योगका पाटपुर्जा मर्मत गर्नुपर्ने भएका छन । बिग्रेका मेशिनको तत्काल मर्मत गर्न सरकारी प्रक्रिया झन्झटिलो रहेको उदयपुर सिमेन्ट उद्योग व्यवस्थापन समितिका अध्यक्ष अकुर खड्काले बताए । ‘त्यसको मार उद्योगले खेपिरहेको छ, पुराना पाटपुर्जा मर्मत समयमै नहुँदा बेला बेलामा उद्योग बन्द हुने गरेको हो ।’ ‘यो उद्योग पुरानो हो, धेरै पाटपुर्जा मर्मत गर्नुपर्ने बेला भएको छ, सरकारी प्रक्रिया झन्झटिलो छ’, उनले भने, ‘तत्काल मर्मत गर्नुपरे पनि सरकारी प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले उद्योग आंशिक बन्द हुने गरेको हो ।’
‘उद्योगले आर्थिक वर्ष २०७५÷७६ मा १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यअनुसार जेठ १९ गतेसम्म १ लाख २२ हजार टन उत्पादन पु¥याइसकेको थियो,’ उत्पादन विभाग शाखा प्रमुख संजय कुमार लाल कर्णले बताए । उनले भने, ‘लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोटरमा क्षति पुगेपछि क्लिंकर उत्पादन बन्द भएको हो ।’
आर्थिक वर्ष २०७५÷७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट उत्पादन भएको विक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए । उनले भने, ‘गत पुस, माघ, फागुन, चैत्रमा सोचे जस्तो सिमेन्ट विक्री नभएपछि परिणाम घटेको हो । जुन समय सिमेन्ट विक्रीको पिक आवर हो ।’ आर्थिक वर्ष २०७४÷७५ मा २४ लाख ६ हजार नौं सय ७४ बोरा सिमेन्ट विक्री भएको थियो ।
२०४४ मा स्थापना भएको उद्योगले सुरुका वर्षमा जापान सरकारबाट सञ्चालन हुँदा ८ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गरेको थियो ।
त्यसपछिका वर्षमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६ सयदेखि ६ सय ५० मेट्रिक टनमात्र सिमेन्ट उत्पादन गर्दै आएको छ । जसमा गतवर्ष पुराना पार्टपूर्जाको मर्मत गरिएपछि उत्पादन बढेर ७ सय ५० देखि आठ सय मेट्रिक टन क्रस गरि सकेको थियो ।

तपाईको प्रतिक्रिया