उदयपुर । भाईरल ज्वरोले आईतबारदेखि जिल्ला कारागार उदयपुरका कैदीबन्दी ठूलो संख्यामा विरामी परेका छन् । ५० जनाको क्षमता भएको कारागारमा १ सय ७३ कैदी बन्दी रहेकोले १ सय २० जना विरामी परेका हुन् ।
करागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी भएपछि १ सय २० जना कैदी बन्दीहरुमा भाइरल ज्वरो र पखाला देखिएको छ । एकैसाथ धेरै कैदी बन्दीमा यसप्रकारको विरामी देखिएपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा जिल्ला अस्पताल उदयपुरबाट १५ जनाको चिकित्सक टोली झिकाई स्वस्थ्य जाँच तथा उपचार गरिएको कारागार प्रमुख कुमार खड्काले बताए ।
विरामीहरुले हाल औषधि सेवन गरिरहेका छन् । विरामी मध्ये नौ जनालाई थप उपचारका लागि बोलाएपछि सोमबार अस्पताल लगिएपनि अहिले सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताए ।
वर्षा मौसममा खोलाबाट आउने खानेपानी धमिलो र दुषित आउने गरेपछि कैदीबन्दीहरुमा विरामी देखा परेको बताईएको छ । अहिले कारागारले सबै कैदीबन्दीलाई पानी तताएर पिउने व्यावस्था गरिएको छ ।
५० जना क्षमताको सो कारागारमा तेब्बर बढि कैदीबन्दी छन् । कारागारमा पुरुष कैदी १ सय ५ जना, बन्दी ५२ जना रहेका छन् भने महिला कैदी ८ जना, बन्दी ४ जना र आमासंग आश्रित ४ नाबालिका रहेको जेलर कुमार खड्काले बताए ।
पुरुष कैदी बन्दीलाई राख्ने गरी निर्माण गरिएकोमा अहिले महिला कैदी बन्दी समेत कारागारमा हुँदा ब्यवस्थापन गर्न समस्या रहेको जेलर खड्काले बताए । क्षमताभन्दा बढी कैदी भएकाले कारागारको भान्सा कोठा र कार्यालय सञ्चालन गर्ने कोठामा महिला कैदी बन्दीलाई राखिएको जेलर खड्काले जानकारी दिए । उनले भने ‘कैदी बन्दी बढी भएकाले शौचालय, भण्डार, भान्सा, खानेपानी तथा सरसफाइँमा समस्य हुने गरेको छ ।’
क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेको र २०३७ सालमा निर्माण भएको कारागार जीर्ण भवनमा जोखिमपूर्ण तवरबाट राख्नु पर्ने बाध्यता रहेको जेलर खड्काले बताए । जिल्ला कारागारको नाममा जग्गा प्रसस्त भएर पनि त्यसको सहि सदुपयोग गर्न नसकिएको बताए । उनले भने, ‘कारागारका नाममा यहीँ १ बिघा १४ कठ्ठा जग्गा छ, तर भवन थोरै जग्गामा बन्दा कैदीबन्दी खुम्चिएर बस्नु परेको छ ।’ उनका अनुसार अन्य धेरै समस्या नभएपनि भवन पहिलो समस्या रहेको बताए । २१ औँ शताब्दी अनुसार खुल्ला जेल घरको अवधारणा आएपनि उदयपुरमा भने भवनकै अभावमा समस्या सृजना भएको छ ।









