उदयपुर । पहिले पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । तर, अहिले गुन्द्री र सुकुल विरलै देख्न पाईन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्टयाएर गुन्द्री र सुकुल बुन्ने चलन गाउँघरमा अझै पनि कतै–कतै छँदैछ ।
परालका गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईबस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्याना र स्वस्थकर मानिने यस्ता गुन्द्री र सुकुलको प्रयोग हिजोआज घटदै गएको छ ।
गाउँ–गाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको छ । विकल्पमा बजारमा पाइने प्लास्टिकका गुन्द्री अहिले गाउँघरमा भित्रिएका छन् । त्रियुगा नगरपालिका ३ की शियावत्ती चौधरीलाई विगतका वर्षहरुमा फुर्सदको समय गुन्द्री गरेपनि अहिले गुन्द्री बुन्न छोडेकी छिन् । उनले पटेर र मोथिको गुन्द्री बुन्ने गरेको बताईन् । अहिले पटेर र मोथि पाउन छोडेपछि गुन्द्री पनि बुन्न छोडेकी छिन । पहिले पहिले माइतसम्म पठाउने गुन्द्री अहिले आफ्नो लागि पनि बुन्न छोडेकी बताउँछिन् ।
पक्की घरमा मात्रै नभएर छरितो र सफाका लागि कच्ची घरमा समेत परालका गुन्द्रीको प्रयोग घटेको छ । आफैंले बुन्ने गुन्द्रीका लागि श्रम र समय लाग्ने भएकाले पनि सजिलो विकल्पको रूपमा रोजाइमा पर्न थालेको गाउँले महिला बताउँछन् । ‘बजारमा अढाई सयमा गुन्द्री पाइन्छ,’ त्रियुगा नगरपालिका ३ की सर्मिला कटवालले भनिन, ‘हाजिरा दिएर बुनाउँदा एउटा गुन्द्रीको आठ सय पर्छ । परालको एउटा गुन्द्रीको पैसाले प्लास्टिकका तीन गुन्द्री पाइन्छन् । टिकाउ र सफा पनि हुन्छ ।’ परालका गुन्द्रीको प्रयोग घटेपछि एकातिर स्थानीय महिलाको सीप नयाँ पुस्तामा हस्तान्तरण रोकिएको छ । आम्दानीको विकल्प अरू पेसाबाट खोज्ने बानी पर्न थालेको छ ।
परालका गुन्द्रीको प्रयोग घटेपछि बजारमा प्लास्टिकका गुन्द्रीको कारोबार बढेको छ । गाईघाटका एक व्यवसायीका अनुसार विगत ५–६ वर्षयता प्लास्टिकका गुन्द्रीको माग बढेको छ । ‘पहिला बजारमा केहीले मात्रै खोज्थे,’ उनले भने, ‘हिजोआज गाउँबाट धेरै अर्डर आउँछ ।’ बर्सेनि करिब ५०–६० हजारका प्लास्टिक गुन्द्रीको माग हुने उनले बताए । प्लास्टिकका गुन्द्री स्वास्थ्य र वातावरणीय हिसाबले प्रतिकूल हुने भए पनि छरितो र सहजका लागि प्रयोग गर्नेहरू बढेका बढ्यै छन् । गाउँका मानिसहरू बिलासी भएका कारण पनि श्रम गर्ने बानी विस्तारै घटदै जाँदा गुन्द्री बुन्ने क्रम घटेको हो । ‘अहिले गाउँका घरघरै रेमिट्यान्स पुगेको छ,’त्रियुगा नगरपालिका ३ का समाजसेवी गणेश ढकालले भने, ‘पैसा खर्च गर्दा सुविधा पाइने भएपछि श्रम गर्ने बानी घटेको छ । यसको सबै क्षेत्रमा प्रभाव देख्न सकिन्छ ।’ रेमिट्यान्सले धानिएका कतिपय परिवारमा विलासिताको बढ्दो बानीका कारण आम्दानी घटेपछि समस्या हुने उनले बताए ।

तपाईको प्रतिक्रिया