उदयपुर । असारको अन्तिम सातादेखि नियमित बर्षाले त्रियुगा नदीको सहत बढेसँगै चौदण्डीगढी नगरपालिका ५ सिवाई सुन्दरपुर–बेल्हा ओहोर दोहर गर्न समस्या भएपछि नदीमा मंगलबारदेखि डुंगा चलाउन शुरु गरिएको छ । सिवाई सुन्दरपुरको व्यपारी केन्द्र बेल्टार बजारलाई जोड्ने सिवाई स्थित त्रियुगा नदीमा पुल नबन्दा स्थानीयलाई नदी तर्न समस्या भएकोपछि ढुंगा संचालनमा आएको हो ।
सिवाई सुन्दरपुरका स्थानीयहरुलाई नगरपालिकाको कामकाज तथा सिवाई सुन्दरपुरको दैनिक उपभोग्य सामग्री खरिद गर्ने मुख्य व्यपारी केन्द्र बेल्टारसम्म पहुँच पुर्याउन त्रियुगा नदीमा ढुंगा संचालन गरिएको स्थानीय नेता भाष्कर चौधरीले जानकारी दिए । उनले स्थानीय रोशी चौधरीलाई जिम्मेबारी दिने गरी डुंगा संचालनमा ल्याएको बताए ।
चौदण्डीगढी नगरपालिकासँगको समन्वयमा ढुंगा संचालनमा ल्याएको मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार नदी आवतजावत गर्न प्रतिव्यक्ति २० रुपैयाको दरले लिने निर्णय भएको छ । उनका अनुसार त्रियुगा नदीमा पुल निर्माणको कार्य शुरु भएको १० वर्ष पुग्दा पनि पुल तयार हुन नसक्दा सिवाई सुन्दरपुर, हडिया लगायतका जनतालाई आवत जावतमा समस्या हुने गरेको छ ।
चौदण्डीगढी नगरपालिका ५ शिवाई स्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्ने गरी ०६७ असार २३ गते सम्झौता भएको थियो । ०७० असार २२ गतेभित्र पुल बनाई सकेर हस्तान्तरण गरि सक्नु पर्नेमा ४ पटक म्याद थप्दासम्म सम्पन्न हुन सकिरहेको छैन ।
धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा जोड्ने वैकल्पिक लोकमार्गसँग चौदण्डीगढी केन्द्र बेलटारसँग दक्षिणी भेगका वडाहरु सुन्दरपुर, हडिया र जोगीदह तथा छिमेकी जिल्ला सप्तरीका फत्तेपुर–कन्चनपुरलाई जोड्ने १३ स्पानको उक्त पुल २ सय ८४ दशमलव ६ मिटर लामो र ५ मिटर चौडाईको प्राविधिक इस्टीमेट छ । स्थानीय सडक सञ्जाल (एलआरएन) प्रविधिमा गाईघाट–दिक्तेल सडक आयोजना कार्यालय गाईघाटद्वारा निर्माणाधीन पुल बनाउने मुख्य जिम्मा महालक्ष्मी÷लोकप्रिय जेवी कलंकी काठमाडौंले लिएको छ ।
गत वर्षसम्म ९ वटा स्पानको काम सकिएको पुलको काम यो वर्ष २ वटा सुपरस्ट्रक्चर र एउटा सबस्ट्रक्चर फाउण्डेसनको काम भएको छ । निर्धारित समयमा काम नसकिएपछि पटक पटक म्याद थपिएको पुलको पछिल्लो म्याद ०७६ असारसम्म थपिएपनि सो म्याद पनि पुल निर्माण हुन सकेन । पुल निर्माण हुन नसक्दा बाध्य भएर वर्षातको समयमा प्रत्येक वर्ष डुंगा संचालन गर्नु पर्ने अवस्था आएको चौदण्डीगढी नगरपालिका ५ का वडाध्यक्ष देवनारायण चौधरीले बताए । उनका अनुसार सिवाई स्थित त्रियुगा नदीमा पुल नबन्दा स्थानीयलाई आवत जावत गर्नमा निकै कठिन हुने गरेको छ । उनले भने, ‘अहिलेसम्म पुलको १३ मध्ये ९ वटा स्पान मात्र ठडिदैछ । बाँकी कहिले ठडिने हो टुङ्गो छैन् ।’









