उदयपुर । अहिले धान रोपाइँको समय हो । साउनको पहिलो साता बित्दा पनि समयमै पर्याप्त पानी नपरेका कारण उदयपुरमा ५५ प्रतिशत मात्रै रोपाइँ भएको छ । उदयपुरमा यसै समयमा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको छ ।
असारमा झमझम झरी पर्ने बेलामा टन्टलापुर घाम लाग्ने गरेपछि आकासे पानीको भरमा खेती गर्ने उदयपुरका किसानले यस वर्ष पनि समयमा धान रोप्न पाएका छैनन् । असारको दोस्रो साता १० प्रतिशत मात्रै रोपाइँ भएपनि असारको अन्तिम समयमा पानी पर्दा अहिलेसम्म ५५ प्रतिशत अर्थात ७ हजार ३ सय ५९ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको । अघिल्लो वर्ष यसै समयमा ८५ प्रतिसत रोपाइँ भई सकेपनि यस वर्ष जिल्लामा ५५ प्रतिशत रोपाइँ मात्र भएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले बताए । अन्य वर्षको तुलनामा यो वर्ष धानको उत्पादनमा केही गिरावट आउने केन्द्रका प्रमुख अधिकारीले बताए । उनले भने, ‘नेपालटारको दनुवारबेसीमा बैधनाथ खोलाले पानी थुनिदा रोपिएको धानबालीमा माटो बालुवा पुरि दिए भने चौदण्डीगढी नगरपालिका ५ को बेलहा खैरहा र बेलका नगरपालिका १ अम्बासीमा त्रियुगा बाँध फुट्दा रोपाइँ गर्न लागेको विउ बाढीले बगाएको छ भने रोपिएको बाली नष्ट भएको छ ।’
अघिल्लो वर्ष करिब ६० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादकत्व घट्ने निश्चित छ । जिल्लामा १४ हजार २५० हेक्टर जमिनमा धान खेती गरिंदै आएको जिल्ला कृषि विकास कर्यालय उदयपुरले जनाएको छ ।
असार र साउन रोपाइँका लागि उपयुक्त समय मानिए पनि सिँचाइको सुविधा नहँुदा कृषक धूलो माटोमा खेत जोत्न बाध्य छन् । जिल्लाको रामपुर, हडिया, बसाहा, तपेश्वरी, जोगिदहलगायत त्रियुगा नगरपालिका क्षेत्रका अन्न भण्डार मानिने पटाङ्गिनी खेतको फाँट यस वर्ष समयमै पानी नपरेका कारण रोपाइँ हुन नसकेको हडियाका किसान नन्दीलाल चौधरीले बताए ।
लामो खडेरीको कारण मकैको समेत उत्पादनमा कमी आएको र धानसमेत समयमा रोप्न नपाएपछि आम कृषकहरू खेतमा कोदो रोप्ने तयारीमा रहेको हडियाकै अर्का किसान गोविन्दप्रसाद निरौलाले बताए ।
जिल्लाका कतिपय किसानले ऋण नै काढेर भए पनि बोरिङ गरेर भूमिगत पानीको प्रयोग गरी रोपाइँ गर्ने गरेको सुन्दरपुरका किसान कमल नारायण खतिवडाले बताए । उनका अनुसार असार साउनमा खेत बाँझै रहे वर्षभरि आउँदो वर्ष अनिकालले सताउने निश्चित भएकोले पम्पिसेटबाट पानीको प्रबन्ध गर्दा धेरै खर्च लागे पनि आपूmहरू यसको प्रयोग गर्न बाध्य हुनुको कुनै विकल्प नरहेको बताए ।

तपाईको प्रतिक्रिया