उदयपुर । साउनको आगमनसँगै महिला दिदी बहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ । साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको संख्या बढ्ने हुँदा यो महीनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने व्यपारीहरु जनाउँछन् ।
बिहेबारीको लगनका बेलामा समेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ । साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएपछि यसको व्यापार फस्टाएको हो । उदयपुरको सदरमुकाम गाईघाटको साथै मूख्य बजार रामपुर, बेल्टार, मुर्कुची लगायतका कस्मेटिक पसलहरुमा हरियो चुरा र मेहन्दी किन्ने महिलाहरुको भीड अहिले देखिन्छ ।
विवाहिताले श्रीमानको लामो आयु, र अविवाहितले राम्रो श्रीमान पाउँ भन्ने कामनाका साथ हरियो चुरा लगाएको बताउँछन् । हरियो चुरा लगाउँदा के हुन्छ यसबारे थाहा नभएकाहरु पनि अरुको लहलहैमा लागेर अर्काको सिको गर्दै हरियो चुरा लगाउने गरेका छन । श्रीमान हुनेले श्रीमानको दीर्घायुको कामना गर्दै र अविवाहितले राम्रो श्रीमान पाउनका लागि भन्दै हरियो चुरा लगाउने प्रचलन रहेको महिला अधिकारकर्मी माया भण्डारी बताउँछिन् । साउनमा भगवान शिवलाई बढी मात्रामा हरियो मन पर्छ भन्ने भनाई कै आधारमा शिवजीलाई खुशी पारी मनले ताकेको पुर्याउने मनासयले हरियो चुरा लगाउने गरेको त्रियुगा नगरपालिका–३ का वडा सदस्य हरिमाया शाहीले बताइन् ।
हरियो चुरा लगाउने सबैको यो प्रचलनबारे एकै विचार भने पाइदैन् । कोही धार्मिक विश्वासका आधारमा त कोही भिन्न विश्वासले हरियो चुरा लगाउँने गर्दछन् । साउन महिनामा जताततै हरियो हुने र हरियो चुरा लगाउनाले हरियो घाँसमा भेटिने सर्प तथा हरेउले नटोक्ने केहि महिलाहरु बताउँछन् ।
साउनमा हरियो चुरा लगाउने चलन पछिल्लो सयममा आएकाले अलि पुराना बृद्धाहरुलाई भने यो चलन मन नपर्ने पनि बताउँछन् । हरियो चुरा लगाउनु धार्मिक आस्थाको एउटा पाटो भएपनि यसलाई आधुनिक फेसनको रुपमा लिने गरिएको छ । धर्मशास्त्रमा साउन महिना र हरियो चुराको बारेमा कतै उल्लेख नभएको पण्डित हरि पराजुलीले बताउँछन् ।
फेसन, सोख अथावा धार्मिक आस्थाले नै किन नहोस्, जे भएपनि साउनलाई लक्षित गरि चुरा पसलेहरुलाई भने असारको अन्तिम सातादेखि व्यपार बढेको छ । अन्य सयममा त्यति चहलपहल नदेखिने चुरा पसलेहरुलाई अब हरियो, पहेंलो चुराले तताएको छ । साउन महिना लागेसँगै आ–आफ्नो पसलहरुमा ग्राहकहरुको संख्या बढ्दै गएको गाईघाटमा कस्मेटिक पसल गर्दै आएकी रिन्कु राई बताउँछिन् । अघिल्लो बर्षको तुलानामा यसबर्ष चुराको मुल्य बढेको उनि बताउँछन् । त्यसैले साउनमा चुरा र मेहन्दीको माग उच्च हुने गरेको छ ।
‘‘अहिले दैनिक पाँच÷छ हजार रुपैयाँको चुरा विक्री हुने गरेको छ,’’ अर्का कस्मेटिक व्यवसायी रिमा राईले भनिन – “साउनमा सबैले हरियो चुरा र मेहन्दी खोज्ने हुनाले सबैभन्दा बढी यसकोे व्यापार यही बेला हुन्छ ।” दुई तीन वर्ष यतादेखि साउनमा हरियो चुरा र मेहन्दी लगाउने चलन ह्वात्तै बढेको छ, थारु पण्डित त्रियुगा नगरपालिका–६ का बासुदेव चौधरी भन्छन्– “साउनमा पहिले यस्तो तामझाम हँुदैनथ्यो, हिन्दु धर्मानुसार विवाहिताले मात्र चुरा लगाउँदथे । मेहन्दी लगाउने चलन त पूरै भारतीय संस्कृतिको प्रभाव हो, हिन्दी सिरियलको बाढीले पनि नयाँ पुस्तालाई यसप्रति बढी आकर्षित गरेको हो ।’’ गाईघाटका एक चुरा व्यवसायीका अनुसार बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र साडीसँग मेल खाने रङका चुरा खोज्ने धेरै छन् । बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । बजारमा अहिले रु ३० देखि एक हजारसम्मको चुराको व्यापार भइरहेको छ ।
कतिपय ग्राहकले वास्तुशास्त्र अनुसार चुराको रङ छनोट पनि गर्ने गरेका छन् । रातोले शुभलाभ र ऋिद्धिसिद्धि, पहेँलोले ज्ञानबुद्धि र शिक्षा, निलोले सु–स्वास्थ्य तथा हरियोले प्राकृतिक र बैद्धिक उन्नतिको प्रतिनिधित्व गर्ने भएकाले ग्राहकहरुले पनि आफूले मनपराएका त्यस्ता रङको चुरा खरिद गरेर लगाउने गरेको चुरा व्यावसायीको भनाइ छ ।
साउन महिनामा हरियो चुरा लगाउने प्रचलन विगत केहि वर्षदेखि ह्वात्तै बढेको छ । साउन महिनामा स–साना बालिका, युवतीहरु, अधबैंसे नारी हुन या बृद्ध महिला सबैले हरियो चुरा लगाउने गर्छन् । विशेष गरी साउन महिनामा हरियो चुरा लगाउँदा मनले चिताएको पुग्ने हिन्दू महिलाहरुको बिश्वास छ ।

तपाईको प्रतिक्रिया