अमलेखगञ्जमा (नेपाल) र मोतिहारी (भारत)बीच निर्माण गरिएको पेट्रोलियम पाइपलाइन। फाइल तस्विर

काठमाडौं : भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मा निर्माण गरिएको पाइपलाईनमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ।

चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको उक्त पाइपलाईन बुधबार डिजेल पठाइएको हो। तर, बुधबार पठाइएको डिजेल परीक्षणको रुपमा पठाइएको हो। बुधबार पठाइएको डिजेल आज रातिसम्म अमलेखगञ्ज आइसक्ने नेपाल आयत निगमले बताएको छ।

निगमका निर्देशक वरुरेन्द्र गोइतका अनुसार मंगलबार हाइड्रोलिक टेस्ट सकिएको थियो, त्यसपछि बुधबार डिजेल पठाइएको हो। योभन्दा पहिले परीक्षणको रुपमा पानी पठाइएको थियो। जुन नेपालसम्म आउन सफल भएको थियो।

त्यस्तैगरी बुधबार पठाइएको तेल पनि परीक्षणको रुपमा नै पठाइएको हो। जुन तेल अहिले नै ट्याङ्कीमा पनि राखिने छैन। आधिकारिक रुपमा उद्घाटन भएपछि मात्रै त्यसलाई ट्याङ्कीमा पठाइने छ।

उद्घाटनपश्चात अमलेखगञ्जमा ४ वटा ट्यांकीमा डिजल जम्मा गरिने गोइत बताउँछन्। अमलेखगञ्जमा २ वटा ट्यांकी ३९ लाख किलोलिटर र २ वटा ट्यांकी ४१ लाख किलोलिटर क्षमताका छन्।

कसरी पठाइन्छ र कसरी भित्रिन्छ तेल?

पेट्रोलियम पदार्थ आउने पाइपलाइनको गोलाई १० दशमलव ७५ इञ्च छ। भारतबाट नेपालमा पेट्रोलियम पदार्थ पठाउँदा अत्याधुनिक सफ्टवेयरको प्रयोग हुनेछ।

जानकारी अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) र नेपाल आयल कर्पोरेसन (एनओसी) दुबैतर्फको कन्ट्रोल रुमबाट विशेष प्रविधि प्रयोग गरी तोकिएको मात्रामा तेल नेपालतर्फ भित्रिनेछ।

पाइपलाइन हुँदै भारतबाट नेपालतर्फ आउने पेट्रोलियम पदार्थ मापनका लागि विशेष प्रकारको मेसिन जडान गरिने जानकारी निगमले गराएको छ।

भारतीयभन्दा नेपाली भूभाग अलिक उचाइमा भएकाले नेपालतर्फ पेट्रोलियम पदार्थ ल्याउन मेसिनको प्रयोग हुनेछ।

सो पाइपलाइन प्रतिदिन ८ घण्टा सञ्चालन हुने निगमका छ। ८ घण्टामा पाइपलाईनबाट ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ। नेपालमा पेट्रोलियम पदार्थको दैनिक माग भने हाल ६ हजार ५ सय किलोलिटर छ।

तपाईको प्रतिक्रिया