सुखिलाल चौधरी, उदयपुर । चारदिन देखि निरन्तर अविरल वर्षाले उदयपुरको त्रियुगा नदीले तीन ठाउँमा बाँध फुटाएको छ । शिरदेखि तिरसम्म करिव ४३ किलोमिटर अन्तर्गत त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका १२ त्रिवेणी टोल, चौदण्डीगढी नगरपालिका ५ बेल्हा खैरा र बेलका नगरपालिका १ अम्बासीमा बाँध फुटेर बस्तीमा पसेका छन् । त्रियुगा नदीको बाँध फुट्दा करिव २ हजार बढी मानिस डुवामा परेको छ ।
सप्तकोशीको भंगालोको कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका १ अम्बासीमा बाँध फुटेर नगरपालिकाको अम्बासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुर लगायतका गाउँमा पसेको बेलका नगरपालिका २ का वडा सदस्य कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार आधा दर्जन गाउँमा गरी करिव २ हजार घरपरिवार डुवानमा परेको छ । उनले भने, “यो वर्षेनीको समस्या हो, सप्तकोशीको भंगालोले त्रियुगा नदीको पानीको बहावलाई निकास हुन दिँदैन र त्रियुगा नदी गाउँ गाउँमा पस्छ ।”

फत्तेपुर पुल र चन्द्र नहरको विचमा पानीको बहाव आम्बासी पसेको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज नविन कुमार सिंहले जानकारी दिए । उनका अनुसार डुवानमा फसेका करिव २ सय ५० भन्दा बढीको उद्धार गरिएको छ । उनका अनुसार घरहरुमा करिव ७–८ फिटसम्म पानी जमेको छ । डुवानमा परेकाहरुको अन्नपात, खानेकुरा, लत्ताकपडा बगेकोले राहतको लागि नगरपालिका, नेपाल रेडक्रस सोसाइटीले बाँडने तयारी गरेको छ ।
यस्तै त्रियुगा नदीले चौदण्डीगढी नगरपालिका ५ बेल्हामा बाँध फुटदा १० घर परिवार अझै सम्पर्क विहिन रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धारको लागि प्रयास जारी राखेपनि पानीको बहावले समस्या उत्पन्न्न भएको छ ।

यता त्रियुगा नदीले त्रियुगा नगरपालिका १२ त्रिवेणी टोलमा बाँध फुटदा दुई घर भत्काएको छ । विष्णु मगर र प्रथम डुमको घर बाढीले भत्काएको छ । यस्तै बरुवा खोलाले पनि पुरानो गाईघाट, लक्ष्मीपुर, विसनपुर लगायत गाउँ डुवान गरेको छ ।

तपाईको प्रतिक्रिया