उदयपुर । केहि दिन देखि निरन्तर अविरल वर्षाले उदयपुरको जनजिवन प्रभावित तुल्याएको छ । बर्षाले पहाडी क्षेत्रमा पहिरो गएको छ भने समथर भुभाग डुवानमा परेको छ । ग्रामिण सडक संजाल अवरुद्ध भएको छ ।
पहिरोले दुई घर बगायो
निरन्तरको बर्षातले उदयपुरको ताप्ली गाउँपालिकाको विभिन्न स्थानमा पहिरो जानुका साथै घर पुरिएका छन् । पहिरोले ताप्ली गाउँपालिका ५ गैरिगाउँका रबी रम्तेल र वडा नं. २ धारापानीमा पृथ्वी बहादुर परियारको घर समेत पहिरोले पुरिएको छ । रम्तेलको क्षतिको विवरण आउन बाँकी रहेको छ भने परियारको दुई तल्ले घर बगाउँदा २ लाख बराबरको क्षति भएको छ । ताप्ली गाउँपालिका ५ कबासेटारमा पहिरो जान थालेपछि स्थानीयहरु घर छोडेर सुरतक्षित स्थानमा सरेका छन् ।
ग्रामिण सडक अवरुद्ध

चार दिनदेखिको निरन्तर वर्षाले उदयपुरका ग्रामिण सडकमा सवारी आवागमन अवरुद्ध भएको छ । स्थानीय खोला खहरेमा पानीको बहाव बढेको तथा अधिकांश सडक कच्ची भएका कारण यातायात आवागमन रोकिनु पुगेको हो ।
यातायात अवरुद्ध भएपछि यात्रुलाई सास्ती पर्नुका साथै विरामीले उपचार गर्न अस्पताल जानसमेत हम्मे परेको अवस्था आईपरेको छ । निरन्तर पानी परिरहेकाले उदयपुरका सबैजसो नदी तथा खोला खोल्सीमा लगातार बाढी आएर सडक पूरै अवरुद्ध पारेको हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ ।
यस्तै पहिरो कारण सडकमा क्षती पुगेपछि बेतेनी–माझखर्क, नुनथला–रुपाटार ठानागाउँ, बेतेनी–सोरुङछबिसे–रुपाटार, लिम्चुङबुङ – मुर्कुची – गाईघाट, मुर्कुची–नेपालटार, उदयपुरगढी सडकखण्ड अबरुद्ध बनेका छन् ।
गाईघाट डुवान

विहिबार साँझ देखि निरन्तर परिरहेको भारी बर्षाको कारण सदरमुकाम गाईघाट स्थित त्रियुुुगा र वरुवा नदीमा आएको बाढीले बस्ती आसपासको क्षेत्रमा कटान सुरु गरेपनि ठूलो जनधनको क्षति भएको छैन् । बरुवा खोलामा आएको बाढीले गाईघा–बेल्टार सडक खण्डको पुर्वी क्षेत्रको बसपार्क देखि झण्डै ५० मिटर उत्तर तर्फको बाँधको स्परलाई सामान्य क्षतिपुस्याएको छ ।
निरन्तरको बर्षा पछि नगर क्षेत्रको गाईघाट बजार जलमग्न हुनुको साथै साकेला टोल, मुसहर बस्ती डुवानमा परेको छ । ति क्षेत्रका घर बस्ती भित्र पानी पसेको कारण स्थानिय समस्यामा परेका छन् । निरन्तर बर्षाले सुनसान बनेको गाईघाट बजार दिउँसो केहिबेर बर्षा रोकिएपछि भने बजार क्षेत्रमा केहि चहलपहल बढेको थियो ।
यस्तै निरन्तर वर्षाको कारण उदयपुरको बेलका नगरपालिकाका त्रियुगा नदी र सप्तकोशी नदी अर्थात श्रीलंका टापु जलमग्न भएको छ । बेलका नगरपालिकाको वडा नं. २, ३ मा पानीले गाउँ नै डुवानमा पारेको छ । गाउँमा पानी कम्मर कम्मर आएको बेलका नगरपालिका २ का वडा सदस्य कुमार अधिकारीले जनाकारी गराएका छन् ।

विद्यालय बन्द

अविरल वर्षाले गाईघाट बजार चार दिनयता जलमग्न हुदै आएको छ । जमिनको सतहभन्दा उच्च सडक र नगरपालिकाले नालाहरु नियमित सफा नगरेका कारण वर्षायाममा सडकबाट पानी घरघरमा पस्ने गरेको स्थानीयको दुखेसो छ । खाली जमिन, विद्यालय प्रांगण र घर परिवरी पानी जमेर स्थानीयलाई सास्ती दिएको स्थानीयले बताएका छन् । गाईघाटका सामुदायिक तथा संस्थागत विद्यालयका प्रांगणमा पानी भरिएर पठनपाठन पनि अवरुद्ध पार्ने गरेको विद्यालयहरुले जनाएका छन् ।
तावा र ककरु खोलाको बाँध फुट्यो


लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण उदयपुर र सिन्धुलीको सीमामा पर्ने तावा र ककरु खोलाको बाँध फुटेको छ ।
उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिका भएर बग्ने तावा र ककरु खोलाको बाँध फुटेसँगै बस्ती र खेतीयोग्य जमिन पुरिन थालेको छ ।

तपाईको प्रतिक्रिया