काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने १३ सिमेन्ट उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने सिमेन्ट उद्योगलाई कारवाही गरेको हो ।
विभागले मारुती सिमेन्ट सिरहा मिर्चैया, होङ्सी शिवम् सिमेन्ट प्रालि, अम्बे सिमेन्ट, घोराही सिमेन्ट प्रालि दाङ, नारायणी सिमेन्ट उद्योग बारा, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, मेगा सिमेन्ट झापा गुस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीमा परेका छन् । गोरखकाली सिमेन्ट झापा, अन्नपूर्ण सिमेन्ट मोरङ, ओम सिमेन्ट, नेपाल शालिमार सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, मित्तल सिमेन्ट लगायत सिमेन्ट पनि कारवाहीमा परेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहीन भएको देखिएको महानिर्देशक पुडासैनीले बताए । महानिर्देशक पुडासैनीले भने, ‘पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन ।’
ओपीसी र पीपीसी सिमेन्टमा पाइने तत्वहरुमा म्याग्नेसियम अक्साइड अर्थात् एमजीओ पनि एक तत्व हो । म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्दछ । सरकारले सिमेन्टमा एमजीओको मात्रा ५ प्रतिशतसम्मलाई ठीकै मान्दै आएको छ । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई त्यति राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरुमा भने एमजीओको मात्रा ४ प्रतिशत मात्रै राखिएको पाइएको छ । सिमेन्टमा एमजीओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इँट्टालाई राम्रोसँग नसमात्ने र सुके लगत्तै फुट्ने वा चर्कने गर्छ । लामो समयसम्म बलियो नहुने भएकाले सिमेन्टमा एमजीओको मात्रा कम हुनु आवश्यक छ ।
यस्तै विभागले सिमेन्टको साथै नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, प्रिमियर वायर प्रालि विराटनगर, एशियन थाई फुड प्रालि, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, सुगा म्यानुफ्याक्चर, गोल्डेन ब्याट्री, जस्मिन पेन्टस् चितवन, पशुपति पेन्टस् कारवाहीमा परेका छन् ।
यस्तै, शिखर केवल, प्रिमियर केवल, एभरेष्ट रोलिङ मिल्स, शिवशक्ति घ्यू उद्योग, जगदम्बा स्टिल, कमला रोलिङ मिल्स, लक्ष्मी स्टिल, युनिट वायर एण्ड केवल लगायतलाई पनि कारवाही गरेको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताए । “कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको छ”, उनले भने ।
कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको उल्लेख गर्दै महानिर्देशक पुडासैनीले गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने बताए । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित झण्डै ४०० प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ । विभागको टोली उद्योगमा गएर अनुगमन गर्ने तथा केहीलाई बजारमा अनुगमन गरेर मापदण्डविपरीत उत्पादन भएको भेटिएमा कारबाही गर्ने गरेको महानिर्देशक पुडासैनीले बताए ।

तपाईको प्रतिक्रिया