राजेन्द्र महतो, लहान । श्रीमतिले पतिको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्दै तराई मधेशको जिल्लाहरुमा वटसावित्री पर्व अर्थात वरसाइत पर्व सोमबार बिहान देखि धुमधामका साथ मनाईरहेको छ । पूर्वकालदेखि जेठ औँसीका दिन यो पर्व श्रीमानको सुख, समृद्धि तथा दीघायुको लागि महिलाहरुले मनाइने गरिन्छ ।
पर्व मनाउनका लागि महिलाहरु आज बिहानैदेखि विभिन्न बरका रुखमुनिमा घुइँचो लागेको देखिन्छ । सिरहाको लहान, मिर्चैया गोलबजार, चोहर्वा, धनगढी र सुखीपु र त्यसतै सप्तरीको राजबिराज, धनुषाको जनकपुर तथा लहानको राम मन्दिर, ग्रामीण , सडक बिभाग, हस्पिटल चोक, तथा पशुपति माध्यमिक विद्यालयको अगाडि लगायतको स्थानमा रहेका वर पीपलको रुख मुनि महिलाहरु पूजा पाठ गरेका थिए ।
यस्तै उदयपुरमा पनि ढिम्की शिव मन्दिर, बोक्सेको भगवति मन्दिर, राधाकृष्ण मन्दिर लगायतमा पनि महिलाहरुले वरसाइत पर्व मनाएका थिए ।
यस पर्वमा बाँसबाट बनाइएका नयाँ पङ्खा, धागो, मिठाई, फलफूल, चना लगायतका सामग्रीका साथ पूजा गरिन्छ । धार्मिकग्रन्थ स्कन्द पुराणमा उल्लेख गरिए अनुसार बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले बरको रुखमुनि बसेर पूजा गर्दा त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने जनविश्वास गरिन्छ ।
यो पर्व मनाउनका लागि महिलाहरु बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायु मै मृत्यु भएपछि बरको रुख मुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावले यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुखमुनि नै बसेर यो पर्व मनाउने गरिन्छ । गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिनी देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ । यो पर्व मनाउनका लागि बेहुलीका लागि घरबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिनी, बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दही लगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ । यस पर्वमा पत्निीहरुले पतिको पाउँ छुने, आर्शिवाद लिने गर्नुको साथै श्रीमानले श्रीमतिलाई पानी खुवाएर यस पर्वको अन्त्य हुन्छ ।









