सरकारले बजेटमार्फत् विद्यालयमा स्यानेटरी प्याड नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ। अघिल्लो वर्ष दिवाखाजा वितरण गर्ने विषय बजेटमा नपरेपछि खतिवडाको आलोचना भएको थियो। यसवर्ष उनले दिवाखाजा कार्यक्रमको रकम बालबालिकाको आमालाई उपलब्ध गराउने घोषणा बजेटमा गरेका छन्।
ऊर्जा र हवाई पूर्वाधार क्षेत्रको बजेट घट्यो
सरकारले ऊर्जा क्षेत्रको बजेट घटाएको छ। ऊर्जा क्षेत्रमा यसवर्ष ४० करोड रुपैयाँ कम बजेट विनियोजन गरिएको हो। यस वर्ष सरकारले ऊर्जा क्षेत्रमा ८३ अर्ब ४९ करोड रुपैयाँ दिएको छ। चालू वर्ष ८३ अर्ब ८९ करोड बजेट रहेको छ। सरकारले यसै वर्षभित्र माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्न गर्ने जनाएको छ। त्यस्तै यसै वर्षभित्र एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने जनाएको छ। सरकारले यस वर्ष बूढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँ बजेट छुट्याएको छ।
त्यस्तै हवाई पूर्वाधारमा ३ अर्ब ५० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको छ। अघिल्लो वर्ष १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेकोमा यसवर्ष १५ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको हो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा रहेको छ भने निजगढ विमानस्थल सुरूआती चरणमै प्रवेश गरेको छैन। जसको प्रभाव बजेटमा देखिएको छ।
रेलको बजेट अध्ययनलाई मात्र
वतर्मान सरकारले बारम्बार दोहोर्याउने गरेको रेल र पानी जहाजको विषय बजेटमा परेको छ। तर रेलका लागि छुट्याएको सबै बजेट विस्तृत परियोजना अध्ययनमा खर्च हुने देखिएको छ। रेल, मेट्रो र मोनोरेलका लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। तर यही बजेटबाट भारत र चीनबाट काठमाडौं जोड्ने रेलमार्गको विस्तृत परियोजना अध्ययन कार्यमा खर्च हुनेछ। सरकारले छुट्याएको बजेट पूर्व-पश्चिम, उत्तर-दक्षिण रेलमार्ग विकासमा समेत खर्च हुनेछ।
सबभन्दा धेरै बजेट पूर्व-पश्चिम राजमार्गमा
बजेटको सबभन्दा ठूलो खर्च पूर्व-पश्चिम राजमार्गमा हुनेछ। पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। त्यस्तै नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्ट ट्र्याकमा १५ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याइएको छ। सरकारले बजेटमा सडकलाई अन्त्यन्त धेरै प्राथमिकता दिएको छ। पुष्पलाल मध्यपहाडी राजमार्गको ४ सय ३५ किलोमिटर पीच गर्न १२ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याइएको छ। हुलाकी राजमार्गको ३ सय ५० किलोमिटर लागि १३ अर्ब ६३ करोड रुपैयाँ छुट्याएको छ। बूढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँ छुट्याइएको छ।
सामाजिक सुरक्षा कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडि बढ्ने
सरकारले महत्वकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका लागि ६४ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ। सरकारले गत वर्ष नै धुमधामका लागि पोल पोलमा होर्डिङ बोर्ड राखेर घोषणा गरेको कार्यक्रम बजेटविहीन थियो। यसपटक सरकारले उक्त कार्यक्रमका लागि बजेट छुट्याएको हो।
त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पनि यसवर्ष बजेटको व्यवस्था गरिएको छ। अघिल्लोपटक कार्यक्रममात्र समावेश गरिएकोमा यसवर्ष ५ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याएको छ।
आयकर छुटको सीमा वृद्धि
बजेटमार्फत् सरकारले आयकर छुट हुने सीमा वृद्धि गरेको छ। यसअघि व्यक्तिको ३ लाख ५० हजारभन्दा बढी कमाउनेलाई आयकर लाग्दै आएको थियो। अब चार लाखसम्म कमाउनेले आयकर तिर्नुपर्ने छैन। दम्पत्तिका लागि ४ लाख ५० हजार रुपैयाँको सीमा पुर्याएको छ।
लोकप्रियताको उपाय
सरकारले बजेटमा काठमाडौंमा छिर्नुपूर्व गाडी पखाल्न समेत बजेट छुट्याएको छ। त्यस्तै प्रधानमन्त्रीको तुइन हटाउने कार्यका लागि पनि पर्याप्त बजेट छुट्याएको छ। तुइन विस्थापन गर्न ४ अर्ब ३८ करोड रुपैयाँ बजेट छ। पत्रपत्रिकाले पाउने लोक कल्याणकारी विज्ञापनको रकम १५ प्रतिशतले बढाइएको छ। मुलपानीमा क्रिकेट मैदानका लागि १० करोड बजेट छुट्याएको छ। त्यस्तै २० हजार फुसको घरको छानो विस्थापन गर्न ७३ करोड बजेट छुट्याएको छ।
पेट्रोल र डिजेलबाट प्रतिलिटर थप १ रुपैयाँ कर लिने
सरकारले पेट्रोल र डिजेलबाट प्रतिलिटर थप १ रुपैयाँ कर लिने भएको छ। सडक विस्तारका लागि रकम अपुग भएको भन्दै अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। पेट्रोल र डिजेलबाट उठेको रकम सडक बोर्डमार्फत् सडकको स्तरोन्नतिका लागि खर्च गरिने छ।
यसअघि बूढीगण्डकी आयोजना निर्माणका लागि पनि सरकारले पेट्रोल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ कर थप गरेको थियो।